न टाउको फुट्नु, न कसैले कुट्नु

‘श्रीमतीले त थाहा पाउनै नहुने’ शीर्षकमा गतांक प्रकाशित समाचारप्रति चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष तथा चलचित्र निर्माता राजकुमार राईले आपत्ति जनाएका छन् ।
उनको आरसी पिक्चर्सको कार्यालयमा ‘पत्नीबाट चुटाइ भेटेको र टाउकोमा आठ टाँका लगाइएको’ भनी प्रकाशित समाचार शतप्रतिशत गलत भएको दाबी गर्दै उनले जनआस्था कार्यालयमा आफ्नो सग्लो टाउको नै पेस गरेका छन्, जसमा कुनै दाग र चोट थिएन ।
उनले समाचारको खण्डन गर्दै भनेका छन्, ‘त्यस समाचारलाई सामाजिक सञ्जाल र कतिपय अनलाइन पत्रिकाले साभार गरेर सार्वजनिक गरेपछि मेरो गम्भीर ध्यानाकर्षण भएको हो । यहाँले समाचार भनेर प्रकाशन गरेको त्यस सामग्रीले समाजमा भ्रम फिँजाएको र छवि धुमिल बनाउने प्रयास गरेकाले समाचारको खण्डन गर्न बाध्य भएको हुँ ।’
खण्डनमा उनले लेखेका छन्, ‘मेरी श्रीमती भनेर जसको नाम उल्लेख गर्नुभएको छ, त्यो नै सही छैन ।’ समाचार पढेर उनकी पत्नी छाँगाबाट खसेजस्तै भएको उल्लेख गरेका छन् । लेखेका छन्, ‘चरित्रको सवालमा बजारिया वात लागेपछि मैले केही सञ्चारकर्मी मित्रलाई आठ टाँका लगाएको भनिएको टाउको देखाउँदै समेत हिँड्नुप¥यो । मेरो जीवनको सबैभन्दा लज्जाबोध हुने घडी यहाँको समाचारले उत्पन्न गराइदियो ।’

टिप्पणीहरू