ताप्लेजुङमा दुईथरि एमाले एक,१० बुँदे समूह कमजोर

ताप्लेजुङमा दुईथरि एमाले एक,१० बुँदे समूह कमजोर

ताप्लेजुङ एमालेको जिल्ला कमिटी बैठकले दुई वटा कार्यालयलाई एउटै बनाउने निर्णय गरेको छ । सोमबारको बैठकले एमालेको दुई वटा कार्यालयलाई एक बनाएको हो ।

यसअघि नेकपा एमाले विवादको समयमा अध्यक्ष केपी शर्मा ओली समूहले भूपेन्द्र थेबेको अध्यक्षतामा नयाँ जिल्ला कमिटी बनाएर निर्वाचित अध्यक्ष बलबहादुर साम्सोहाङ पक्षलाई चुनौती दिन नयाँ कार्यालय खडा गरेको थियो । त्यसपछि अलग अलग जिल्ला कमिटी र कार्यालय सञ्चालन हुँदै आएको थियो ।

एमालेको १० बुँदे सहमतिले बलबहादुर र भूपेन्द्रलाई अहिले एक बनाएको छ । १० बुँदेका योगेश भट्टराई र अध्यक्ष बलबहादुर साम्सोहाङ अहिले एउटै समूहमा रहेका छन् भने भूपेन्द्र थेबे पहिलेदेखि नै ओली समूहमा सक्रिय छन् । एमाले मिलाउने क्रममा २०७२ जेठ २ पूर्वका अध्यक्ष बलबहादुर साम्सोहाङलाई संयोजक र अर्को जिल्ला कमिटी बनाएका भूपेन्द्रलाई सहसंयोजक बनाइएको छ ।

दुबै समूहका जिल्ला कमिटीका पदाधिकारी र सदस्यलाई एकै ठाउँमा राखेर ४ सय २ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी बनाइको छ । ताप्लेजुङ एमालेको ११ औ जिल्ला अधिवेशन आगामी पौष २४ र २५ गते तोकिएको छ । अधिवेशनका लागि विभिन्न उपसमितिहरु बनाइएको छ । त्यसमा समेत १० बुँदे समूह र ओली समूहको भागबण्डा गरिएको देखिन आएको छ ।

ताप्लेजुङमा १० बुँदे समूहमा रहेका सयौं कार्यकर्ता नेकपा समाजवादी पार्टीमा गएपछि उक्त समूह निकै कमजोर देखिएको छ । वडा र पालिकास्तरका अधिवेशन परिणामलाई हेर्दा ओली समूह बहुमतमा रहेको छ ।

टिप्पणीहरू