फाल्गुनन्द र कुम्भकर्ण हिमालको साइनो

फाल्गुनन्द र कुम्भकर्ण हिमालको साइनो

-लेखनाथ खतिवडा

आज १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १ सय ३७ औं जन्मजयन्ती हो । उनको कर्मभूमि पाँचथरसहित देशका विभिन्न भागमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ । बिक्रम सम्वत १९४२ कात्तिक २५ गते इलामको इभाङ ५, चुक्चिनाम्वा भन्ने ठाउँमा जन्मेका नरध्वज लिङदेन सिकिस्त बिरामी परेपछि निको हुने अन्धविश्वासका आधारमा फलामको चुरा लगाइदिएपछि फलामसिं हुँदै कर्मले फाल्गुनन्द भएका हुन् । १६ वर्षको उमेरमा बर्मामा सैनिक काम गर्न थालेका उनी सन् १९१४ को पहिलो विश्वयुध्दमा समेत सामेल भएका थिए ।

पछि उनै फाल्गुनन्द मानव लडाईं र काटाकाटबाट विश्व शान्ति नहुने भन्दै सैनिक जागिर छाडेर नेपाल फर्किए । पाँचथरको अहिले फिदिम नगरपलिका ३, चोकमागुलगायतका क्षेत्रमा लिम्बु समुदायमा रहेको धर्म, संस्कार र संस्कृतिमा देखा परेका विकृति, विसंगति र सुधार गर्नुपर्ने पक्षका बारेमा सचेतना जगाउने काममा लागे । उनले लोप हुने अवस्थामा रहेको लिम्बुहरुको सिरिजंगा लिपिको खोजी,संरक्षण सम्वर्धनका साथै लिम्बुहरुका जन्म,विवाह,मृत्यु संस्कारलाई समयानुकूल परिवर्तनको लागि अथक कार्य गरेको पाइन्छ ।

८ वर्षकै उमेरबाट हत्याहिंसा गर्न नहुने,झुठो बोल्न नहुने, नारी सृष्टिकर्ता भएकाले उनीहरुलाई समाजमा उच्चसम्मान दिनु पर्ने, आफ्ना कूलदेवतालाई शुध्द भएर नित्य पूजाआरधना गर्नु पर्ने,मासु तथा मदिरापान गर्नु नहुने साथै देवी देवतालाई मासु र मदिरा चढाउन नहुने जस्ता कुराहरु अभियानकै रुपमा सञ्चालन गरे ।

तत्कालीन अवस्थामा धर्म,संस्कार र संस्कृतिको रुपमा देखिएका विकृति विसंगति र कुरीतिहरुलाई परिमार्जन गरी राम्राको संरक्षण र खराब व्यवहारलाई सच्याउनु पर्ने भन्दै बिक्रम सम्वत् १९८८ वैशाख २५ गते तत्कालीन १० लिम्बुवान १७ थुमका सामाजिक व्यक्तित्वहरुको भेला गराए । पाँचथरको फिदिमस्थित लब्रेकुटीमा भएको भेलामा धर्मसंस्कार र संस्कृतिमा देखा परेका विकृति,कुरीति र कुसंस्कारविरुध्द १० बुँदे सत्यधर्म मुचुल्का तयार गरी प्रचार प्रसार र लागू गरेका हुन् ।

ताप्लेजुङसँग जोडिएको कुम्भकर्ण हिमश्रृंङ्खलालाई किराँतीहरुको पवित्र धार्मिकस्थल तथा तीर्थस्थलको रुपमा विकाससमेत गराए । सोहीअनुरुप अहिलेसमेत किराँतीहरुले कुम्भकर्ण हिमालको पवित्रस्थलको रुपमा आराधना गर्ने गरेका छन् । उनले त्यसबेलासमेत आन्तरिक तथा वाह्य पर्यटनलाई बढावा दिने प्रयास गरेको देखिन्छ ।

किराँतीहरुको मौलिक धर्म र संस्कृतिको प्रचार प्रसार गदै भारत, भुटान र नेपालका विभिन्न स्थानको भ्रमण गरे । त्यो बेला उनले देशद्रोहीको आरोपसमेत खेप्नु परेको थियो । लिङ्देनको बिक्रम सम्वत २००५ मा पाँचथरको इम्बुङ गाविसको हाङ्यक भन्ने स्थानमा निधन भयो । उनको मृत्युपछि किराँत धर्म, संस्कार र संस्कृति मान्ने साथै उनको समाज सुधारको अभियानलाई अघि बढाएका संघ संस्थाले कात्तिक २५ गते जन्मजयन्ती मनाउँदै आएका छन् ।

लिङ्देनलाई नेपाल सरकारले २०६६ मंसिर १६ गते १६ औं राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेर उनको समाज रुपान्तरणको अभियानलाई महत्व र सम्मान दिएको छ । नेपाल सरकारले उनको संस्मरणमा २०५० सालमा १५ रुपैयाँको हुलाक टिकटसमेत प्रकाशनमा ल्याएर सम्मान गरेको छ । फाल्गुनन्दको जन्मजयन्ती अर्थात् कात्तिक २५ गतेलाई प्रदेश १ सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

आफ्नो मौलिकतालाई बिर्सेर पथभ्रष्ट हुनु नहुने,धर्म,संस्कार र संस्कृतिका नाममा तडकभडक गर्नु नहुने,गच्छेअनुसार धर्म,संस्कार र संस्कृति मनाउनु पर्ने, मदिरा सेवन गरी आर्थिक र सामाजिक रुपले भ्रष्ट हुनु नहुने,अरुलाई खुशी तुल्याउन अर्काको ज्यान लिन नहुने अर्थात पशुवली गर्न नहुने, भगवानको पूजा आराधनामा नैवेद्य तथा फलफूल चढाउनु पर्ने, सामाजिक चेतना फैलाएर समाज सुधारमा लागेका उनका सबै कार्य अतुलनीय देखिँदै गएको छ ।

फाल्गुनन्दको कर्मभूमि तथा तपोभूमि पाँचथरको लव्रेकुटीमा समाधिस्थल छ । यसलाई किराँत धर्मका अनुयायीहरुले पवित्रभूमिको रुपमा मान्दै आएका छन् । फाल्गुनन्दलाई किराँत भाषामा ‘मुहिगुम आङसिमाङ’ भनिन्छ । फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म,संस्कार र संस्कृतिको उत्थान संरक्षणका निमित्त लागिपरेको देखिन्छ ।

बिक्रम सम्वत १९८८ वैशाख २५ गते लेब्रेकुटीमा तयार पारिएको समाज सुधारको १० बुँदे लिखित मुचुल्कालाई ‘सत्य धर्ममुचुल्का’ पनि भनिन्छ । त्यहि मुचुल्कालाई उपस्थितहरुले आ–आफ्नो थुममा गएर आफ्नो मौलिक धर्म,संस्कृति तथा १० बुँदे मुचुल्काको प्रचार प्रसार गर्ने वचन दिएका हुन् । फाल्गुनन्दले किराँत सामाजिक मुन्धुम (शास्त्र) को प्रतिपादन,धर्म,भाषा, साहित्यको प्रचारप्रसार,बलिपूजाको अत्य गरी किराँत धर्म र संस्कृतिको पुनःउत्थान जस्ता महान कार्य गरेका हुन् ।

उनले विवाह र रीतिको नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गर्नु पर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्नेलगायतका सामाजिक सुधारको अभियान नै चलाएका थिए । नारीलाई पुरुषसरह अधिकार र सम्मान दिनु पर्ने सन्देशको प्रचार गरेर लैंगिक समानताको वकालत समेत गरेका हुन् ।

उनको जन्म विपन्न परिवारमा आमा हंशमति र बुबा जगनबाज लिम्बुको कोखबाट साहिला सन्तानको रुपमा भएको थियो । उनी आठ वर्षकै उमेरमा ज्ञानी र ध्यानी भएको देखिन्छ ।

न्वारनको नाम नरध्वज लिङ्देन भए पनि बेलायती फौजमा फाल्गुनन्दको नामबाट भर्ती भए । बेलायती सेनामा रहेर बर्मामा केही वर्ष काम गरेका फाल्गुनन्द केही समय भारत र भुटानसम्म पुगेको बताइन्छ ।

इलामको माङ्सेबुङमा धर्मगुरु आत्मानन्दले स्थापना गरेको माङ्हिम अहिले किराँत धार्मिकस्थलको रुपमा प्रसिद्ध छ । पाँचथरको लेब्रेकुटी, सिलौटीलगायतका स्थानमा पनि फाल्गुनन्दकै नामबाट धार्मिक पर्यटन समेत बढेको छ ।

टिप्पणीहरू