सक्कली नाम, नक्कली काम

‘अब मर्नु कि के गर्नु ? बेइज्जत त भयो–भयो, अब बूढोसँगको सम्बन्ध पनि बिग्रन लागिसक्यो । यस्तो (सुत्केरी हुन लागेको) अवस्थामा छु  । लौन सर, केही उपाय लगाइदिनुप¥यो, नत्र मर्नुबाहेक अरू उपाय नै छैन !’

पति विदेशमा छन् । यता, पत्नीको फेसबुक अकाउन्टबाट अश्लील तस्बिर र आपत्तिजनक प्रसंगहरू भटाभट अपलोड भइरहेका छन् । विदेश बस्ने पतिले के सोचे होलान् ? यता, पत्नीलाई पनि आफ्नो नाम र फोटोसहित चलिरहेको फेसबुकको न पासवर्ड थाहा छ, न आफ्नै नामको फेसबुक प्रयोगकर्ता उनले चिनेकी छन् । अति भएपछि उनी यस्तो बिलौना पोख्दै प्रहरीकहाँ पुगिन् । मोरङको बेलबारीस्थित इलाका प्रहरी कार्यालय परिसरमा भर्खरै सरुवा भएर काठमाडौंबाट आएका प्रहरी निरीक्षक रामकुमार राइलाई यसै साता व्यथा सुनाउंदै थिइन् अञ्जना बस्नेत (नाम परिवर्तन) ।

‘विराटचोक प्रहरी चौकीमा ८/१० चोटि धाएँ, आश्वासनबाहेक केही मिलेन, यहाँ आएको पनि निकैपटक भइसक्यो,’ उनले भनिन्, ‘आफ्नो नामबाट आफ्नै फोटा राखेर फेसबुक चलाउने अनि जे पायो त्यही पोस्ट गरेर आफूलाई बदनाम गर्ने पत्ता लगाई कारबाही गर्न माग गर्दै पहिले नै उजुरी दिएकी थिएँ तर प्रहरीले सुनुवाइ गरेन । उनले आफूले आफन्तमार्फत काठमाडौंस्थित प्रहरी मुख्यालयमा पनि निवेदन दिएको तर समस्या जस्ताको तस्तै रहिरहेको बताइन् ।

उनले अरूले आफ्नो नामको फेसबुक आइडी बनाएर तनाव दिन थालेपछि दुई÷चार महिनायता फेसबुक नै नचलाएको र आफ्नो आइडी डी–एक्टिभ गरेको बताइन् । तर, आइडी बनाएर बेलाबखत अश्लील सामग्री पोस्ट गरेर दाम्पत्य सम्बन्ध बिगार्न खोजिरहेको उनको बुझाइ छ ।
महिलाको पिरलो सुनिएपछि प्रहरी निरीक्षक राईले साइबर क्राइम अपराधअन्तर्गत कारबाही गर्न फेसबुकको पोलिसीले पनि समस्या  हुने गरेको  बताए । उनले त्यसमा पनि अरूको नामबाट कसले र कहाँबाट फेसबुक चलाएको छ भनी पत्ता लगाउने प्रविधि प्रहरी मुख्यालय  काठमाडौंमा मात्रै रहेकाले उपत्यकाबाहिर साइबर क्राइमको उजुरी परे पनि अनुसन्धानका लागि सबै उजुरी उतै पठाउनुपर्ने अवस्था रहेको बताए ।

अञ्जनाको पटक–पटकको आग्रहपछि प्रहरीले शंका लागेको व्यक्तिविरुद्ध उजुरी दिएमा सोधपुछ र अनुसन्धान गर्ने आश्वासन दियो । तर, अञ्जनाले आफ्नै परिवारका कसैउपर शंका भएकाले नाम किटान गरेर उजुरी दिन सकिनन् । किनभने, उनीसँग प्रमाण थिएन । पारिवारिक झगडा परेर आफूहरू छुट्टिएर बसेको तर परिवारकै कसैसँग बोलचालसमेत नभएकाले आफन्तले नै जोइपोइको सम्बन्ध बिगार्न त्यस्तो गरेको उनको आशंका छ ।  अन्त्यमा काठमाडौंमै जान प्रहरीले सल्लाह दिएपछि उनी घरतिर लागिन् ।

त्यसैगरी, मोरङकै केराबारीकी वन्दनाको पनि आफ्नो नामबाट खोलिएको फेसबुक अरूले नै चलाइदिएपछि विदेश रहेका श्रीमान्सँग सम्बन्ध चिसिएको छ । ‘मेरो फेसबुक कसैले चलाएकाले मेरो बूढोले दुई महिनादेखि फोन पनि गरेका छैनन्,’ वन्दनाले भनिन्, ‘फेसबुकमा किन जे पायो त्यही पोस्ट गरिस् भन्दै चैत अन्त्यतिर झगडा परेको थियो, त्यसयता एक कल फोन पनि गरेका छैनन् ।’ आफूले फेसबुकमा त्यस्तो केही पोस्ट नगरेको तर कसैले ह्याक गरेर चलाएकाले आफू समस्यामा परेको उनले बताइन् ।

यी त भए एक/दुईवटा उदाहरण । अचेल दिनहुुँ साइबर क्राइम अपराधका समस्या आइरहेका हुन्छन् । तर,  साधन–स्रोत र प्रविधिका कारण पीडितलाइ जिल्ला र स्थानीय स्तरबाट न्याय दिन नसकिएको प्रहरी अधिकारी बताउँछन् ।

– अम्बिका भण्डारी

टिप्पणीहरू