सत्ता गठवन्धन र एमालेका कार्यकर्ता मारमुंग्रीमा उत्रेपछि सिन्धुलीमा कर्फ्यु

सत्ता गठवन्धन र एमालेका कार्यकर्ता मारमुंग्रीमा उत्रेपछि सिन्धुलीमा कर्फ्यु

शालिक अनावरणको विषयलाई लिएर सिन्धुलीमा पाँच दलीय गठवन्धन र प्रमुख प्रतिपक्ष एमालेका कार्यकर्ताबीच विवाद भएको छ । कमलामाई नगरपालिकाद्वारा निर्मित विपी र पुष्पलालको शालिक अनवरण गर्न एमाले महासचिव ईश्वर पोखरेल आएपछि दुई पक्षीय विवाद चर्किएको हो ।

विवाद चर्किंदै जाँदा दुई पक्ष मारमुंग्रीमा उत्रने स्थिति देखिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज बिहान ११ बजेदेखि लागू हुने कमलामाई नगर क्षेत्रभित्र कर्फ्यु लगाएको हो ।प्रशासन कार्यालयका अनुसार कमलामाई नगरपालिकास्थित स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ्घोला पुल, हस्पिटल रोड क्षेत्रभित्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो । विवादका कारण बिहान केही बेर सदरमुकाम तनावग्रस्त बनेको थियो ।

त्यसलगत्तै बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु आदेश जारी गर्न प्रशासन कार्यालयलाई सिफारिस गरेको थियो । सोही बमोजिम स्थानीय प्रशासन ऐन , २०२८ को दफा ६ को उप दफा (३क) ले दिएको अधिकार प्रयोग गरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभएको छ ।

यसअघि हिजो नेपाली कांग्रेस कमलामाई नगर कमिटीले सिन्धुलीगढी विजय उत्सव कार्यक्रमलाई एमालेले पार्टीकरण गरेको भन्दै आपत्ति जनाएको थियो । नगरपालिकाले विजय उत्सव जस्तो जिल्लाकै गौरव र आत्मसम्मानको कार्यक्रमलाई पार्टीकरण गरेको भन्दै कांग्रेसले आज हुने कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएको थियो ।

सिन्धुलीगढीमा हरेक वर्ष कात्तिक २४ गते विभिन्न कार्यक्रम गरी विजय उत्सव मनाउने गरिएको छ । तत्कालीन गोर्खाली सेनाले इष्ट-इण्डिया कम्पनीको अंग्रेज फौजलाई परास्त गरेको दिनको सम्झनास्वरूप विजय उत्सव मनाउने गरिएको हो । तर पछिल्ला वर्षहरुमा विजय उत्सव कार्यक्रमलाई कमलामाई नगरपालिकाले एमालेकरण गरेको आरोप लागिरहेको छ ।

टिप्पणीहरू