“नेताले बनाउने हो,बिगार्ने हैन”

“नेताले बनाउने हो,बिगार्ने हैन”

रेणु दाहाल, मेयर भरतपुर महानगरपालिका

माओवादी केन्द्रकी इमान्दार कार्यकर्ता हुन् रेणु दाहाल । पार्टीले जीवनका ऊर्जाशील तीन दशक पार्टीमा व्यतित गरिसकेकी छन् । माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत जीवन व्यतित गरेकी उनले प्रवासमा अखिल महिला समाजकी केन्द्रीय अध्यक्ष, सशस्त्र द्वन्द्वकालमा रोल्पाको सहइञ्चार्ज, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिवको जिम्मेवारी निभाइन् । शान्तिकालपछि काठमाडौँको जिल्ला सचिव रही पहिलो संविधानसभामा समानुपातिकबाट सभासद्को भूमिका निर्वाह गरिन् । पार्टीले दोस्रो संविधानसभा निर्वाचनमा बानेश्वर क्षेत्रबाट लडायो । पार्टीको कमजोर धरातल हुँदाहुँदै पनि उनी होमिइन्, हार्न तयार भएरै । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भइन् । भन्छन्, हार्नु तर हार नखानु । रेणुले हार खाइनन् । गत स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयर निर्वाचित भएकी दाहाल देशका अन्य ६ वटा महानगरपालिकाको तुलनामा भरतपुर अब्बल देखिने ढंगले काम गरिरहेको दावा गर्छिन् । केपी ओलीका कतिपय टिप्पणीलाई काउण्टरसमेत दिँदै आएकी छन् आफ्नो सामाजिक सञ्जालबाटै ।

-हरि गजुरेल

देशका अन्य ५ महानगरपालिकामध्ये सबैभन्दा कम अर्थात् २ दशमलव २ प्रतिशत मात्र बेरुजु देखियो भरतपुरमा । समग्र बेरुजुको स्थिति कस्तो छ ?

– महालेखा परीक्षण कार्यालयको प्रतिवेदनअनुसार ६ वटा महानगरपालिकामध्ये सबैभन्दा कम बेरुजु (१० करोड) हाम्रो छ । त्यसमध्ये ६ करोड पेश्की बेरुजु हो । विभिन्न उपभोक्ता समितिमार्फत बजेट लगी फस्र्याेट नगरिएका कारण त्यति बेरुजु पनि लेखा प्रणालीको समस्याका कारण देखिएको हो । फजुल खर्च र सेवा सुविधाका कुरामा ध्यान दिएका छैनौं । अतिथि सत्कारका लागि छुट्ट्याइएको बजेटको एक–दुई प्रतिशत पनि खर्च हुँदैन । अन्य महानगरपालिकाका जनप्रतिनिधिले मोबाइल, ल्यापटप, गाडी सुविधा महानगरपालिकाको खर्चबाटै लिएको सुनियो वा देखियो तर मैले आजका दिनसम्म एउटा मोबाइलसमेत लिएको छैन । आफूले नगरेपछि वडाध्यक्षलगायतले पनि नगर्ने रहेछन् ।

तपाईंहरू आफ्नो कार्यकालको अन्तिम क्षणमा हुनुहुन्छ । विकासका लागि यो अवधिमा के–के गर्नुभयो ?

– कोरोना महामारीले दुई वर्षसम्म हामीलाई परेशान तुल्यायो । यसका बावजुद पनि विकासका काममा कहीँ–कतै चुकेनौं । राजनीतिक रूपमा समेत खुट्टा तान्ने प्रवृत्तिका बाबजुद मनग्यै विकास गरेका छौं । सडक पूर्वाधारका अलावा सबै क्षेत्रमा नमुना विकास गरेका छौं । अबको उद्देश्य लगानीमैत्री वातावरण निर्माण गर्ने र आर्थिक पूर्वाधारको रूपमा विकास गर्ने हो । तीन वर्षमा ६ हजार विद्यार्थी निजी विद्यालय छाडेर सरकारीमा भर्ना भएका छन् । शैक्षिक गुणस्तरमा महानगरपालिकाले लगानी गरेको छ । भरतपुर मेडिकल सिटीका रूपमा स्थापित भएको छ । महानगरपालिकाका २९ वटा वडाभित्र ४० वटा स्वास्थ्य संस्था छन् । जल, जमिन, जंगलले घेरिएको भरतपुर यत्तिकै सुन्दर छ । नारायणी किनारलाई विकास गर्दै २ हजार सिट क्षमताको सिटी हल निर्माणको काम तीव्र ढंगले अघि बढेको छ । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालामा लगानी अगाडि बढाएका छौं । महानगरपालिकाको आइकन प्रोजेक्टको रूपमा मल्टी पर्पस बिल्डिङ (पीपीपी मोडलमा) अघि बढेको छ ।

ओली सरकारले भरतपुर महानगरपालिकाको बजेट काटिदिएको (घटाइदिएको) हो ?

– ओली सरकारको पालामा बजेटका लागि धेरै सकस प¥यो । यद्यपि, नथाकेर लागिप¥यौँ । खानेपानीतर्फ मात्र महानगरपालिकाभित्र ३ अर्बको आयोजना अघि बढेको छ । अबको दुई वर्षभित्र २९ वटै वडाले सर्वसुलभ, स्वच्छ खानेपानी पाउनेछन् । हामीले सिटी हल निर्माणका लागि सबै प्रक्रिया पूरा गरेर क्याबिनेटमा प्रस्ताव पठायौं । ओलीले अनुमोदन नगरिदिँदा बजेट आएर पनि समयमा काम अघि बढाउन सकेनौं । क्रिकेट रंगशालाका लागि उसैगरी प्रस्ताव पठायौं । उसैगरी, रोकियो । हरेक चिजमा हामीलाई दुःख दिने काभ भयो । त्यही प्रतिकूलताका बाबजुद पनि हामी अघि बढ्यौं । अहिले आन्तरिक आय अत्यधिक बढाएका छौं । महानगरपालिका हुन १ अर्बको लक्ष्य हुनुपर्छ भन्ने छ । गत वर्ष १ अर्ब १० करोड राजश्व वा आन्तरिक आय हासिल गरेका छौं ।

धुर्मुस–सुन्तलीको महत्वाकांक्षी योजना अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तपार्इंकै कार्यक्षेत्रभित्र बन्दै थियो । अहिले अलपत्र परेको छ । महानगरपालिकाको के–कस्तो सहयोग रहन्छ ?

– महानगरपालिकाले अत्यधिक सहयोग गरेको छ । सम्झौताअनुसार हामीले जग्गा उपलब्ध गराइदियौं, निर्माणका लागि सहजिकरण गर्ने हाम्रो दायित्व हो । जिम्मेवारीभन्दा माथि उठेर आफ्नै योजना हो भन्ने ठानेर आन्तरिक आयबाट १० करोड, महायज्ञ सञ्चालन गरेर १८ करोड हस्तान्तरण ग¥यौँ । रंगशाला निर्माणका लागि चितवन जिल्ला जुरुक्क उठेको हो । यसमा ३०औं हजार बढी चितवनवासीले प्रत्यक्ष योगदान गर्नुभएको छ । महानगरपालिकाले गर्नुपर्ने कुनै कसर बाँकी राखेको छैनौं । स्रोत जुटाउने, निर्माण कार्य अगाडि बढाउने र सम्पन्न गर्ने दायित्व धुर्मुस सुन्तली फाउण्डेसनको हो । सोचेझैँ स्रोत जुटेन । मंगलबार बैठक बसेर टुंग्याउँछौं । फाउण्डेसनले अघि बढाउने हो भने हामी सहजिकरण गर्छौं । हामी सकेनौं, महानगरपालिकालाई ह्याण्डओभर गर्छौं भने पनि हामी लिन तयार छौँ ।

एमालेले आगामी महाधिवेशन तपाईंकै महानगरपालिकाभित्र गर्दै छ । सो महाधिवेशनलाई के–कस्तो सहयोग गर्नुहुन्छ ?

– महानगरपालिकाभित्रको सार्वजनिक ठाउँ नारायणी नदी किनारमा उद्घाटन सेसन गर्ने भनिएको छ । त्यो अहिलेसम्म महानगरपालिकाले संरक्षण, रेखदेख गर्दै आएको ठाउँ हो । अहिलेसम्म जति पनि त्यो किनारामा कार्यक्रम भएका छन्, सबैमा महानगरपालिकालाई पत्राचार गर्ने, अनुमति लिने काम हुँदै आएको थियो । अहिलेसम्म पत्राचार भएको थाहा छैन । महानगरपालिकाको तर्फबाट सुरक्षा र ठाउँ चाहिने हो महाधिवेशनका लागि । देशभरबाट आउने नेता, कार्यकर्ताले यो ठाउँ देखेर जाने हुनुभयो, यो खुशीको कुरा हो । विकासको योजना प्रत्यक्ष देखेर जानुहुन्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा भरतपुरको प्रचार हुने भयो । आएका जति सबैले नकारात्मक सोच वा विचार बोकेर आएका हुन्नन् । सुझबुझ भएका मान्छे पनि छन् त्यहाँभित्र । एक ठाउँमा तय भइसकेको महाधिवेशन यहाँ सारिएको छ । उहाँहरू जुन उद्देश्य बोकेर प्रतिशोध वा कमजोर बनाउँ भन्ने उद्देश्य बोकेर आउन लाग्नुभएको होला तर नकारात्मक पाटोभित्र सकारात्मक उपलब्धि वा पक्ष देखेको छु ।

यसअघि पहिला बुटवलमा तय भएको महाधिवेशन हठात् भरतपुरमा किन सारिएको होला ? प्रचण्ड र तपार्इंलाई टार्गेट बनाउन ? वा अरु कुनै कारण छ यसमा ?

– कसैले कसैलाई सिध्याउँछु भनेर क्षणिक आवेशमा आएर, विचार, राजनीति, सिद्धान्तभन्दा प्रोपोगाण्डा, छुद्र टिप्पणी, बोलीवचन गरेर अहिलेको जमानामा पार लाग्दैन । केपीजीको जुन ध्येय छ त्यो पूरा हुन्छ भन्ने लाग्दैन । उल्टै ब्याक फायर हुन्छ जस्तो लाग्छ ।

आगामी निर्वाचनमा ओलीको रणनीति सो क्षेत्रबाट बादललाई उठाउने र ठेकेदार विक्रम पाण्डे लगाएर प्रचण्डलाई हराउनतर्फ केन्द्रित छ भनिन्छ । कसरी बुझ्नुभएको छ ?

– ओली जे पनि गर्न तयार हुने मान्छे । उडन्ते कुरा गर्ने, मनगढन्ते, तथ्यहीन कुरा गर्ने । कांग्रेसले छोरीलाई बोक्यो, बाउलाई हामीले बोकेर गल्ती ग¥याैँ भन्ने बेतुकको कुरा गरेर आफ्नै कद घटाइरहनुभएको छ । अहिलेसम्म देखियो नि नेपालको राजनीतिमा आफू लचिलो भएर, पछाडि हटेर पनि अध्यक्ष कमरेड प्रचण्डले व्यवस्था, संविधान र यो उपलब्धि जोगाउनका लागि कति त्याग गर्नुभएको छ ! मलाई अब कसले के गर्न सक्छ भन्ने केपी ओलीमा दम्भ थियो । त्यही घमण्डले दुई दुई पटक संसद विघटन गर्नुभयो । ओलीको प्रतिगमनविरुद्ध संसद् पुनःस्थापना गराएर व्यवस्था जोगाउनुभयो । केन्द्रदेखि प्रदेशसम्मका आफ्नो पकडको सरकार ढल्दा पनि उहाँहरूलाई चेत आउँदैन । अझै अहंकार र फूर्तीफार्ती उस्तै छ । सत्ताबाट च्यूत भइसक्नुभएको छ ।

अयोध्यामा राम जन्मभूमि बनाउने भन्नुभएको छ ओलीले, किन होला उहाँ यस्तरी तपाईंको क्षेत्रप्रति धार्मिक, आर्थिक, राजनीतिक रूपमा यति धेरै आकर्षित हुनुभएको ?

– प्रचण्डलाई हराउनका लागि ओलीले लागेसम्मको शक्ति खन्याउनुहुन्छ । उहाँलाई आफ्नो निर्वाचन क्षेत्र बनाउनेभन्दा पनि प्रचण्डको क्षेत्र बिगार्ने चिन्ता छ । तर उहाँले सोचेजस्तो परिस्थिति छैन । कहिले पनि राष्ट्रहितविपरीत काम गर्नुभएको छैन प्रचण्डले । अन्तर्राष्ट्रिय शक्तिसँग गलत सम्झौता गर्नुभएको छैन । प्रचण्ड कहाँ चुक्नुभएको छ र अहिलेसम्म ? शान्ति प्रक्रियादेखि यता आउनुहोस् त, चाहे ओलीलाई होस् वा माधव नेपाल, झलनाथ वा देउवालाई पटक–पटक प्रधानमन्त्री बनाउन उहाँले नै सहयोग गर्नुभएको छ । बरु प्रचण्डलाई उहाँले केही गुन लगाउनुभएको छैन । जनताले यी सबै चिज नियालिरहेका छन् ।

माडीमा कति ठूलो मानवीय जोखिम छ ! पोहोर साल मात्र कुसुम खोला नजिकै निकुञ्जबाट आगलागी हुँदा त्यहाँका स्थानीयले विस्थापित हुनुपर्ने स्थिति रह्यो । निकुञ्ज ऐन २०२९ संशोधन गरी जनताको हितमा काम गर्नु छैन । स्थानीय जनता जंगली जनावरबाट आतंकित छन् । तिनको सुरक्षा छैन । यस्ता समस्यातिर उहाँ उदासीन । त्यतातिर केही सिन्को भाँच्नै नपर्ने, तीन वर्ष प्रधानमन्त्री हुँदा माडीवासी जनता अध्यक्ष प्रचण्डसहित ओलीकहाँ कति पटक डेलिगेसनमा जाँदा मानवीय संवेदनशीलताको वास्ता भएन । कम्युनिष्ट राजनीतिक सिद्धान्तमा उहाँलाई केही मतलव छैन ।

कसरी हुन्छ जनतालाई भड्काउने, भ्रम छर्ने उद्देश्यले उहाँ अगाडि बढ्नुभएको छ । राजनीतिले त प्रचण्डलाई सिध्याउन सकिएन । विकासको कामबाट पनि प्रचण्डलाई खुइल्याउन सकिएन । अब धार्मिक हिसाबले सकिन्छ कि भनेर लागिपर्नुभएको छ । उहाँ प्रधानमन्त्री हुँदा २ वटा मूर्ति लगेर माडीमा राख्नेबाहेक माडीबासीका लागि अरू के गर्नुभयो र ? जग्गाको टुंगो भएको छैन । समग्र मास्टर प्लान बनेको छैन । एक रुपैयाँ बजेट विनियोजन गर्नुभएको छैन । त्यो राम जन्मेको ठाउँ हो भन्ने कुरा यकिन हुनुप¥यो नि ! अन्वेषण गर्ने निकाय छ, पुरातात्व विभाग, अनि राम त्यहीँ जन्मिएका थिए भनेर अन्तर्राष्ट्रिय जगत्ले पनि मानिदिनुपर्ला । दुई वटा मूर्ति लगेर राख्दैमा माडीलाई गरेको ठहरिन्छ ?

टोपबहादुर रायमाझी, प्रभु साह, रामबहादुर थापा बादल, लेखराज भट्टलगायत नेताले किन साथ छाडेका होलान् प्रचण्डको ?

– राजनीतिमा पनि वेश्यावृत्ति हुन्छ । एक पटक वेश्यावृत्ति गर्न पल्केको मान्छे पटक पटक त्यतै लाग्छ । बादलले पहिले पनि प्रचण्डलाई धोखा दिनुभएको हो । कहिले वैद्य, विप्लव कता–कता चाहारेर प्रचण्डको शरणमा आउनुभएको हो । अध्यक्ष कमरेडले महानता र उदारता देखाउनुभयो । संगठन विभाग प्रमुख, महासचिव हुँदै रक्षा र गृहमन्त्रीको रूपमा सरकारमा पठाउनुभयो । फेरि धोखा दिनुभयो । उहाँको प्रवृत्ति त देखियो नि ! टोपबहादुर रायमाझीले पनि हिजो बाबुरामलाई धोखा दिएर हिँड्नुभएको हो । प्रचण्डलाई धोखा दिनुभयो । भोलि ओलीलाई पनि धोखा दिनुहुन्छ । प्रभु साहले अस्ति मात्र विधान महाधिवेशनमा नगएर बार्गेनिङ गर्नुभयो । फेरि के–के स्वार्थ पूरा भए अहिले लपक्कै हुनुभएको छ । उहाँहरू निष्ठा र इमानको भन्दा पनि क्षणिक र व्यक्तिगत स्वार्थमा केन्द्रित भएर राजनीति गर्दै हुनुहुन्छ । यस्ता पानीको फोकाजस्ता मान्छेको के कुरा गर्नु ?

माधवकुमार नेपालसँग यहाँको व्यक्तिगत सम्बन्धचाहिँ कस्तो छ ?

– उहाँ एकदमै सिद्धान्तनिष्ठ, इमान्दार व्यक्ति । धेरै सम्मान गर्छु । उहाँले ठूलो साहस गर्नुभएको हो ओलीको स्वैच्छाचारी प्रवृत्ति, अहंकारी व्यक्तित्वविरुद्ध । एमाले र नेकपा हुँदा पनि ओलीसँग लड्नुभयो । १० भाइले उचाल्दै भीरमा लगेर छाडिदिँदा पनि कतै हलचल नभई अडिग भएर गलत प्रवृत्तिविरुद्ध लडिरहनुभएको छ । अहिले केपी ओली मात्र गलत हुँदा नेकपा तहसनहस भएको हो । देशमा वामपन्थी वर्चश्व छ । टुक्रा–टुक्रामा विभक्त भएर अहिले हामी कमजोर छौँ । भोलि फेरि वामपन्थीबीच धु्रवीकरण हुन सक्छ । त्यो अवस्थासम्म जाने कुरामा हामी निरन्तर अघि बढिरहेका छौं । समाजवादी, माओवादी र अरु कम्युनिष्ट पार्टी धु्रवीकृत हुनुपर्छ भन्ने म ठान्छु ।

आमाको स्वास्थ्य अवस्था कत्तिको सुधार हुँदै छ ?

– धेरै नाजुक छ । पारिवारिक हिसाबले ठूलो पीडा भोगेका छौं । बुवा झन् ठूलो पीडामा हुनुहुन्छ । छोरा, छोरी गुमाउनुपरेको छ । श्रीमतीको अवस्था त्यस्तो छ । बोल्न सक्नुहुन्न, खुवाउन पनि मुस्किल छ । पार्किन्सन्स रोग कहिल्यै भोगेका वा देखेका पनि थिएनौं । जटिल खालको रोगको शिकार हुनुभएको छ, ममी । फेरि देशको अवस्था यस्तो छ । र पनि संघर्षबाट हामी कहिल्यै भागेनौं । हिजो पनि मर्न तयार भएर हिँडेका परिवार हौं हामी ।

टिप्पणीहरू