सेना र प्रहरीको गाडी तोडफोड,अश्रुग्याँस प्रहार

कैलालीमा अस्ति राति भएको ग्याङ फाइटमा एक जना मारिएपछि उत्पन्न तनावको अवस्थालाई नियन्त्रण गर्ने क्रममा प्रहरीको एउटा सवारी साधनमा क्षति पुगेको छ । उत्तेजित भीडले हिजो इलाका प्रहरी कार्यालय मालाखेतीको सु.प.प्र.०१००१ झ ४४८२ नम्बरको सवारी साधनको सबै सिसा फुटाइदिएको छ ।

त्यसैगरी बा. १ ग ३५७० नम्बरको सैनिक ट्रकको अगाडिको सिसा पनि फुटाइएको छ । सो क्रममा इन्सपेक्टर भरतबहादुर शाहको दुबै गोडामा चोट लागेको छ भने प्रहरी जवानहरु पदम खड्का र ध्रुव ऐरी घाइते भएका छन् ।

गए राति टिकापुर नगरपालिका १ स्थित सिद्वार्थ होटल नजिकै लम्की चौराहा नजिकै बस्ने वर्ष २३ को भुपेन्द्र बडुवाललाई अर्को समूहले चक्कु प्रहार गरेर घाइते बनाएको थियो । उनको उपचारको क्रममा राति निधन भएपछि बिहान सबेरैदेखि मृतकका आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

अपरान्ह साढे ४ बजे राजमार्ग खुलाउने सहमति भए पनि बन्दकर्ताहरुले अचानक अर्का एक जनालाई कुटपिट गरेका थिए । सो क्रममा प्रहरीले उनलाई बचाउन खोज्दा झण्डै एक सय जनाको हुलले प्रहरीमाथि ढुंगामुढा गरेको र सो क्रममा धेरै वटा सवारी साधन राजमार्गमा रोकिएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिन १२ सेल अश्रुग्याँस सेल फायर गरेको छ ।

टिप्पणीहरू