राजीनामा माग्नासाथ मन्त्री दिल्लीतिर

राजीनामा माग्नासाथ मन्त्री दिल्लीतिर

‘साले, मान्छे चिन्दैनस्, मलाई नियम सिकाउँछस् ?’

यसो भन्दै मोटो ज्यानले लिखुरे ज्यानलाई मुड्की सोझ्याएपछि वरिपरिका मान्छे झुम्मिने नै भए । यो घटनासँग जोडिएका पात्र हुन्, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी ।

कात्तिक १५ देखि १७ गतेसम्म लण्डनमा आयोजित वल्र्ड ट्राभल मार्टमा सहभागी भएर भाइटीकाको दिन बिहान स्वदेश फर्किने क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीमध्येकै भलाद्मी मानिने नायव सुब्बा सुमन थापामाथि यसप्रकारले दुर्वाच्य बोलेका हुन् ।

पर्यटन मन्त्री प्रेम आलेसँगै फर्किएका धनञ्जयले कतार ट्राञ्जिटमा छ बोतल सिवास रिगल ह्वीस्की किनेर ल्याएका थिए । यस्तो चर्तिकलापछि सरकारकै बदनाम भएको भन्दै मन्त्री आले सोमबार बोलाएर उनको राजीनामा मागिवरी दिल्लीतर्फ प्रस्थान गरेका छन् ।

नयाँ भन्सार नियमअनुसार, एक व्यक्तिले एक लिटरको एउटा बोतलमात्रै भिœयाउन पाइन्छ । अन्यथा, बाँकी विदेशी मदिराको भन्सार तिर्नुपर्छ । तर, धनञ्जयले ‘यो मन्त्रीज्यूको, यो सचिवज्यूको, यो सहसचिवज्यूको…’ भन्दै आफ्नोचाहिँ एउटामात्र भएको भन्दै दुई हातभरि झोला फिँजाए ।

सचिव यादव कोइरालाले रक्सी त के माछामासु र कोक फेन्टा पनि छुँदैनन् भन्ने थाहा पाएका नासु सुमनले ‘मिल्दैन हजुर मिल्दैन’ भन्दै ती रक्सी एक्सरेबाट बाहिरिन दिएनन् । अन्तर्राष्ट्रिय उडानबाट फर्किने यात्रु लगेज बटुल्न झर्ने भ¥याङको मुनितिर अस्ति शनिबार यस्तो गलफत्ति चलेको हो ।

आफूले ल्याएको रक्सी अगाडि लैजान नदिएपछि धनञ्जय चर्कोसँग बोल्न थाले । भने, ‘तिमीले मलाई चिन्दैनौ ?’ नासु सुमनले भने, ‘मैले हजुरलाई चिन्नु, नचिन्नु अर्को कुरा, म यहाँ कानुन कार्यान्वयन गर्न बसेको हुँ !’

यसपछि रौद्र रुप देखाउँदै धनञ्जय कड्किन थाले, ‘साले, मलाई नियम सिकाउने ?’ विवाद यतिसम्म बढ्यो कि कर्मचारीले भर्खरै त्यहाँको जिम्मेवारी सम्हालेका भन्सार प्रमुख महेश भट्टराईलाई गठ्ठाघरस्थित घरबाट बोलाए । अनि प्रहरीले मापसेको आशंका ग¥यो र भ्यानमा हालेर केएमसी अस्पताल पु¥यायो । ५ हजार जरिवानासहित सबै कागजी प्रक्रिया पु¥याउँदा ४ घण्टा बितेर दिउँसोको १ बजिसकेको थियो ।

ड्युटीमा रहेका कर्मचारीलाई हात हाल्दा तीन महिनासम्म कैद, पाँच हजार जरिवाना वा दुवै सजायँ हुनसक्छ । भन्सार प्रमुखले चाहेको भए उनी त्यहीँबाट जेल चलानसम्म हुनसक्थे । किनभने, अन्तर्राष्ट्रिय विमानस्थलको हाकिमसँग जिल्ला न्यायाधीशसरहको अर्धन्यायिक अधिकार हुन्छ ।

तर, भन्सार प्रमुख एउटा विशिष्ट श्रेणीसरहको पदाधिकारीमाथि त्यति अनुदार हुन चाहेनन् । त्यसैले ठाउँको ठाउँ उनलाई जरिवाना पाँच हजार तिराइयो, छमध्ये रक्सीका एक बोतलमात्र ल्याउन दिइयो ।

प्रशासनिक क्षेत्रमा यस्तो जरिवाना र सजायँको अर्थ गम्भीर हुन्छ । हालै दिवंगत पूर्वगृहसचिव श्रीकान्त रेग्मीलाई फौज्दारी कसुरमा अदालतले एक रुपैयाँ जरिवाना गरेका कारण त्यसपछि उनले जीवनभर कुनै संवैधानिक नियुक्ति पाएनन् ।

टिप्पणीहरू