सुर्खेतमा औद्योगिक क्षेत्र फैलँदो अवस्थामा

सुर्खेतमा औद्योगिक क्षेत्र फैलँदो अवस्थामा

निर्माण सम्पन्न भएको ४० वर्षपछि वीरेन्द्रनगर औद्योगिक क्षेत्रले गति लिन थालेको छ । २०३८ कात्तिक २२ गते स्थापना भएको औद्योगिक क्षेत्रले अहिले पूर्वाधार विकासमा तीव्र गति लिएको हो ।

सानो लगानीबाट शुरु भएको औद्योगिक क्षेत्रमा हाल ठूला लगानीका उद्योगसमेत स्थापना भइरहेका छन् । त्यहाँ खाद्य पदार्थमा आधारित उद्योग, पानी प्रशोधन, इन्जिनियरिङ वर्कशप, काठजन्य उद्योग, पोल्टी फर्म, ऊर्जासम्बन्धी उद्योग सञ्चालित र सञ्चालनको क्रममा छन् ।

एक करोड रुपैयाँभन्दा बढी लगानीका उद्योगहरू सञ्चालनमा आएको कार्यालय प्रमुख जीवनारायण बञ्जाडे बताउँछन् । उनका अनुसार त्यस्तो लगानीका चारवटा उद्योग भने निर्माणाधीन अवस्थामा छन् ।

औद्योगिक क्षेत्रभित्रै २० करोड लागतमा कर्णाली कोल्डचेन लजिस्टिक निर्माण भइरहेको छ । सुरक्षा ग्याबिन र पीएन फुड्स एक÷एक करोड लगानीमा निर्माण हुँदै छन् । त्यस्तै, २५ लाख लगानीको प्लाष्टिकजन्य उद्योगसम्बन्धी एमके नेपाल निर्माणाधीन छ ।

पछिल्लो समय सुर्खेत डेरी उद्योग १५ करोड, भवानी छापाखाना ५० लाख र गंगामाला काष्ठ तथा फर्निचर उद्योग ३० लाखको लगानीमा सञ्चालनमा आइसकेका छन् ।

९० रोपनी क्षेत्रफलमा फैलिएको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा पाँचवटा औद्योगिक भवन र २७ वटा उद्योग छन् ।

टिप्पणीहरू