रंगमञ्चझैँ उथलपुथल जिन्दगी

  • राजेन्द्र स्थापित

लण्डनस्थित एउटा नाट्यघरमा नयाँ नाटक प्रदर्शन गरियो । तर, उक्त नाटकले दर्शक तान्न सकेन । नाट्यघरका मेनेजर निराश बने । कम्तीमा ५–६ साता मज्जाले चल्छ भन्ने सोचेका थिए तर दुई हप्ता नबित्दै नाट्यघर खाली भयो । उनी कम्तीमा ३–४ साता चल्ने नयाँ नाटकको खोजीमा लागे । दराज खोलेर नाटककारहरुले पठाएका पाण्डुलिपि पल्टाउन थाले । एउटा नाटक फेला पारे, ‘लेडी फ्रेडरिक’ । सो नाटक ११ वर्षदेखि दराजमा थियो । उक्त नाटकमा खासै दम छैन भनी नाटकको निर्माण नगरिकनै राखिएको । अरु कुनै नयाँ र राम्रो नाटक फेला नपरेपछि मेनेजर यसै नाटक मञ्चन गर्ने सोचमा पुगे ।

नाटक प्रदर्शन भयो । दर्शकले मन पराए । चारैतर्फ त्यसको चर्चा भयो । धेरै समययता लण्डनमा त्यति उत्कृष्ट नाटक मञ्चन भएको थिएन । लण्डनस्थित नाटकघरका प्रबन्धकहरु ‘लेडी फ्रेडरिक’ का लेखक विलियम सामरसेट मामको घर धाउन थाले । मामले आफूले लेखेका पुराना नाटकहरु दिएर पठाए । लण्डनका प्रायः नाटकघरमा एकै समय मामका नाटकहरु मञ्चन भए । उनका सबै नाटकलाई दर्शकले उत्तिकै मन पराए । मामले लेखन र रोयल्टीबापतको आम्दानी प्राप्त गर्दै गए । यसपछि प्रकाशकहरुले उनीद्वारा लिखित पुस्तकको पाण्डुलिपि माग्न शुरु गरे । एकपछि अर्को गर्दै पुस्तक पनि बिक्यो । माम युगकै महान प्रतिभाशाली साहित्यकारको रुपमा लोकप्रिय बने । ठूला–साना अनगिन्ती संघ–संगठनले स्वागत र अभिनन्दन गरे । सन् १९१४ देखि सफल लेखक बनेका उनी सन् १९३० को दशकमा सबैभन्दा महँगो लेखक बने । सन् १९१४ मा मात्रै उनका १० नाटक र १० वटा उपन्यास प्रकाशित भयो । न्युयोर्कमा नाटक विशेषज्ञहरुले अंग्रेजी साहित्यको १० सर्वोत्तम नाटक चयन गर्दा प्रथम स्थान विलियम सेक्सपियरको ‘हैमलेट’ लाई र दोस्रो स्थान मामो ‘वर्षा’ (रेन) लाई दिए । यहाँसम्म कि ‘हैमलेट’ बाहेक सेक्सपियरका अन्य नाटकलाई ‘वर्षा’ को तुलनामा हल्का सम्झे ।

रोचक कुरो त के भने ‘वर्षा’ माम स्वयंले लेखेकै थिएनन् । उनले एउटा कथा लेखेका थिए, ‘सैडी थम्पसन ।’ एकपटक मित्र जोन कोल्टन उनको घर आए । राति सुत्नुअगाडि मामलाई भने, ‘पढ्नलाई केही देऊ ताकि गहिरो निद्रा परोस् ।’

त्यसबखत ‘सैडी थम्पसन’ को प्रुफ कपी टेबुलमा थियो । मामले त्यही कोल्टनलाई दिए । उनलाई त्यो पुस्तक यति राम्रो लाग्यो कि पढ्दै गए र नसुतीकनै सकाए । बिहान नहुञ्जेल पुस्तककै बारेमा सोचेर बसे । बिहान सबेरै मामलाई भने, ‘मलाई लाग्छ, कथामा आधारित रहेर नाटक सिर्जना गरेमा त्यो अमर बन्नेछ । यति राम्रो र तिखो लेखाइ यसअघि मैले पढेको छैन ।’

तर माम सोच्थे, कथामा खासै दम छैन । यसलाई नाटकको रुप दिएमा पनि सफल हुनेमा शंकै छ । उनले भने, ‘ठीक छ, यो कामचलाउ नाटक बन्न सक्छ तर कथालाई नाटकमा ढाल्न आवश्यक मिहिनेत कसले गरोस् ?’

‘सैडी थम्पसन’ कथालाई नाटकमा ढाल्ने जिम्मा कोल्टनले बोके । उनैले नाटक नाटकघरका एकजना प्रबन्धकलाई दिए । प्रबन्धकले नाटक बनाउन अस्वीकार गरे । कोल्टनले नाटक एकपछि अर्को प्रबन्धकहरुलाई देखाउँदै हिँडे तर प्रायःले ‘नाटक कामलाग्दो छैन’ भनेर फर्काए । अन्त्यमा कोल्टन नाटक निर्देशक साम हैरिसकोमा पुगे । हैरिस नाटक बनाउन तयार भए । उनले नयाँ अभिनेत्रीलाई अभिनयको लागि चयन गरे । कोल्टन नयाँ तथा अपरिचित अभिनेत्रीकै कारण नाटक डुब्ने भो भनेर डर मानेर बसे । तर नयाँ कलाकार जिन इगल्सले यति राम्रो अभिनय गरिन् कि नाटक सफल भयो । दर्शकले औधी मन पराए । लण्डनमा मात्र ४ सय १५ पटक प्रदर्शन भयो । हरेक शो ‘हाउसफुल’ भयो । यो नाटकमार्फत माम एक्लैले १२ लाख रुपैयाँ प्राप्त गरे ।

मामले २० उपन्यास, २५ नाटक तथा दर्जनौं लघुकथा लेखेका छन् । ‘अफ ह्युमन बोण्डेज’, ‘दि मुन एण्ड सिक्सपेन्स’, ‘केकस एण्ड एले’, ‘दि रोजर्स एड्ज’ तीमध्येका प्रशिद्ध पुस्तक हुन् । बाबु पेरिसस्थित बेलायती दूतावासमा कानुनी सहजकर्ताको काम गर्थे । त्यसैले मामको जन्म त्यहीं भयो । ८ वर्षका थिए, आमा इडिथ मेरीको निधन क्षयरोगबाट भयो । बाबु रोबर्ट ओर्मण्डले छोरालाई स्वदेश (बेलायत) पठाइदिए । काकाको घरमा हुर्केका माम उच्च शिक्षा अध्ययनार्थ जर्मनीको हेडलबर्ग पुगे, जहाँ उनको भेट पियानोबादक जोन इलिङ ब्रुक्ससँग भयो । जोन उमेरले मामभन्दा ११ वर्षले जेठो थिए र विवाहित । सन् १८९० को समय थियो । दुवै एउटै कोठामा बस्थे । जोन समलिंगी थिए । उनैले मामलाई पहिलोपटक सेक्सको मज्जा चखाए । उनीहरुको यो सम्बन्ध पाँच वर्षसम्म चल्यो । माम त्यसपछि स्वदेश फर्के ।
बेलायत पुगेपछि मामको समलिंगी चस्का छुमन्तर भयो किनभने पाँच वर्षअघि मात्रै सुप्रसिद्ध साहित्यकार आस्कर वाइल्ड समलिंगी सम्बन्ध राखेकै कारण दुई वर्षका लागि जेल परेका थिए । त्यसैले मामले आफ्नो ध्यान युवतीतर्फ लगाउन थाले । त्यसबेलासम्म उनी मेडिकलका छात्र थिए, एक बेलुका उनले एउटी युवतीलाई कोठामा लिएर गए । एक पौण्ड तिरेर शारीरिक सम्बन्ध राखे । तर, यौनरोग गनोरियाको शिकार बने । यसबीच उनको पहिलो उपन्यास ‘लिजा अफ लाम्बेथ’ प्रकाशित भयो । वाल्टर पाइने नाउँ गरेको लेखापालसँग मिलेर कोठा लिई बस्न थाले । वाल्टर केटी फकाउन खप्पिस थिए । स–साना कलाकार, पसलमा काम गर्ने युवती र महिला कर्मचारीलाई कोठामा ल्याएर ऐश गर्थे । उक्ताइसकेपछि त्यस्ता युवती मामलाई दिन्थे । मामले एक ठाउँमा लेखेका छन्, ‘तिनीहरुसितको सेक्समा माया–प्रेम केही हुन्नथ्यो, मात्र प्यास मेट्थ्यौं ।’

वाल्टरसँग छुट्टिएपछि पनि मामले धेरै स्त्रीसँग सम्बन्ध जोडे । तीमध्येकी एक थिइन्, ४१ वर्षीया भ्याइलेटा हन्ट । नारी अधिकारकर्मी । ‘फ्रिवुमन’ पत्रिकाकी सम्पादक । माम १२ वर्षले कान्छो थिए । मामका अनुसार भ्वाइलेटाले मामको शारीरिक शोषण गर्ने गर्थिन् । त्यस्तै अर्की थिइन्, साशा क्रोपोत्किन । लण्डनमा निर्वासित जीवन बिताउँदै आएका रुसी राजनीतिज्ञ पिटर क्रोपोत्किनकी छोरी । तेस्री थिइन्– इथेला जोन्स । माम प्रेमपूर्वक तिनलाई ‘रोजी’ भनेर बोलाउँथे । रोजी चर्चित नाटककारकी छोरी, विवाह गरेर पनि सम्बन्धविच्छेद गरिसकेकी र उदयमान अभिनेत्री । २३ वर्षीया सुन्दरी । दुई–चारपटकको भेटमै माम उनलाई कोठामा लान थाले । जोन्स मामले उनीसित बिहे गरुन् भन्ने चाहन्थिन् तर माम बिहे नै गर्न चाहँदैनथे । कारण थियो– उनका कतिपय साथीसँग पनि जोन्स सुत्ने गर्थिन् । पछि केही समयका लागि जोन्स अमेरिकातर्फ लागिन् । सिकागोमा चलचित्र खेलिन् । बेलायत फर्केपछि भने मामले उनीसँग बिहे गर्ने मन बनाए तर उनी अर्कै पुरुषबाट गर्भवती भएको थाहा पाए ।

पछि मामको रोमान्स साइरी बर्नार्डो वेलकमसँग चल्यो । जर्मन यहुदीकी छोरी । २३ वर्षको उमेरमा अमेरिकी औषधि व्यापारी ४८ वर्षीय हेनरी वेलकमसँग बिहे गरेकी । तर, दाम्पत्य जीवनमा त्यसबेला कटुता पैदा भयो, जब साइरीले अमेरिकामा जन्मेका तर लण्डनमा डिपार्टमेन्ट स्टोर खोली बसेका गोर्डोन सोलफ्रित्जसँग विवाहेत्तर सम्बन्ध जोडिन् । यसबीच सन् १९११ मा मामसँग उनको भेट भयो । माम ३७ वर्षका तर हेर्दा जवान देखिन्थे । दुई वर्षपछि सन् १९१३ देखि नै दुवै पति–पत्नीसरह एउटै कोठामा एउटै पलङमा सुत्न थाले । साइरी जसरी भए पनि मामको तर्फबाट आमा बन्न चाहन्थिन् । नभन्दै सन् १९१५ मा साइरीले छोरी मेरी एलिजाबेथलाई जन्म दिइन् । हेनरीले आफ्नी पत्नीको मामसितको सम्बन्धको जानकारी लिन गुप्तचर लगाएका थिए । साइरी आमा बनेको थाहा पाउनेबित्तिकै सम्बन्धबिच्छेदको माग गरी अदालत गए । सम्बन्धबिच्छेदपछि सन् १९१७ मा साइरी र मामको बिहे भयो । तर, उक्त बिहे एकतर्फी सावित भयो । साइरी मामलाई औधी प्रेम गर्थिन् र यौनसम्बन्धको चाहना गर्थिन् तर माम साइरीको इच्छापूर्ति गर्नमा आनाकानी गर्थे । ‘तिम्रो खुशीको निम्ति मात्र बिहे गरेको, तिमीसँग प्रेम छैन मेरो’ भनी ठाडो जवाफ दिन्थे । साइरीले पनि आन्तरिक सजावटको काम शुरु गरिन् । लोग्ने मामको समलिंगी सम्बन्धतर्फको झुकाव बढ्दै गएको थाहा पाइन् र सम्बन्धबिच्छेद खोजिन् । उनीहरुको सम्बन्ध सन् १९२९ मा बिच्छेद भयो ।

माम प्रथम विश्वयुद्धमा प्रत्यक्षरुपमा सहभागी बनेका थिए । फ्रान्समा एम्बुलेन्स चालकको रुपमा । यथार्थमा बेलायतको गुप्तचर निकायको निम्ति खटिएका थिए । त्यहीँ उनको भेट फ्रेडरिक गेराल्ड हक्सटनसित भयो । अमेरिकामा जन्मेर इंग्ल्याण्डमा हुर्केका । त्यसबेला उनी २२ र माम ४० का थिए । मामभन्दा अग्ला हक्सटन सेक्सलाई ‘गेम’ मान्थे । माम अक्सर हक्सटनको घर जान्थे । नग्न भई हक्सटनसित ‘गेम’ खेल्थे । दुवैको यो सम्बन्ध करिब ३० वर्ष चल्यो । सन् १९४४ मा फोक्सोको रोगबाट हक्सटनको मृत्यु भएपछि मात्र सम्बन्ध अन्त्य भयो । यथार्थमा हक्सटन मामको निजी सचिव थिए तर निजी सचिवभन्दा बढी प्रेमीको भूमिका निभाए । हक्सटनको निधनको तीन वर्षपछि मामले १७ वर्षको केटो डेभिड पोस्नरसित सम्बन्ध गाँसे । पोस्नर स्कुले छात्र थिए तर कविता रच्थे । त्यसबेलासम्म निजी सचिवको काम एलान सर्लेले सम्हालिसकेका थिए । उनले पनि हक्सटनले जत्तिकै मामको सेवा गरे । यौनचाहना पूर्ति गरिदिए ।

सन् १९६५ मा छोरी मेरी एलिजाबेथ आफूलाई ‘नालायक’ सिद्ध गर्न लागिपरेको थाहा पाएपछि मामले एलानलाई धर्मपुत्रको रुपमा ग्रहण गरी छोरीलाई सम्पत्तिबाट बेदखल पारिदिए । मेरीले मामलाई फ्रान्सको शहर निसको अदालतमा उभिन बाध्य पारिन् । अदालतले एलानलाई धर्मपुत्र बनाएको निर्णय बदर गरिदियो । सन् १९६५ को डिसेम्बर १६ मा अन्तिम दिन मृत्युशøयामा बस्दै मामले अन्तिम वाक्य बोले, ‘छोरी, तिमीसित म हात मिलाउन चाहन्छु । तिमीले मेरोनिम्ति जे–जति ग¥यौ, त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’

टिप्पणीहरू