ऐतिहासिक पत्र, प्रतिवेदन र प्रतिबद्धताको संगालो,एमालेमा कसरी जन्मिए विवाद, कसरी हल गरिँदै आए समस्या ?

ऐतिहासिक पत्र, प्रतिवेदन र प्रतिबद्धताको संगालो,एमालेमा कसरी जन्मिए विवाद, कसरी हल गरिँदै आए समस्या ?

बेलाबखत एकता र विद्रोहको मार्ग तय गर्दै आजको ठाउँसम्म आइपुगेको एमालेमा विभाजन अझै रोकिएको छैन । फुटको ताजा घाउबीच अहिले सो पार्टी चितवनको भरतपुरमा मध्यमंसिरको चिसोबीच दशौं महाधिवेशनबाट नयाँ ढंगले पुरानै नेतृत्व छान्ने भन्दैछ । यही चितवनमा ३० वर्षअगाडि ०४८ सालमा एमालेले विधानलाई समेत सिरानी हालेर एउटा तीतो आन्तरिक पीडाको सामना गर्नुपरेको थियो । भर्खरै बहुदलीय व्यवस्था प्राप्ती, माक्र्सवादीसँगको एकता र आफैंभित्रका उकुशमुकुश स्थिति कतिसम्म बिग्रन पुग्यो भने केन्द्रबाट झगडा मिलाउन संगठन विभाग प्रमुख जीवराज आश्रित आफैं भरतपुर पुग्नुभयो ।

केन्द्रमा पार्टी एकीकरणपछि स्थानीय निकायहरुको एकीकरण गर्ने क्रममा चितवन जिल्ला पार्टी संगठनको पनि एकीकरण भएर २६ जनाको कमिटी बनेको थियो । पछि कमिटीको आकार ठूलो भएको र त्यहाँ रहेका कतिपय सदस्यहरु असक्षम तथा निष्क्रिय भएको भन्दै गत जेठ २६ गते पहिलेको कमिटीलाई विघटन गरी पहिलेका १३ जना र अरु थप नयाँ दुई जना गरी १५ जनाको जिल्ला अधिवेशन आयोजक कमिटी बनाइएछ ।

विघटित कमिटीमा सेक्रेटारियट सदस्य रहेका तीन जना शम्भु सुवेदी, रामप्रसाद श्रेष्ठ र विजय सुवेदीले जिल्ला संगठन कमिटीभित्र अस्वस्थ वातावरण रहेको, विगत समयमा र आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएका कमरेडहरुप्रति बेवास्ता तथा झूठा आरोप लगाउन थालिएको, कमिटीभित्र गुटबन्दीको स्थिति सिर्जना गरिएको, सक्रिय तत्वहरुलाई अनेक तिक्डमद्वारा कमिटीबाट छटनी गर्न थालिएको, यस्ता क्रियाकलापहरुमा जिल्ला सचिव देवी ज्ञवाली, विष्णु घिमिरे र जगन्नाथ थपलिया संलग्न रहेको र यसमा केन्द्रीय संगठन समितिका सदस्य तथा नारायणी अञ्चल इञ्चार्ज क. नरबहादुर खाँडलाई समेत संलग्न गराइएको भन्ने आरोपहरुका साथ असार १, २०४८ मा अञ्चल संगठन कमिटीमा आवेदन दिनुभयो । यस्तो स्थितिमा अञ्चल संगठन कमिटीले उक्त पुनर्गठित जिल्ला संगठन कमिटीलाई अनुमोदन गरेन ।

यो मामिला केन्द्रीय संगठन विभागमा पनि आएको हुँदा त्यसको छानबिनको निम्ति गत असार १९ गते त्यता गई विघटित कमिटीका सबै सदस्यहरुलाई बोलाई मामिलाको छानबिन गर्ने काम भयो । त्यस बैठकमा केन्द्रीय संगठन विभागको तर्फबाट म (जीवराज आश्रित), अञ्चल इञ्चार्ज क. नरबहादुर खाँड, अञ्चल सचिव क. काशीनाथ अधिकारीका साथै अञ्चल संगठन कमिटीका सदस्य रणध्वज कन्दङ्वा र जिल्ला संगठन समितिका २२ जना गरी कूल २६ जनाको उपस्थिति थियो ।

बैठक प्रारम्भ भएपछि आवेदकहरु विजय सुवेदी र शम्भु सुवेदीले आफ्नो भनाइ राख्नुभयो । त्यसपछि विष्णु घिमिरेले पनि आफ्नो भनाइ राख्नुभयो । घिमिरेद्वारा गम्भीर रुपले आरोपित (षड्यन्त्रकारी भएको, उद्योगपति र व्यापारीहरुसँग साँठगाँठ गरी रकम भ्रष्टाचार गरेको जस्ता) जागृतप्रसाद भेटवालले पनि आफ्नो भनाइ राख्नुभयो ।

त्यसपछि बोल्ने पालोअनुसार अनुमति पाएका जिल्ला सचिवले रुञ्चे स्वरमा, आफू सम्पूर्ण आरोप (आवेदकहरुले लगाएका) निम्ति अपराधी रहेको र त्यस्तो अपराधी यस्तो जिम्मेवारीमा बस्न नहुने भएकाले म राजीनामा पेश गर्दै बैठक छोड्दैछु भन्ने भनाइका साथ यस्तै व्यहोराको लिखित राजीनामासमेत बैठकमा पेश गरेर अरुको प्रतिक्रियाको समेत प्रतिक्षा नगरिकनै उठेर हिँड्नुभयो । उहाँलाई सम्झाएर फर्काउन अञ्चल सचिव क. काशीनाथ अधिकारी पछिपछि जानुभयो तर उहाँ फर्कनु भएन र घरतिर लाग्नुभयो । यसले स्थितिलाई झनैै जटिल बनाइदियो ।

उहाँले बैठक छाडेर गए पनि बैठक जारी रह्यो । बैठकमा व्यापक छलफल भयो । छलफलपछि जिल्ला संगठन कमिटीको विघटित र पुनर्गठनका बारेमा निम्नि निष्कर्ष निकालियो  ः

१) पहिलेको कमिटीलाई कतिपय कारणहरुले गर्दा पुनर्गठन गर्नु आवश्यक देखिएको भए पनि पार्टी विधानको संगठनात्मक सिद्धान्तअन्तर्गत धारा ९ को उपधारा (क) को गम्भीर रुपले उल्लंघन गर्दै अञ्चल कमिटीबाट पूर्वस्वीकृति वा पछि अनुमोदनसमेत नलिइकन कमिटी विघटन गर्ने तथा नयाँ आयोजक कमिटी बनाउने काम गरेको र अनुमोदनबिना नै कार्यान्वयनसमेत शुरु गरेको,
जिल्ला संगठन कमिटीमा रहेका पूर्णकालीन सदस्यहरु शम्भु सुवेदी र प्रमोद न्यौपानेले कमिटीको अस्वस्थ वातावरणको कारण सामान्यरुपले सरुवाको माग गरेको कुरालाई निहुँ बनाएर सरुवाको प्रक्रियाद्वारा केन्द्रीय संगठन कमिटीबाट कुनै पनि जानकारी तथा स्वीकृति नलिइकनै जिल्ला संगठन कमिटीबाट हटाइएको,

– पुरानै कमिटीलाई यथावत राख्ने र त्यसैले यथाशक्य चाँडै अधिवेशनको आयोजना गर्ने
– पुरानो कमिटीलाई यसै बैठकद्वारा पुनर्गठन गरी अधिवेशन आयोजक कमिटी बनाउने

२) यस जिल्ला कमिटीबाट अन्यत्र जान माग गर्ने सदस्यहरुका सम्बन्धमा उचित प्रक्रियाद्वारा स्वीकृत प्राप्त गरेपछि मात्रै बाहिर पठाउनको निम्ति कमिटीबाट मुक्त गर्नुपर्ने

३) कमिटीको पुनर्गठन वा नयाँ कमिटी निर्माण गर्दा व्यक्तिहरुको चयन उचित ढंगले गर्नुपर्ने

४) क. जेपी भेटवालमाथि लगाइएका आरोपहरुका बारेमा राम्ररी छानबिन गर्ने

५) सदनमा गएका व्यक्तिलाई पनि पार्टीको संगठनात्मक कामको जिम्मेवारी दिन सकिने

६) चुनावको दौरानमा उठाइएको रकम र भएको खर्चको लगत तयार पारी बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्ने

७) कमिटीभित्रका आन्तरिक कुराहरु असम्बन्धित ठाउँमा लैजाने गलत प्रवृत्तिहरुलाई हटाउनुपर्ने

८) क. देवी ज्ञवालीले दिनुभएको राजीनामामाथि बैठकले छलफल गर्ने औचित्य देखेन र उहाँसँग क. काशीनाथ अधिकारीले तुरुन्तै भेटी उहाँलाई आफ्नो जिम्मेवारी सम्हाल्न लगाउनेसमेत टुंगो भयउो ।

साथै, बैठकमा विघटित भएको जिल्ला संगठन कमिटीले नै मान्यता पाएको र पुनर्गठित कमिटी विधानसंगत नभएको टुंगो भएपछि आवेशमा आएर क. विष्णु घिमिरे र यदु पोखरेलले पनि राजीनामा दिनुभयो । ती राजीनामा दिने कमरेडहरुलाई पनि सम्झाउने र आफ्नो राजीनामा फिर्ता लिन सल्लाह तथा आग्रह गरियो । उहाँहरुले राजीनामा फिर्ता पनि लिनुभएन र कमिटीले उहाँहरुमाथि कुनै कारवाही पनि गरेन । कुनै पनि राजीनामाको रीत पुगेको पनि छैन ।

कमिटीको सचिवको हैसियतले क. देवी ज्ञवालीले जसरी भूमिका खेल्नुपर्ने हो, त्यसो नगरी लाइक र डिस्लाइकको आधारमा मान्छेको मूल्यांकन गर्ने, आफूसँग फरक विचार राख्ने सदस्यहरुलाई पन्छाएर समस्याको समाधान खोज्ने र आफूलाई उचित लागेको काम गर्नको निम्ति विधान तथा प्रक्रियालाई समेत मिच्ने प्रवृत्तिहरु भएको पाइयो । यस्ता मामिलाहरुमा केन्द्रूीय संगठन समितिका सदस्य क. नरबहादुर खाँडको पनि संलग्नता रहनु र आफ्नो जिम्मेवारीको उचाइबाट निर्देशन नेतृत्व दिन असक्षम भएको पनि देखाप¥यो । यसरी चितवन जिल्ला कमिटीभित्र गम्भीर समस्याहरु रहेको र ती समस्याहरु अझै पनि समाधान नभएको स्थिति छ ।

– जीवराज आश्रित (२०४८÷३÷२५)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
केन्द्रीय संगठन समिति, केन्द्रीय कार्यालय, काठमाडौं

                                                  विषय : जिल्ला कमिटी चितवनमा उत्पन्न विवादबारे ।

हाम्रो पार्टी निर्माणदेखि यता दर्जनौं क्रान्तिकारीहरुको रगत, हजारौं कार्यकर्ताहरुको लगनशीलता र थुप्रै नेताहरुको कुशल नेतृत्वको कारण नेपाली जनताको मुटुको धुकधुकी बनिरहेको छ । हामी पनि सोही पार्टीको निर्माण अवस्थादेखि नै विभिन्न मोर्चा र क्षेत्रमा बसेर पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै आएका कार्यकर्ता हौं । हामी चाहन्छौं, यो पार्टीले नेपाली जनताको मुक्ति ल्याउनुपर्छ, आफ्ना कमीकमजोरी हटाउँदै पार्टीभित्र शुद्दीकरण गर्नुपर्छ । यो हाम्रो मात्र चाहना नभई हजारौं हजार नेता–कार्यकर्ता र जनताको पनि चाहना हो । यसै सवालमा हामीले आ–आफ्नो क्षेत्रमा कामको श्रीगणेश गरिसकेका छौं । हाल हामीलाई पार्टीको माथिदेखि तलसम्मको कामको शैली र पार्टीभित्र गलत व्यक्तिले पाइरहेको प्रोत्साहनप्रति ठूलो चिन्ता लागिरहेको छ । यिनै सवालहरुअन्तर्गत चितवन जिल्ला कमिटीभित्र केही सवाल उठिरहेका छन् । हामी विश्वस्त छौं, यसबारे केन्द्रीय कमिटीलाई थाहा भइसकेको छ । चितवन जिल्लामा उठेको विवाद र समस्याबारे उपल्लो कमिटीका जिम्मेवार कमरेडहरुलाई बारम्बार अवगत गराउँदा पनि कुनै वास्ता हुन नसकेकोले आज स्थिति जटिल बनिरहेको छ । पार्टी कार्यकर्तामा निरासा उत्पन्न हुँदै पार्टीबाट टाढा रहने स्थितिसम्म बनेकाले जिम्मेवार कमरेडहरुको ध्यानाकर्षण गराउन चाहन्छौं ।

१) ०४३ सालसम्म क. जेपीलाई पत्रकारको रुपमा चिनेका थियौं जेपीको घर भएको भण्डारा क्षेत्रमा पनि सीमित व्यक्तिहरुले मात्र चिन्दथे । जेपीको राजनीतिक जीवन कस्तो थियो, कुन प्रकारको जिम्मेवारी बहन गर्नुहुन्थ्यो, क्रान्ति र पार्टीप्रति कति निष्ठावान हुनुहुन्थ्यो, कति त्यागी र समर्पित हुनुहुन्थ्यो चितवनको पार्टी र पार्टी कमरेडहरुलाई थाहा थिएन । पार्टी कडा भूमिगत शैलीमा भएको हुनाले आफ्नो काम र जिम्माको कुराबाहेक अन्य विषयमा चासो राख्नु अनुशासनभित्र पर्दैनथ्यो । ०४३ सालको निर्वाचनदेखि पार्टीले क्रान्तिकारी उपयोगको नीति अवलम्बन ग¥यो । जेपीलाई चितवनको उम्मेदवार बनाउने पार्टी केन्द्रको निर्णय भएको छ भनी तत्कालीन नारायणी क्षेत्रका इञ्चार्ज क. मुकुन्दले निर्देशन दिनुभएपछि पार्टी आदेशलाई शिरोधार्य गर्दै प्रचार कार्यमा जुट्यौं । प्रचार अभियान शुरु हुनासाथ पञ्चहरु, कांग्रेसीहरु र वामपन्थी घटकका व्यक्तिहरुले जेपीका विषयमा विभिन्न सवालहरु उठाउन शुरु गरे । ‘जेपी गुप्तचर पुलिसको हवल्दार हो, तस्करहरुसँग साँठगाँठ छ, माडेको भरिया हो, ०४२ सालमा शंकर केडियाको सर्लाहीको इन्दुशंकर चिनी मिलको लागि सामान पैठारी गराउन बंगलादेशमा एक महिनासम्म बस्यो’ आदि आदि । हामीले ठान्यौं, हाम्रो पार्टीविरुद्ध शत्रुहरुले बनाएको अनर्गल प्रलाप मात्रै हो । पार्टी केन्द्रले जाँचपड्ताल गरेर उम्मेदवार बनाएको व्यक्ति निश्चितरुपले निष्कलंकित, त्यागी र इमान्दार हुन्छ भन्ने हामीलाई लागेको थियो । त्यही आत्मविश्वासका साथ जेपीका विरुद्ध आउने प्रचारविरुद्ध सशक्त प्रहार केन्द्रित ग¥यौं । निर्वाचनका दिनहरु नजिक हुँदै गए । वीरगञ्जको शंकर केडियाले जेपीलाई सहयोगार्थ रु. १० हजार दिएको थाहा भयो । नारायणगढका मारवाडीहरुलाई भेला गराएर जेपीलाई सहयोग गर्नु, उनी मेरा मान्छे हुन् भनेर शंकर केडियाले भने । उनले कसरी सहयोग गरे भनी जेपीलाई प्रश्न गर्दा पढ्दा क्याम्पसको साथी, यस्तैउस्तै हल्का तवरले जवाफ दिनुभएको थियो । नजिकबाट चिन्ने क्रम शुरु भयो, वर्षहरु पनि धेरै बिते, जेपीका गैरमाक्र्सवादी व्यवहार, षड्यन्त्रकारी स्वभाव र शंकास्पद चरित्रहरु प्रष्ट हुँदै गए ।

यस्तो व्यक्ति जो ०४३ सालसम्म कुनै संगठन प्राकसम्म संगठित नभएको, जसलाई तत्कालीन चौमका विद्यार्थीहरुले जासुस भनी कोठाबाट गलहत्याएको, तस्करहरुसँग साँठगाँठ छ भनी सडक हल्ला चलिरहेको बखत त्यस्ता व्यक्तिलाई क. मुकुन्दले केका आधारमा उम्मेदवारका लागि सिफारिस गर्नुभयो ? कुन व्यवहारको आधारमा जेपीलाई इमान्दार, त्यागी र क्रान्तिकारी उच्च नैतिकता भएको योद्धा पाउनुभयो ? व्यक्तिको मूल्यांकन गर्दा उसको विगत र वर्तमानको जानकारी लिनुपर्छ कि पर्दैन ? विगतको जानकारी नै नलिई गरेको मूल्यांकन कस्तो हुन्छ ? यदि जानकारी थियो भने पर्दाभित्र राख्ने काम किन गरियो ?

२) जेपीले प्रकाश साप्ताहिकलाई मागीखाने भाँडोको रुपमा प्रयोग गर्दै उत्तरकोरिया र चिनियाँ दूतावासबाट नाजायज फाइदा उठाएको र विभिन्न दलाल उद्योगपतिहरुसँग ठगी खाएको, शुरुका दिनहरुमा पार्टीले पत्रिका माग्दा नदिएको, दलालहरुका विरुद्ध पत्रिकामा समाचार छाप्न नमानेको, यदाकदा दलालहरुका विरुद्ध छापिएका समाचारप्रति आपत्ति जनाएको आदि तथ्यहरु तत्कालीन पपत्रिकाको टिमसँग सम्बन्धित कमरेडहरुसँग बुझियोस् ।

३) ०३२ सालतिर चौमका पार्टी प्रतिनिधि सुमन ढकालसमेतका व्यक्तिहरुले जेपीलाई गुप्तचर संस्थामा हवल्दार जागिर खाएको तथ्य फेला परेको भनेर कोठाबाट गलहत्याएको । त्यसबेला जेपी चौमनजिक हुनुहुँदो रहेछ ।

४) ०४३ सालको राष्ट्रिय पञ्चायत सदस्यमा विजय भएपछि आफ्नो प्रभावलाई उपयोग गर्दै एकाघरका दाजु र भाइ दुवै जनाका नाउँमा अलगअलग ठेक्काहरु उपलब्ध गराइरहनु, विगतमा गरिब किसानको हैसियत राख्ने व्यक्ति छोटै समयमा धनी बन्दै जानु, चितवनमा जमिन थप्दै र काठमाडौंमा घर बनाउनु, छोराछोरीलाई महँगा बोर्डिङमा पढाउनु आदि कुराले जेपीको चरित्रलाई कुन रुपले बुझ्न सकिन्छ ? क्रान्तिकारी पार्टीमा लागेका इमान्दार व्यक्तिहरु कसैको पनि आर्थिक उन्नति भएको हामीलाई थाहा छैन । जेपी परिवारको भने रातारात आर्र्थिक सम्पन्नता बढ्दै जानुमा के रहस्य छ, पार्टीले चासो राख्नुपर्ने विषय हुन्छ कि हुँदैन ?

सत्ताको विरुद्ध चर्को नारा दिने जेपीका परिवारलाई पञ्चायती तानाशाह र दलालहरुले राम्राराम्रा ठेक्का उपलब्ध गराइरहनुपर्ने रहस्य के छ ? कुन नातासम्बन्धको आधारमा पञ्चायती पृष्ठपोषक र नोकरशाहीहरुले लगातार ठेक्कापट्टा प्रदान गरिरहन्थे ? यसबाट जेपीको द्वैध चरित्रको झलक देखापर्दैन र ?

५) चितवनका तीनवटा जनसभामा भीमबहादुर श्रेष्ठले भने, ‘मैले गाडी लिएर मित्रलाई दिएँ, मेरा मित्र जेपीले माडवारीलाई दिनुभयो ।’ तर जेपीबाट यसको कहिल्यै खण्डन भएन । प्रहरी हिरासतमा प्रहरीले जेपीलाई विशेष सुविधा के आधारमा दियो भनी भीमबहादुरले ठाउँठाउँमा भन्ने गरेका थिए । जेपीबाट यसको किन खण्डन गर्ने काम गरिएन ?

६) जेपीका दाजु माधव भेटवाल र काभ्रेका हरि अधिकारीबीच साझेदारीमा ठेक्का कारोबार भएको थियो । यी दुई बीच मनमुटाव भएपछि छानबिन कमिटी बन्यो । जेपी परिवारबाटै अनियमितता भएको ठहर भयो र जेपी परिवारले पार्टीलाई रु. तीस हजार बुझाउने लिखित सम्झौता भएको थियो तर सो रकम पार्टीलाई बुझाएको देखिँदैन । यसको प्रमाण हुनुहुन्छ– मोहन थापा, सोल्टी होटलमा काम गर्ने श्याम घिमिरे, जगन्नाथ थपलिया र हरि अधिकारी ।

माथि उल्लेखित सवालहरु र जेपीले चितवनको पार्टीमा रहेर गरेका काम–कारवाहीहरुले जेपीका द्वैध चरित्रबारे हामीमा आशंका जाग्दै र थपिँदै गयो । अनुसन्धानबाट पाएका र व्यवहारबाट अनुभूत गरेका प्राप्त तथ्यहरु निम्न प्रकारका छन् :

विगत समयदेखि पार्टी केन्द्रद्वारा उच्च मूल्यांकन गरिनुभएका तथा क. मुकुन्दद्वारा प्रशंसित जेपीले जनआन्दोलनमा झण्डा बोकेर गिरफ्तारी दिएको हुँदा बिनाविवाद क्षेत्र नं. १ बाट उम्मेदवार उठाउने निर्णय गरिएको थियो । पार्टी केन्द्रीय स्तरमा अन्य वामघटकसँग चुनावी तालमेलको ठोस समझदारी नबनिरहेको अवस्थामा चितवनको पार्टीमा दुई प्रकारका विचार उठिरहेका थिए । हाम्रो पार्टीको कार्यकर्ता शक्ति एवं जनआधार र अन्य वामघटकको शक्ति र प्रभावलाई ध्यान दिँदै हामीले दुई स्थानमा उम्मेदवारी दिनैपर्ने, क्षेत्र नं. १ मा बिनाएकता पनि एकलै विजय गर्न सकिने हुँदा सो क्षेत्र नछाड्ने र अन्य दुई स्थानमध्ये जुनसुकै भए पनि एक स्थान लिने भन्ने विचार थियो । शक्तिको आधारमा एकता गरिने हुँदा एकता केन्द्रसँग सम्झौता गर्ने र प्रजातन्त्रवादी समूहको शक्ति क्षीण भएको हुनाले त्योसँग एकता नगर्ने भन्ने थियो । अर्को विचार थियो, शक्ति र प्रभाव जसको जस्तोसुकै भए पनि चितवनको सन्दर्भमा एक ठाम एक वाम गर्नैपर्छ अर्थात् भीमबहादुरलाई १ क्षेत्र खाली गरिदिनुपर्छ । यी दुई विचारमध्ये कुन ठीक र कुन बेठीक छ मूल्यांकनको छुट्टै विषय हो । पार्टीभित्र विभिन्न विचार र दृष्टिकोण आउनु स्वभाविक हो र आउनु पनि पर्छ । स्वच्छ ढंगले छलफल चलाउनुपर्छ, सर्वसम्मत नभए बहुमत र अल्पमतका आधारमा निर्णय गरिनुपर्छ, यसमा विवाद नै रहेन । मुख्य सवाल के हो भने कुनै विचारको पक्षमा अस्वस्थ ढंगले गुट सिर्जना गर्नु, दबाब समूह निर्माण गर्नु र षड्यन्त्र गर्नु पार्टी हितमा हुन्छ कि हुँदैन, कम्युनिष्ट आचारभित्र पर्छ कि पर्दैन ? यस्ता क्रियाकलापले पार्टी क्रान्ति र जनताको हित गर्छ कि व्यक्तिको ? उम्मेदवारी दर्ता गर्ने समयभन्दा झण्डै एक महिना अगाडिदेखि जेपीले भीमबहादुरसँग साँठगाँठ गर्नुभएको थियो । त्यतिबेला निर्वाचन सम्बन्धित निर्णयहरु भीमबहादुर पक्षमार्फत सडकमा पोखिने गर्थे । पार्टीको गोपनीयता जेपीमार्फत नै भीमबहादुरमा पु¥याइएको छ भन्ने हामीलाई पूरै शंका लागेको थियो ।

निर्वाचनको बेला वीरगञ्जका मारवाडीहरुसँग सम्बन्ध कायम गरी बिनारसिद रु. २३ हजार जेपीले आफ्नै भाइमार्फत ल्याएको । जेपी तथा भाइ कसैलाई पनि पैसा लिन नजानु, दिने भए पार्टीले छुट्टै मान्छे पठाउने छ भनेर भन्दाभन्दै पनि बिनारसिद भाइलाई पैसा लिन पठाउने कामप्रति शंका गर्ने ठाउँ रहन्छ कि रहँदैन ?

निर्वाचनको लागि आर्थिक सहयोग जुटाउन जिकले जेपी र विष्णु घिमिरेलाई काठमाडौं पठाउने निर्णय गरेको थियो । जेपीको मोहन गोपाल खेतान, पियुष अमात्य, विजय शाह र गजानन्द वैद्यसँग चिरपरिचित र घनिष्ठता रहेछ । पियुष अमात्य र गजानन्द वैद्यसँग भेट हुन सकेन । पियुषले पछि आफ्नो मान्छेद्वारा पच्चीस हजार रत्ननगर क्षेत्रीय कार्यालयमा जेपीका हातमा थमाएछन् । विजय शाहसँग भित्री कोठामा गुप्त वार्ता चल्यो, कुरा के–के भयो थाहा हुने कुरै भएन । गोपाल खोतानले बन्दी खाममा रु. दश हजार दिए र आवश्यक परे पछि सहयोग गर्ने आत्मीयता प्रकट गरे । यसमा प्रत्यक्षदर्शी विष्णु घिमिरे ।

क. गोपाल थपलिया र जेपीको ३०÷३१ सालदेखि नै चिनजान र मित्रता रहेछ । समय बित्दै जाँदा जेपीका गलत क्रियाकलापहरु गोपाललाई जानकारी हुँदै गयो । आफ्ना कमजोरीहरु अरुलाई जानकारी गराइदेलान् भन्ने आशंकाले गोपालको चरित्रहत्या गर्ने र विस्थापित गराउने काममा जेपी तीव्रगतिले लाग्नुभयो । यतिसम्म कि गोपालप्रति फैलाइएका नकारात्मक कुराले माहीलाई समेत प्रभावित बनाएको थियो । पार्टीले गोपाललाई चितवन पठाउने कुरा उठाएको छ भन्ने सुन्दा समस्यामूलक व्यक्तिलाई चितवन नपठाइयोस् भन्नेसम्म आग्रह गरेका थियौं । एउटा इमान्दार क्रान्तिकारीप्रति पूर्वाग्रही भएर अन्याय गर्नु अरुलाई समेत गुमराह पार्नु क्रान्तिकारी नैतिकता र इमान्दारिताभित्र पर्ने कि नपर्ने ? अनुसन्धान र खोजतलासपछि क. गोपाल लामो समयदेखि क्रान्तिकारी कार्यमा लागेको, इमान्दार व्यक्ति भन्ने लागेको हुनाले कार्यकर्ताको उचित मूल्यांकन हुनुपर्छ भन्ने हेतुले आयोजक कमिटीमा समावेश गरिएको थियो । तर, पूर्वाग्रही जेपीले आयोजक कमिटी भंग गराउन ज्यान छाडेर लाग्नुभयो ।

०४७ साल जेठमा पार्टीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भयो । जेपी यसबेलासम्म पार्टी सदस्य हुनुहुन्नथ्यो । क. मुकुन्दको सिफारिसमा परीक्षणकाल पनि लागू नहुने गरी केन्द्रीय समितिको विशेष निर्णयले पूर्ण सदस्यता प्रदान ग¥यो र जिक सेक्रेटारियटमा राखियो । त्योभन्दा पहिल्यै जेपी कहाँ, कुन संगठनमा कसरी संगठित हुनुहुन्थ्यो, उहाँले कुन विशिष्ट भूमिका निर्वाह गर्नुभएको थियो, त्यो त कमरेड मुकुन्दलाई नै थाहा होला । चितवनको सन्दर्भमा भने जेपी कुनै पनि संगठनमा संगठित हुनुभएको थिएन । हाम्रो जानकारीमा जेपीको संगठित जीवन ०४७ जेठ २१ देखि शुरु भएको छ । जेपी जिल्ला सेक्रेटारियटमा रहँदादेखि नै सचिव क. देवी ज्ञवालीविरुद्ध गुटबन्दी शुरु गर्नुभएको थियो । आफूभन्दा कम उमेरको वा ख्याति नकमाएको देवी ज्ञवालीलाई नेता मान्दा हीनताबोध हुने प्रवृत्तिका कारण जिल्ला कमिटीका अन्य केही कमरेडहरुलाई उक्साएर सचिवविरुद्ध अस्वस्थ ढंगले गुट तयार गर्नुभयो । विष्णु घिमिरेसँग तीनपटकसम्म सचिवलाई हटाउनुपर्ने प्रस्ताव राख्नुभएको थियो । त्यसै समयदेखि पार्टी कमिटीभित्र अस्वस्थ गुटगत गतिविधि शुरु भएको थियो । यसको अनुभूति क. काशिनाथलाई पनि भएको हुनुपर्छ ।

जेपीका सम्बन्धमा थुप्रै थुप्रै मान्छेले विभिन्न सवाल उठाइरहेका थिए । गुप्तचर पुलिसको हवल्दार भनेर चौमका व्यक्तिहरुले त कोठाबाटै घोक््रयाउने काम गरे । कमरेड उत्तम महतसँग मिर्चैया चौकीको असइले भनेछन्, ‘जेपी मसँगै जागिर खाने व्यक्ति भाग्यले साथ दिएर दुई दुईपटक माननीय हुनुभयो ।’ गौर जेलका अर्का असईले कमरेड मोदनाथसँग भनेछन्, ‘जेपीलाई कस्तो मूल्यांकन गरेर माले पार्टीले माननीयमा विजय गरायो, उहाँ त गुप्तचर विभागमा जागिर खानुहुन्छ ।’ रिसले भाउन्न भएका शत्रुहरुले अरुलाई किन गुप्तचर, दलाल, भरिया आदि भन्दैनन्, सारा दुनियाँले जेपीलाई नै गुप्तचर पुलिसको हवल्दार किन भनिरहन्छन् ? के सारा दुनियाँ झुट र बेइमान हुन सक्छ जेपीका लागि ? अनि जेपी सच्चा इमान्दार, नैतिकवान, त्यागी क्रान्तिकारी महान पुरुष ?

जेपीले विशिष्ट तवरले पार्टी सदस्यता प्राप्त गरे पनि, क. मुकुन्द र क. केदार न्यौपानेले जतिसुकै योग्यता र इमान्दारिताको जलप लगाइदिए पनि जेपीको पार्टी निर्माणमा कति योगदान छ, उहाँमा राजनीतिक तथा संगठनात्मक कुशलता र क्षमता कति छ, चितवनका कमरेडहरु र क्रान्तिकारी जनता विज्ञ छन् । पार्टीले फेरि परीक्षा गरे हुन्छ, सत्य व्यवहारबाटै बोल्छ ।

एकीकरणपछि पार्टी काममा झन् बढी अस्तव्यस्तता आयो । जिल्लामा उत्पन्न समस्याहरुलाई हल गर्न र पार्टीप्रतिको जनआस्था र आकर्षणलाई समेट्दै कामलाई व्यवस्थित पार्न जिल्ला पार्टी नेतृत्व चुस्तदुरुस्त, फूर्तिलो र कुशल हुनुपर्ने समयको माग बनिरहेको थियो । यिनै कुरालाई ध्यानमा राख्दै २६ सदस्यीय भद्दा संगठन कमिटीलाई विघटन गरी कामकाजी आयोजक कमिटी निर्माण गर्नुपर्छ भन्ने हामीलाई लागिरहेको थियो । नारायणी क्षेत्रीय इञ्चार्ज केन्दीय सदस्य कमरेड नरबहादुर खाँडसँग सरसल्लाह भयो । पार्टी कामलाई अगाडि बढाउन छिटोछरितो नेतृत्व निर्माण गर्न आयोजक कमिटी गठन गर्ने र त्यसलाई क्षेत्रीय कमिटीबाट अनुमोदन गरिने कुरा क. खाँडबाट भएपछि जिल्ला संगठन कमिटीको पूर्ण बैठकको सर्वसम्मतिले १३ सदस्यीय आयोजक कमिटी बनाउने निर्णय ग¥यो । जेपीप्रति हामीलाई लागेका शंका र उहाँको कार्यकुशलताको पनि अभाव भएको हुनाले जेपीलाई आयोजक कमिटीमा नराख्ने हाम्रो भित्री मनसाय रहेको थियो तर प्रकट रुपमा संसदको कामले बेफुर्सद हुने हुँदा पार्टी कार्यमा लाग्न सक्नुहुन्न भन्ने तर्क अगाडि सारेर अयोजक कमिटीमा नबस्दा राम्रो हुन्छ भन्ने प्रस्ताव राखेका थियौं तर बहुमत कमरेडहरुलाई हाम्रो भित्री आसय ज्ञान नभएको र जेपीले ख्याति प्राप्त गर्नुभएको हुनाले जेपीलाई पनि आयोजक कमिटीमा राख्ने नै निर्णय भयो । जेपीलाई आयोजक कमिटीमा नराख्ने हाम्रो प्रस्तावबाट सशंकित हुँदै हाम्रोविरुद्धमा षड्यन्त्र गर्न थाल्नुभयो, आयोजक कमिटी भंग गराई पुरानै कमिटी पुनस्र्थापना गर्ने व्यापक अभियान चलाई रामप्रसाद श्रेष्ठ, विजय सुवेदी र शम्भु सुवेदीद्वारा हस्ताक्षर गराई नारायणी क्षेत्रीय कमिटीमा हाम्राविरुद्ध उजुरी दिनुभयो । त्यत्रो पहल गर्ने जेपी स्वयंले भने उजुरीमा हस्ताक्षर गर्नुभएन । यस सवालमा जेपीलगायतका कमरेडहरुलाई उत्प्रेरित गर्ने काममा क. केदार न्यौपानेको महत्वपूर्ण योगदान रहेको छ । उजुरी दिनुभन्दा अघिल्लो रात जेपीको घर भण्डारामा क. केदारलगायत माथि उल्लेखित कमरेडहरुको गुप्त बैठक भएको थियो ।

आयोजक कमिटी निर्माण गर्नुपरेको औचित्यलाई विचारै नगरी, हाम्रो पार्टीप्रतिको सदासयता, चाहना र चिन्तालाई ख्यालै नगरी पूर्व धारणा बनाएर आयोजक कमिटी भंग गरियो । डिसी बैठकमा क. जीवराज आश्रितकै व्यक्त कथनअनुसार क. मुकुन्द र क. केदारसँग राय सल्लाह काठमाडौंमा नै भइसकेको, उहाँहरुबाटै चितवनको समग्र स्थितिको बोध गरिसकेको प्रष्ट बुझ्न सकिन्थ्यो । अझ त्यसमा थप सल्लाह सुझाव दिएर सहयोग गर्ने काम जेपीबाट पनि भएछ । जिम्मेवार कमरेडबाट समस्यालाई गहिरिएर बुझ्नुको सट्टा कसैको भनाइलाई वस्तुगत आधार बनाएर निर्णयमा पुग्ने कामले समस्याको हल निष्कन सक्छ ? नारायणी क्षेत्रीय इञ्चार्ज केन्दीइ सदस्य क. नरबहादुर खाँडको उपस्थिति र सरसल्लाहले भएको निर्णयलाई हचुवा तालले भंग गर्दा केन्द्रीय कमिटीका सदस्यहरुको वजन घट्न जाँदैन र ? यस्ता निर्णयले कसैलाई बढी स्थापित र कसैलाई विस्थापित गराउने काम हुँदैन र ? तल्ला कमिटीले गरेका उचित निर्णयलाई माथिल्लो कमिटीले अनुमोदन गर्दै आएको परम्परा सर्वविदितै छ । विधानमा अनुमोदनको प्रावधान हुँदाहुँदै एकतर्फी कुरा सुनेर जुन अनुचित निर्णय भयो, यसले जिल्ला पार्टीमा उठेका विवादलाई झन् चर्काउने काममा षड्यन्त्रकारी तत्वलाई थप प्रेरणा मिल्यो ।

विधानको भावना र मर्यादालाई बुझ्ने तथा कायम राख्ने काममा संगठन विभागको गहन दायित्व रहन्छ नै । विधानलाई एकरुपतासाथ लागू गराउने अहं दायित्व पनि संगठन विभागकै हो । यसमा हाम्रो कुनै गुनासो छैन तर जनकपुरको धनुषामा यसैगरी बनेको आयोजक कमिटीले वैधता प्राप्त गर्न सक्यो सकेन ?

चितवनमा ०४८ आश्विन ५–६ मा सम्पन्न एमालेको प्रथम जिल्ला अधिवेशनतिर संगठन विभागको ध्यान पुगेको छ कि छैन ? दुनियाँमा कतै नभएको नियम चितवनमा लागू भएको छ । अधिवेशनमा चुन्ने र चुनिने अधिकार प्रतिनिधिलाई मात्र हुन्छ भन्ने कुरा कम्युनिष्ट पार्टीका विधानमा पढ्दै र बुझ्दै आएको हो । हाम्रो पार्टी विधानतमा पनि हाम्रा आँखाले योभन्दा फरक देखेको छैन । पर्यवेक्षक, अतिथि र स्वयंसेवकहरुलाई चुन्ने र चुनिने अधिकार प्रदान गर्ने विशेषाधिकार कसलाई रहन्छ ? पोलिटव्युरोका सदस्यलाई यो विशेषाधिकार छ कि संगठन विभागका प्रमुखलाई अथवा अधिवेशनका अध्यक्षमण्डलका कमरेडहरुलाई अथवा क्षेत्रीय कमिटीको सचिवलाई ? यस्तो अधिकारका विषयमा अपानिद्वारा जानकारी गराउने काम गरिएको भए हामी अन्योलमा रहने थिएनौं । त्यस्तो अधिकार कसैलाई छैन भने जिल्ला कमिटीको आतिथ्य ग्रहण गर्नुहुने क. डम्बर श्रेष्ठ कसरी जिल्ला कमिटीमा छानिनु (मनोनीत) हुनुभयो ? क. डम्बर जिल्ला पार्टीको सचिव पनि छानिनुभएको छ । अब उहाँको अध्यक्षतामा बसेको पार्टी कमिटीको बैठक वैध हुन्छ कि हुँदैन ? त्यस्तो पार्टी बैठकलाई निर्णय गर्ने अधिकार हुन्छ कि हुँदैन ? निर्णय वैधानिक हुन्छ कि हुँदैन ? यसमा संगठन विभागको के दृष्टिकोण रहेको छ ? कि कतैबाट उजरी वा सिकायत नआएको खण्डमा विधानलाई कैदमा हालेर जस्तो पनि निर्णय गर्न सकिन्छ र संगठन विभाग मुकदर्शक भएर बसिरहन्छ वा चनाखो भएर हेर्छ र विधानको अपहेलना भएको ठाउँमा उजुरी नपरे पनि हस्तक्षेप गर्नुपर्ने कर्तव्य ठान्छ ? जानकारीका लागि हार्दिक अनुरोध छ ।

उल्लेखित समस्या र असामान्य स्थितिको निराकरणका लागि हाम्रा प्रयासहरु र हामीले अनुभव गरेका कुराहरु  :

जिल्लामा उत्पन्न समस्याका बारेमा आरसीका कमरेडहरुलाई बारम्बार अनुरोध गरिएको थियो । सम्बन्धित कमरेडबाट निर्वाचनपछि तुरुन्त हल गर्ने भनियो तर पनि हालसम्म गम्भीरतापूर्वक ध्यान गएको पाइएन, समाधानका लागि आवश्यक प्रयत्न भएन ।

उत्पन्न विवाद र समस्याबारे कमरेड माधव नेपाललाई शुरु अवस्थादेखि नै अवगत गराउने प्रयत्न गरियो । सूक्ष्मरुपले राख्ने छोटो समय मिलेको थियो, विस्तृत र यथार्थ कुरा सुनाउन कमरेडले समय दिन सक्नुभएन । जति अवगत गराइयो, त्यसतर्फ पनि कमरेडको ध्यान गएन । महासचिव कमरेडलाई समस्या अवगत गराउने हार्दिक प्रयत्न गरियो, कमरेड महासचिवबाट यी समस्या बुझ्नेतिर ध्यान गएन वा यस्ता खुद्रामसिना कुरामा अल्झिएर आफ्नो अमूल्य समय बर्वाद गर्न चाहनुभएन । कमरेड मुकुन्दलाई सुरुदेखिकै सम्पूर्ण कुरा थाहा भएकै छ भन्ने हामीलाई लागेको छ । उहाँको पनि यसतर्फ पटक्कै ध्यान गएन । किन गएन हामीलाई आश्चर्य लागेको छ । पार्टी पंक्तिभित्रको राजनीतिक, वैचारिक तथा संगठनात्मक कामलाई भन्दा संसदीय कामलाई बढी महत्व दिइएकै हुनाले नेतृत्वदायी कमरेडहरुमा संसदमा चुनिने र राष्ट्रिय सभामा मनोनित हुने होडबाजी चल्यो । जिम्मेवार कमरेडहरुको सारा ध्यान संस भवनतिरै केन्द्रित हुँदै गयो र पार्टी जीवनमा अस्तव्यस्तता शुरु भयो । यो क्रम बढिरहेको छ । समस्याहरु उत्पन्न हुनु र जटिल बन्दै जानुमा केन्द्रीय नेतृत्व नै दोषी छ, समाधानतिर नेतृत्ववर्गको उचित समयमा ध्यान किन गएन ? समस्यालाई सतही ढंगले लिने किन गरियो ? व्यक्तिहरुमाथि निगरानी र उचित मूल्यांकन किन गरिएन ?

पार्टीभित्र कार्यकर्ताको मूल्यांकन ठीक ढंगले नभएको, इमान्दार कार्यकर्ताहरु पछाडि परिरहेको, चाप्लुसी र षड्यन्त्र गर्ने र केन्दीय कार्यालय धाउने, नेताहरुसँग बढी घुलमिल हुनसक्ने, नेताहरुलाई दैनिक भेटघाट गर्न सक्ने व्यक्तिको मात्र उच्च मूल्यांकन हुने प्रवृत्ति पार्टीमा बढ्दै गएको, चाकडीबाज शैलीले पार्टीभित्र जन्म लिइसकेको छ ।

पार्टीका नीति र लाइन बढी परिमार्जित र वैज्ञानिक हुँदै आएका छन् । यसबारे हामी पार्टी सदस्यहरु गौरव गर्दछौं तर कार्यान्वयन पक्ष ज्यादै अव्यावहारिक, गैरजिम्मेवार र उदासीन छ । केन्द्रीय कमिटीका जिम्मेवार कमरेडहरुमा सार्वजनिक रुपले फरक फरक विचारहरु व्यक्त गर्ने गलत परम्परा हुर्कंदै गएको हुनाले पार्टीभित्र एक प्रकारको अराजकता र अनुशासनहीनता छाएको छ । शुभचिन्तक जनता तथा कार्यकर्तामा अन्योल र भ्रम सिर्जना भएको छ । यस्तै प्रवृत्तिलाई कायम राख्ने हो र सारा ध्यान संसद भवनतिरै केन्द्रित गराइराख्ने हो भने पार्टीले पाएको जनसमर्थन गुम्दै जाने छ । एकदिन हामी चौथो महाधिवेशन समूहको भन्दा पनि दुर्गतिमा पुग्नेछौं । यो ज्यादै ठूलो चिन्ता बनेको छ ।

जिल्ला अधिवेशन हुनुभन्दा अगाडि नै उत्पन्न समस्या समाधान गरियोस्, षड्यन्त्रकारी गुप्तचरको आशंका भएको व्यक्तिसँग समन्वय कायम गर्ने काम नहोस्, षड्यन्त्रकारीसँगसँगै बसेर काम गरेर पार्टीको हित हुँदैन, काममा झन् अस्तव्यस्तता आउनेछ भनेर हामीले आरसी र सीसीका जिम्मेवार कमरेडहरुसँग बारम्बार आग्रह गरेका थियौं । जिल्ला अधिवेशन सम्मुख पनि हामी जिल्ला कमिटीमा नबस्ने विचार व्यक्त ग¥यौं तर हलको स्तब्धता र प्रतिनिधिहरुको निरासापूर्ण अभिव्यक्तिले पार्टी क्षतविक्षत हुन सक्ने चिन्ताले जिल्ला कमिटीमा नबस्ने हाम्रो पूर्व निर्णयलाई बदल्न बाध्य भयौं । जे, जस्तो भए तापनि समयलाई धैर्य गरौं भन्ने विचार गरेर काममा जुट्न थाल्यौं तर जेपीबाट षड्यन्त्र गर्ने र गुटबन्दी गर्ने काममा झन् तीव्रता आएको छ । व्यक्ति व्यक्तिसँग भेटेर ‘मलाई हाम्रै कमरेडहरुले झूठा आरोप लगाएका छन्’ भन्दै आफू निर्दोष र इमानदार भएको सफाइ दिँदै जाने र हामीलाई गलत सावित गराउने, बदनाम गराउने काममा झनै धेरै चर्को रुपमा लागिरहनुभएको छ । जेपीजस्ता षड्यन्त्रकारी, धूर्त, द्वैध चरित्र भएको व्यक्तिले पार्टीलाई विसर्जनतिर पु¥याउन सक्ने कुराले हामीलाई अत्यन्त चिन्तित बनाएको छ । यस्ता व्यक्तिबारेमा गहिरो अनुसन्धान गरी अपराधअनुसारको कडा कारवाही होस् र पार्टीलाई शुद्दीकरण गर्ने कामको थालनी तुरुन्त सुरु गरियोस् भन्ने हामी जोडदार आग्रह गर्दछौं ।

जेपीजस्तो धुर्त, षड्यन्त्रकारी, जसको कुनै क्रान्तिकारी इतिहास छैन, जसलाई विगतमा जासुसको समेत अभियोग लागेको थियो, त्यस्ता व्यक्तिलाई उच्च क्रान्तिकारी व्यक्तित्वको रुपमा मूल्यांकन गरिनु, अझ आत्मीयता प्रकट गर्नुमा कमरेड मुकुन्दको के स्वार्थ छ ? निर्वाचनकालमा जेपीले भीमबहादुरसँग गुप्त साँठगाँठ गरेर जिल्लामा माहौल खडा गर्नु, उता क. मुकुन्दले त्यसैगरी भीमबहादुरलाई उम्मेदवार बनाउनका लागि आरसीका कमरेडहरु र जिल्लाकै कमरेडहरुलाई बारादेखि ट्रंक गरी गरी मनाउन प्रयत्न गर्नु, बिनाशर्त तुरुन्तै भीमबहादुरसँग एकता गर्नु, नत्र सारा परिस्थिति डाँवाडोल हुन्छ भनेर बारम्बार दबाब दिनुपर्ने कारण के हो ? यसमा के रहस्य छ ? जबकि केन्द्रीय संसदीय बोर्डले चुनावी तालमेलको लागि विभिन्न वामघटकसँग प्रयत्न चलाइरहेको थियो । केन्द्रीय स्तरमा कुनै समझदारीमा नपुग्दै जेपीकै स्वरमा स्वर मिलाएर हतारिएर बिनाशर्त भीमबहादुरलाई हाम्रो पार्टीले बोक्नै पर्ने दबाब क. मुकुन्दले किन दिनुभयो ? आयोजक कमिटीलाई भंग गराउने जेपीको योजनालाई बल पु¥याउन क. आश्रितलाई सल्लाह दिनुको औचित्य के रहेछ ? यसतर्फ कमरेडहरुको ध्यान जाने नै छ भन्ने हामीले आशा गरेका छौं ।

– देवी ज्ञवाली, सचिव, चितवन जिल्ला स‌ंगठन कमिटी

क. सचिव ज्यू,
नारायणी अञ्चल कमिटी हेटौंडा

                                                 विषय : जिल्ला संगठन कमिटी चितवनलाई यथावत मान्यता दिइयोस् भन्नेबारे ।

उपयुक्त सम्बन्धमा बहुदलीय व्यवस्थाको स्थापनापछि परिवर्तित राजनीतिक परिप्रेक्ष्यमा कामका प्रकृतिमा आएको परिवर्तनले हिजोका खुला र भूमिगत पेशेवर र अर्ध पेशेवर कार्यकर्ताहरुका समस्याहरु नयाँ परिप्रेक्ष्यमा कसरी समाधान गर्ने ? विभिन्न घटकहरुबाट एकापसमा जम्मा भएका हामी कार्यकर्तामध्ये असल र इमान्दार कार्यकर्ताहरुको उचित मूल्यांकन कसरी हुने ? पार्टीको निम्ति आफ्नो सम्पूर्ण सुख, सुविधा र परिवारलाई बेवास्ता गरेर आएका हिजोका ती कार्यकर्ताको हैसियत के हुने ? संगठनले कसरी परिचालित गर्ने ? त्यस कुराको छिनोफानो नहुँदा सुख, सुविधामा बसेर राजनीति गर्नेहरु तर्कको भरमा नेतृत्वमा हावी हुँदै जाने त होइनन् ? यसो हुँदै गयो भने पार्टी र जनताको भविष्य के होला ? जिम्मेवारी पूरा गर्न सक्लान् ? विदितै छ कि तिनै पुराना कार्यकर्ताहरुको त्यागले आज पार्टीको अस्तित्व यस रुपमा कायम भएको छ र हामी गौरव गरिरहेका छौं । यसैले यही चिन्ताले पार्टीभित्र अन्तर्संघर्ष चलाउन चाहन्छौं । जिल्लामा पार्टीभित्र देखापरिरहेको गम्भीर समस्याहरुलाई समाधानको निम्ति अञ्चल कमिटीमा निवेदन गर्न चाहन्छौं ।

यता केही महिनादेखि पद र प्रतिष्ठाको लागि पार्टी कमिटीभित्र गुटबन्दी सिर्जना गरिएको छ । कमिटीमा इमान्दारितापूर्वक काम गरिरहेका हिजोका आन्दोलनका नेतृत्वकर्ता सोझा कार्यकर्ताहरु क. जेपी भेटवाललाई जिल्ला कमिटीबाट हटाउन घुमाउरा अनेक तिक्डमहरु बनाइ असफल प्रयार गरियो भने क. शम्भु सुवेदी, क. प्रमोद न्यौपाने, क. भुवन अधिकारीलगायत अरु कार्यकर्ताहरुलाई यसै प्रक्रियाद्वारा हटाइएको छ । क. जेपी भेटवालमाथि चुनावी क्रममा हिजोदेखि प्रतिक्रियावादीहरुले लगाउँदै आएका गम्भीर र अत्यन्त घृणित आरोपहरुको साथमा अरु केही आरोपहरु पनि थपी जिल्ला पार्टीका नेतृत्वदायी कमरेडहरुबाट लगाइएको छ । ती आरोपहरुको सम्बन्धमा चुनाव सकिएको एक महिना बितिसक्दा पनि सम्बन्धित व्यक्तिसँग कुनै सोधपुछ, स्पष्टीकरण लिँदै नलिइ, कमिटीका बैठकहरुमा राख्दै नराखी केन्द्र, बाहिर र तल्ला स्तरमा कुरा लगी शंकाको भरमा रिसइबी साँध्न उहाँलाई माइनस गर्नुपर्छ भन्दै तलसम्म कुरा लगेको र कमिटीबाटै हटाउने तिक्डमहरु अपनाइएको छ । यी सबै तिक्डमहरु पार्टी जिल्ला कमिटीका सचिव क. देवी ज्ञवाली, सेक्रेटारियट सदस्यहरु क. विष्णु घिमिरे, क. जेएन थपलिया, आदिबाट सुनियोजित रुपमा भइरहेको छ । यसमा केन्द्रीय संगठन समितिका सदस्य क. नरबहादुर खाँड पनि संलग्न हुनुहुन्छ । पार्टी र कमिटीभित्र बसेर सोको अनुशासन, नियम र मर्यादालाई उल्लंघन गर्दै जोसुकैमाथि पनि आवश्यक कारवाही हुनुपर्छ तर कुनै कुराको जाँचबुझ नै नगरी विरोधीहरुको आरोपमा बगेर शंकाको भरमा भित्रभित्रै माइनस गर्ने भन्दै तिक्डमहरु अपनाउन थालिन्छन् भने पार्टी कुन धरातलतिर जाला ? हामीलाई ज्यादै ठूलो चिन्ता लागिरहेको छ ।

चुनावलाई जीवनमरणको लडाइँ सम्झेर आफ्नो हैसियतले खटेका जिल्ला संगठन कमिटीका साथीहरुलाई उनीहरुको कामको मूल्यांकन, उनीहरुका मातहतका कार्यकर्ताको मूल्यांकन, चुनावी समीक्षा, अनुभव, आर्थिक विवरण आदि कुनै पनि कुराको बारेमा जिल्ला कमिटीको बैठकमा एक आखर नसोधी, को को कमिटीमा बस्न सक्छन्, सक्दैनन् ? उनीहरुको अवस्था के छ ? यसको बारेमा सामूहिक वा व्यक्तिगत कुनै पनि किसिमबाट बुझ्दै नबुझी जेठ २६ गते जिल्ला संगठन कमिटीको बैठकमा नेतृत्वबाट तयार भएको नामावली लिस्ट र योजना पेश गरी जिल्ला कमिटीका धेरै जना कमरेडहरुको विरोध रहँदारहँदै पनि विशेष अनुनयविनय गरी पास गराइएको छ । १५ जना जिल्ला कमिटीका सदस्यहरुलाई यस प्रक्रियाबाट हटाई दुई जना बाहिरबाट ल्याई सुनियोजित रुपबाट १३ जनाको जिल्ला संगठन आयोजक कमिटी बनाइएको छ ।

जिल्ला सेक्रेटारियट कमिटीका उहाँ नेतृत्वदायी कमरेडहरुले गरेको यो गुटबन्दी र तिक्डमहरुको बारेमा प्रश्न गर्दा जिल्ला सेक्रेटारियट कमिटीको अनौपचारिक बैठक, जसमा जेठ २८ गते दिउँसो अञ्चल सचिव क. काशीनाथ अधिकारीसमेत उपस्थित भएको बखत उहाँहरुले चुनावसम्बन्धी क. जेपी भेटवालमाथि अनेक आरोपहरु लगाउनुभयो, जबकि उहाँ आरोप लगाउने कमरेडबाटै जिल्ला कमिटीको निर्णयविपरीत क. भीमबहादुर श्रेष्ठलाई हराउन बर्मा समूहबाट उठेको व्यक्तिलाई नाम फिर्ता नगराउनको निम्ति चाँजोपाँजो मिलाउनुभएको थियो । पार्टी नीतिअनुसार एक वाम एक ठाम नभएको खण्डमा २ नं.बाट विष्णु घिमिरे र ३ नं.बाट नरबहादुर खाँडलाई उठाउने भन्ने निर्णय थियो । यो कुरा पर्चामा पनि स्पष्ट उल्लेख गर्ने भनेकोमा न त पर्चामा उल्लेख गरियो न क. विष्णु घिमिरे शिक्षक पदमा राजीनामा दिन तयार नै हुनुभयो । उहाँ एकता केन्द्रलाई दुई सिट दिने र हामीले एक सिट लिने, नगर र जिल्लाको प्रमुख पदका लागि हामीले लिन कागज गराइराख्ने वा आफू उठ्नै परे फिर्ता नहुने गरी उठ्न चाहनुहुन्थ्यो । यो कुरा कति गलत छ भन्ने कुरा प्रष्ट भइसकेको छ । यसरी आफ्नो पद, सुविधा आदिको कारणले पार्टी निर्णयको कार्यान्वयन भएन भने अर्कोतिर पार्टी निर्णय भीमबहादुरलाई सहयोग गर्ने हुँदाहुँदै किन सहयोग गरिस् भनी तलका कार्यकर्तालाई स्पष्टीकरण लिएको, सहयोग गर्न रोक लगाएको, भीमबहादुरसँग समझदारी बिग्रने काम गरेको, बैठकमा चुनावसम्बन्धी फरक मत राखेको कारणले फलानाको एजेन्ट तेरो उसको गोप्य बैठक हुन्छ भन्ने जस्ता आक्षेप लगाउने गरेको जस्ता अनगिन्ती आरोपहरु लगाइएका छन् । निर्णयहरुको उल्लंघन गरिएका छन् । आफूले गरेका गलत कामहरुलाई ढाकछोप गर्न क. जेपी भेटवालमाथि आरोप लगाइएको मात्र नभई जिल्ला संगठन कमिटी नै विघटन गरिएको छ ।

जिल्ला संगठन कमिटीले गरेको यस निर्णयमा हामी पनि फसेका छौं । सुनियोजित रुपबाट हामीलाई फसाइएको छ । निर्णयमा सहभागी भएबापत हामी सजायँ भोग्न तयार छौं तर यी सबै स्थिति बुझेपछि त्यसलाई मान्न किमार्थ तयार छैनौं । पार्टीको गोपनीयतालाई ख्याल गरेर यी समग्र कुरा जिल्ला संगठन कमिटीका सदस्यहरुसामु लागिएको छैन । हामीलाई विश्वास छ, बहुसंख्यक जिल्ला कमिटी सदस्यहरु यस कुराको पक्षमा छन्, रहनेछन् यदि यो कुरालाई प्रष्टाप्रष्टी ढंगले राखिन्छ भने । यसकारण अञ्चल संगठन कमिटीले यस जिल्लामा उत्पन्न यी समस्यालाई हल गर्न पुरानै जिल्ला संगठन कमिटीलाई यथावत मान्यता दिइयोस् र अगाडि बढ्ने र सम्मेलन गर्ने वातावरण बनाइयोस् । जिल्लाको पार्टीको भविष्य सम्झेर हामी अत्यन्त चिन्तित छौं । जिल्ला संगठनको नाजुक स्थितिमा अञ्चल संगठन कमिटीले त्यही सुनियोजित जिल्लाको निर्णय, जुन अनुमोदनका लागि त्यहाँ पठाइएको होला, लाई अनुमोदन गरी पठाउँछ, टालटुल पार्छ र यही स्थितिमा राखिन्छ भने भोलिको जिल्लाको बिग्रिएको परिस्थितिप्रति स्वयं अञ्चल संगठन कमिटी पनि जिम्मेवार रहनु स्वभाविक देखिने भएकाले यस सवाललाई गम्भीर रुपमा लिई समाधान गरियो । अन्यथा यही स्थिति र यही स्थानमा रहेर काम गर्न हामी तयार छैनौं । पार्टी शुद्दीकरणको निम्ति यी सवालहरुलाई तल्ला कमिटीहरुमा लग्न नपरोस् भनी यो निवेदन चढाएका छौं । हमीले राखेका यी सवालहरु उचित र प्रमाणित छन् । यदि यसो होइन भने जस्तोसुकै कारवाही भोग्न पनि तयार छौं । अतः अञ्चल संगठन कमिटीले हामीले चढाएको यस निवेदनलाई गम्भीर रुपमा मनन गरी जिल्ला संगठन कमिटीलाई यथावत मान्यता दिनेछ भन्ने पूर्ण विश्वाससहित यो निवेदन पेश गरेका छौं ।

लालसलामसहित, निवेदकहरू जिल्ला संगठन कमिटी सेक्रेटारियट सदस्यहरु क. शम्भु सुवेदी, क. रामप्रसाद श्रेष्ठ र क. विजय सुवेदी
२०४८/३/१

टिप्पणीहरू