सुनसरीमा १० बुँदे पक्षधर एमालेद्वारा भेला बहिष्कार

सुनसरीमा १० बुँदे पक्षधर एमालेद्वारा भेला बहिष्कार

बलजफ्ती मिलाउन खोजे पनि एमाले सुनसरीको विवाद झन् बल्झिएको छ । हिजाे सुनसरीको इनरुवामा भएको संयुक्त भेलाप्रति आपत्ति जनाउँदै २०७५ जेठ २ गते पक्षधरहरुले १० बुँदे कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । उनीहरुले अन्तिममा भेला नै बहिष्कार गरेपछि विवाद झन् गहिरिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका रेवती भण्डारी र जेठ २ अघिका रमेश बस्नेतले अध्यक्षता छाड्ने र नयाँ सम्मेलन अयोजक समिति बनाउने सहमतिअनुसार हिजो इनरुवास्थित ओम साई पार्टी प्यालेसमा संयुक्त बैठक बसेको थियो । एमाले केन्द्रीय सचिव तथा प्रदेश १ का इञ्चार्ज भीम आचार्य र प्रदेश प्रमुख देवराज घिमिरेको उपस्थितिमा सम्पन्न भेलामा पुराना नेता खेमराज पोखरेललाई अधिवेशन आयोजक समिति संयोजक घोषणा गरिएको थियो । तर,समानान्तर अध्यक्षहरु भण्डारी र बस्नेत दुबैलाई अध्यक्षता गराइएन ।

समिति उपाध्यक्षमा निलम खनाल र नन्दकुमार बस्नेत,सचिवमा परशुराम यादव र शत्रुघन यादव,उपसचिवमा लिलम बस्नेत र लोकेश निरौलालाई चयन गरियो । उक्त कमिटीलाई पुस मसान्तभित्र जिल्ला अधिवेशन गराउने म्याण्डेटसमेत भेलाले दिएको थियो । तर भण्डारी पक्षधरले उक्त भेलालाई मान्यता नदिएको मात्रै होइन,बहिष्कार नै गरेको छ ।

भेलालाई जेठ २ पक्षधरले मान्यता नै दिएनन् । उनीहरुले बिहान ड्रिमल्याण्ड होटलमा अलग्गै बैठक राखेर १० बुँदे,पार्टी निर्णय र कार्यदलको निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । जेठ २ को पक्षमा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीसमेत सहभागी छन् ।

मेयरले  आफूलाई अध्यक्षता नगराएपछि माइक खोस्न खोज्दा झण्डै हात हालाहालको स्थिति बनेको थियो । चौधरीले आफूले कार्यवाहक अध्यक्ष बनाएका रमेश बस्नेतलाई अध्यक्षता नगराएको अवस्थामा आफूलाई गराउनुपर्ने माग गर्दै मञ्चमा पुगेर माइक खोस्न खोजेका थिए ।

मेयर चौधरीले समेत जबरजस्ती घोषणा गरिएको कमिटी मान्य नहुने बताएका छन् । तर नवगठित सम्मेलन आयोजक समितिको तर्फबाट पूर्वअध्यक्ष रेवती भण्डारीले आगामी मंसिरमा हुने अधिवेशनको निर्वाचन तालिका नै सार्वजनिक गराइसकेका छन् ।

टिप्पणीहरू