शेरा दरबारमा कमरेड सरर

  • नारायण नेपाल

केही समयदेखि प्रचण्ड सीता दाहालको नुवाकोट आवतजावत निकै बाक्लिएपछि यसको रहस्य जान्ने जिज्ञासा धेरैमा पलायो । सीता दाहाल त आफ्नै सम्पत्ति र पुत्र कमिसनको मायाले बारबार धाइरहेकी रहिछन् नुवाकोटतिर आजकल । नुवाकोट सदरमुकाम बिदुर नजिकै शेरा भन्ने स्थान छ । उनको आउजाउ पनि बढी त्यतै भएको पाइन्छ । शेरा भन्नाले सरल भाषामा धान धेरै फल्ने ठाउँँ भन्ने बुझिन्छ । त्यही ठाउँमा आज सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रचण्ड समूहको लगानी थुप्रिएको छ ।

यो स्थान पृथ्वीनारायण शाहको बगंैचा रहेको ठाउँ हो । तत्कालीन राणा प्रधानमन्त्री जुद्धसम्शेरले यहाँ दरबार र बगंैचा निर्माण गर्न लगाएका थिए । राणा शासन अन्त्यसँगै राजा महेन्द्रका भाइबुहारी वसुन्धरा शाह र हेलेन शाहको नाममा रहेको यो बगैंचामा हेलेन र उनका सन्तानसमेत आउने गरेका थिए ।

राजा महेन्द्रको पञ्चायती भूमिसुधारको नैटंकी छल्न १८ रोपनी हेलेन शाहको नाममा र बाँकी १६४ रोपनी १३ आना ३ पैसा तीन दाम गौरीशंकर फार्मिङको नाममा दर्ता थियो । तर, मन्त्रिपरिषद्बाट हदबन्दी छुटको निर्णय भने हालसम्म हुन सकेको छैन । १८ रोपनीमा हाल बाग्मती कृषिकलेज सञ्चालनमा छ ।

जिल्ला मालपोत कार्यालयको रेकर्डअनुसार ०३६ सालको नापी पूर्व सो जग्गा पर्ती बगैंचा पोखरी कायम भएको तर मोही कायम भएको देखिँदैन । सो जग्गा काठमाडांै क्षेत्रपाटीका बाघबहादुर श्रेष्ठ हर्तकर्ता भएर आफूले किनेको भन्दै उठौती लिने गरेका थिए । उनै बाघबहादुरले ०४५ मा माओवादी पार्टीलाई चन्दा सहयोग दिने भन्दै बोलाए र प्रहरी बोलाई माओवादी कार्यकर्तालाई पक्राउ गराएका थिए । ०५६ मा सो जग्गाको धान माओवादीको नेतृत्वमा किसानले कब्जामा लिएका थिए । ०५९ पुस १२ गते तत्कालीन नेकपा माओवादीले सो दरबारमा आगो लगाई ध्वस्त पारेको थियो ।

हाल सो जग्गा ८ करोड ५० लाखमा प्रचण्ड समूहले हात पारेको छ । प्रचण्डका पूर्व स्वकीय सचिव एवं भूमि माफिया विकेश श्रेष्ठ यसका हर्ताकर्ता भए । यो कम्पनी खरिद बिक्रीका क्रममा उनले राज्यको प्रचलित कानुनले तोकेको ४ प्रतिशत राजस्वबापत रकम ३६ लाख राजस्वसमेत ठगी गरेका छन् । राज्यको रक्षाकवज बनेका प्रचण्ड समूहले राज्यलाई खोइ त बलियो पारेको ? के यो ठगी होइन ?

हिजो नारायणहिटी दरबारको आडमा सत्ता र शक्तिको दुरुपयोग गर्नेहरूको राज्यकोष दोहन गरेर थुपारेको सम्पत्ति आज स्वघोषित क्रान्तिकारी र समाजवादी लाजिम्पाट दरबारले राष्ट्रियकरण गर्ने किन निजीकरण गर्ने । हेलेनको सम्पत्ति प्रचण्ड महाराजको आज कसरी ?

जलसम्पदाको माफियासमेत रहेका विकेश श्रेष्ठको नाममा प्रचण्ड समूहको लगानी भएको देखिन्छ । प्रचण्डले पछिल्लो समय प्रधानमन्त्री हँुदा भूमिसुधार मन्त्रालयका सापकोटा थरका सचिवलाई फोनबाटै सो जग्गा विकेशलाई दिन दबाब दिएका थिए ।

पछिल्लो समय सो जग्गा प्रचण्डपुत्र प्रकाश दाहालसहितको मिलेमतोमा ३५ कारोडमा आयल निगमको भण्डारण स्थल बेच्ने तयारी गरिएको थियो । गोपाल खड्काको भ्रष्टाचार प्रकरण चर्चामा आएसँगै सो कुरा सेलाएको हो ।

हुनत नुवाकोटमा भूमि समस्या व्यापक छ । गुठी, बिर्ता, दरबारको नाममा किर्ते फार्म आदि गर्दै भूसामन्त र अरूले किसानलाई हैरानीमा पारेका छन् । उता, आजको नुवाकोट जिल्लाबाट अन्तर्राष्टियमार्ग सञ्चालनमा आएसँगै यस्तै समथर जग्गाको उपयोगीको महŒव अझै बढेको छ ।

तिब्बत मार्ग हँुदै आउने रेल स्टेसन र उतैबाट ल्याउने तेल भण्डारणका लागि उपयुक्त जमिनको अझै अभाव देखिन्छ । नवघोषित केरुङ अन्तर्राष्ट्रिय मार्ग सुख्खा बन्दरगाह आदिले गर्दा यो क्षेत्रको जग्गाको महŒव झनै बढाएको छ ।

चण्डी पोखरी खम्बा क्याम्पमा जेल घर होइन रेल घर बनाउन सके आर्थिक समृद्धि होला अन्यथा चिनियाँ रेलको धुवाँ र रेलयात्रीले पिसाब फेर्ने ठाउँ मात्र हुनेछ, नुवाकोट जिल्ला ।

राजधानी काठमाडौंको फोहोर ओखरपौवामा थुप्रो लगाएर र देशभरिको कैदीबन्दी चण्डी पोखरीमा थुप्रो लगाएर पक्कै नुवाकोट समृद्ध हुँदैन । नुवाकोटमा समाजवाद आउँदैन ।

नुवाकोट किम्ताङका सयौं घरका हजारौं जनता पहिरोले बिचल्लीमा पारेका छन् । इन्द्रेणीघाटमा पाल टाँलेर बस्ने भूकम्पपीडितले शेरा वा चण्डीपोखरीमा बस्न पाउने कि नपाउने ? यस्ता कुराको बहस कहिल्यै हुँदैन किन ? अरू बेला कानमा तेल हालेर बस्ने अनि चुनावी भाषणमा ठूला कुरा गर्नेबाहेक के भएको छ ?

कारागारका लागि १२ सय रोपनी जग्गा अधिकरण भएको छ, चिनियाँ तेल भण्डारण गर्न पीपलटार क्षेत्र चयन भएको हल्ला छ । अन्तर्राष्ट्रिय नाका र मार्गलाई मागिखाने भाँडो बनाउने मात्र देखियो जिल्लामा । आज प्रदेशअनुसार ठूला औद्योगिक क्षेत्र र शहर स्थापना हुने भन्ने हल्ला छ तर यताका जग्गा माफियाको कब्जामा छ ? हिजो सत्ता छाडेका राणाहरू हुन् कि दरबारिया शासक, पूर्वप्रशासक र कर्मचारी तिनीहरूले दोहन गरेको राज्यकोषको सम्पत्ति राज्यकै हुन्छ, त्यसलाई जफत गर्ने अधिकार राज्यले नसके जनताको हुन्छ ।

टिप्पणीहरू