डलरको दर फेर्ने अधिकार कसले दियो ?

डलरको दर फेर्ने अधिकार कसले दियो ?

– द्रव्य शाह

एनएमबी बैंकले विदेशी विनिमयदरको दुईथरी भाउ तोकेर सर्वसाधारणसँग लाखौं डलर र सोबराबरको करोडौं रूपैयाँ अपचलन गरेको छ । राष्ट्र बैंकले हालसम्म भेउ नपाए पनि उसका केही अधिकारीहरूसँगको सामीप्यमा एनएमबीले उक्त हर्कत गरेको पाइएको हो । विशेषगरी अमेरिकामा अध्ययन गर्न जाने विद्यार्थीसँग शुल्कबापतको डलर पठाउँदा उताका कम्पनीको आड र आवरणमा सो बैंकले सर्वसाधारणलाई ठगेको पुष्टि भएको छ ।

फ्लाइवायर पेमेन्टस नामको अमेरिकी भुक्तानी प्लेटफर्म कम्पनीमार्फत डलर पठाउने नाममा बैंकले दुईथरी विनिमयदर प्रयोग गर्दै आएको हो । हरेक दिन बैंकले प्रकाशन गर्नेभन्दा दुई रूपैयाँसम्म महँगो अर्को विनिमयदर तोकेर विद्यार्थी र तिनका अभिभावकको ढाड सेकिएको छ । केही महिनाअघि अमेरिकाको क्लार्क युनिभर्सिटीमा पठाइएको झण्डै २२ हजार डलर सटहीको क्रममा बैंकले प्रयोग गरेको ‘देखाउने र फसाउने’ दुईथरी विनिमयदरको भेद खुलेपछि यथार्थ बाहिरिएको हो ।

एनएमबीले आफूले दिनहुँ सार्वजनिक गर्नेभन्दा फ्लाइवायरमार्फत डलर पठाउँदा हिसाब गरिने विनिमयदरमा डलरको भाउ डेढदेखि दुई रूपैयाँसम्म बढी तोक्ने गरेको पाइएको छ ।

‘फ्लाइवायर एउटा भुक्तानी प्लेटफर्म मात्रै हो । अमेरिकी विश्वविद्यालय, अस्पताल, ट्राभल र ठूला खरिदमा सम्बन्धित संस्थाको अन्तर्राष्ट्रिय भुक्तानी रकम व्यवस्थापन गर्ने एजेण्ट हो,’ अमेरिकाको बोस्टनस्थित उक्त कम्पनीको वेबसाइटमा लेखिएको छ । उसले आफूलाई विश्वबाट महत्वपूर्ण र जटिल खालका भुक्तानी रकम सम्बन्धित संस्थासम्म पु¥याउने ‘भुक्तानी प्लेटफर्म’ भनेर चिनाएको छ । उक्त कम्पनी अमेरिकी संस्थाको भुक्तानी रकम प्राप्ति र व्यवस्थापन गरिदिने एजेण्ट मात्रै हो ।

नेपालमा एनएमबीले पछिल्लो ६ महिनादेखि फ्लाइवायरमार्फत अमेरिकामा सोझै रकम पठाउन थालेको बताइन्छ । जबकि यो कम्पनीले भुक्तानीको क्रममा लिने भनिएको सेवाशुल्क अहिलेसम्म पारदर्शी देखिएको छैन । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले यस्ता भुक्तानी एजेन्सी कम्पनीको सेवाशुल्क पारदर्शी हुनैपर्ने नियम दुई वर्षअगाडि नै तोकेको थियो । तर, केन्द्रीय बैंकको उक्त निर्देशनको समेत एनएमबी बैंकले हालसम्म पालना गरेको देखिएन । स्वयं नेपाल राष्ट्र बैंकले समेत यसतर्फ आँखा चिम्लिएको आशंका छ ।

‘फ्लाइवायर एउटा भुक्तानी प्लेटफर्म मात्रै हो । अमेरिकी विश्वविद्यालय, अस्पताल, ट्राभल र ठूला खरिदमा सम्बन्धित संस्थाको अन्तर्राष्ट्रिय भुक्तानी रकम व्यवस्थापन गर्ने एजेण्ट हो,’

बरु उल्टै एनएमबीले आफूले दिनहुँ सार्वजनिक गर्नेभन्दा फ्लाइवायरमार्फत डलर पठाउँदा हिसाब गरिने विनिमयदरमा डलरको भाउ डेढदेखि दुई रूपैयाँसम्म बढी तोक्ने गरेको पाइएको छ । एक डलरमा दुई रुपैयाँ बढी लिएसँगै राष्ट्र बैंकले तोकेबमोजिमका शिक्षाकरसमेत ग्राहकसँग बकाइदा उठाइएको प्रमाण जनआस्थासँग सुरक्षित छ ।

फ्लाइवायरले सम्बन्धित विद्यार्थीलाई उपलब्ध गराएको भनिएको शंकास्पद कागजात सिष्टम जेनेरेटेड भनिए पनि बैंकले तयार पारेर फ्लाइवायरमार्फत पठाइएको हुन सक्ने आशंका छ । अमेरिकी कम्पनीले पठाएको भनिएको त्यस्तो कागजातमा सेटलमेन्ट रकम नेपाली रुपैयाँमा र डलरको विनिमयदर उल्लेख गरिएको छ । यसबाट पनि बैंकले नेपाली विद्यार्थी तथा सेवाग्राहीसँग गैरकानुनी ढंगले महँगो दरमा डलरको हिसाब गरेर मोटो रकम असुल्दै आएको तथ्य बाहिरिएको हो ।

बैंकले सम्बन्धित ग्राहकलाई उपलब्ध गराएको भनिएको भुक्तानी निर्देशनको सारांशमा गलत अर्थको विवरण लेखिएको देखिन्छ । अमेरिकी विश्वविद्यालयमा पठाइने डलरमध्ये तीन दिनपहिले नै उताबाट विद्यार्थीलाई दिइएको विवरणमा कूल रकम नेपाली रूपैयाँमा लेख्ने गरिएको छ । त्यसपछि मनोमानी ढंगले तयार पारिएको विनिमयदर र अन्तमा विश्वविद्यालयले उल्लेख गरेको कूल अमेरिकी डलरसमेत लेखेर भुक्तानी कारोबारको सारांशको चिर्कटो उपलब्ध गराइएको हो ।

उक्त कार्य अक्षम्य वित्तीय अपराधसमेत भएको नेपाल राष्ट्र बैंकका एक जना पूर्वगभर्नरले बताए ।

फ्लाइवायरको नाममा एनएमबी बैंकले गरेको कारोबारको नियत नै खराब रहेको अरू धेरै वटा आधारसमेत भेटिएको छ । यसबीच फ्लाइवायरलाई बिचौलिया एजेण्ट बनाउँदै बैंकले सर्वसाधारणसँग लाखौं डलरको नाममा करोडौं रूपैयाँ उठाएको अन्य विवरण पनि फेला परेको छ । एनएमबीको दोहोरो विनिमयदर कारोबारबाट केन्द्रीय बैंकले जारी गरेको विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को ठाडो उल्लंघन भएको छ ।

राष्ट्र बैंकले तोक्ने सरकारी प्रयोजन र अन्य प्रयोजनको निम्ति वाणिज्य बैंकहरूले तोक्ने विनिमयदरबाहेक एनएमबीले सर्वसाधारणलाई गुमराहमा राख्दै छुट्टै विनिमयदर प्रयोग गरेको देखिन आएको छ । उक्त कार्यले सोझो अर्थमा विदेशी मुद्राको अपचलन, जालसाजी र संस्थागत ठगी गरेको प्रमाणित भएको हो ।

गत अगष्टमा एक जना नेपाली विद्यार्थीसँग अमेरिकाको क्लार्क विश्वविद्यालयमा शुल्क पठाउने क्रममा बैंकले गैरकानुनी ढंगले ३८ हजार रुपैयाँ बढी असुलेको थियो । उक्त कार्य एनएमबीको डलर अपचलन र सर्वसाधारण ठगीका शृंखलाबद्ध घटनाको एउटा प्रतिनिधि उदाहरण मात्र भएको बताइन्छ ।

वाङ्दी सोनाम लान्चिन नामका विद्यार्थी २१ हजार ५ सय ७९ अमेरिकी डलर उक्त विश्वविद्यालयमा पठाउन एनएमबी गएका थिए । अगष्ट ९ तारिखमा तीन दिनपछिको १२ तारिखको विनिमयदर पहिले नै तोकेर बैंकले फ्लाइवायरको नाममा विद्यार्थीको रकम बुक गराएको देखिन्छ । अगष्ट १२ तारिखका दिन बैंकको प्रकाशित विनिमयदर १ सय १९ रूपैयाँ २० पैसा थियो । तर, फ्लाइवायरको नाममा प्रविधिबाट बनाइएको कागजातमा त्यो दिनको विनिमयदर १ अमेरिकी डलरको १ सय २१ रुपैयाँ १३ पैसा पहिल्यै कायम गरिएको पाइयो ।

एनएमबीको डलर अपचलन र सर्वसाधारण ठगीका शृंखलाबद्ध घटनाको एउटा प्रतिनिधि उदाहरण मात्र भएको बताइन्छ ।

सोहीबमोजिम बैंकले वाङ्दीसँग ३८ हजार ७० रुपैयाँ ३४ पैसा बढी असुलेको छ । फ्लाइवायरले लिने शुल्कबारे भने कहीँ–कतै उल्लेख छैन । तर, बैंकले झण्डै दुई रुपैयाँ बढीको अर्कै विनिमयदर तोकेको अवस्थालाई नियमानुसार भनेर दाबी गरेको छ । डलर सटहीको निम्ति त्यस दिनको कारोबार सारांश फ्लाइवायरको सिष्टम जेनेरेटेड रहेको भन्ने बैंकको भनाइमा कुनै सत्यता देखिँदैन ।

फ्लाइवायरले अगष्ट १२ तारिखमा नेपालमा साटिने डलरको तीन दिन अगावै नेपाली रूपैयाँसँगको विनिमयदर कसरी तोक्यो ? तीन दिनअगावै उसले नेपाली विद्यार्थीलाई २६ लाख १३ हजार ८ सय ६० रूपैयाँको एकमुष्ट भुक्तानी रकम कसरी बतायो ? फ्लाइवायरले के आधारमा नेपाली मुद्राको विनिमयदर तोक्दै आयो ? नेपालमा डलर सटही गर्दा लाग्ने चार्ज, कमिशन र करबारे अमेरिकी भुक्तानी एजेण्ट कम्पनी कसरी विज्ञ भयो ? लगायतका धेरै थरी प्रश्न उक्त कारोबारले उब्जाएको छ ।

‘कारोबारको सारांश भनिएको पत्रमा फ्लाइवायरले नेपाली रूपैयाँमा धेरै दिनअघि नै कूल रकम लेख्नु अहिले बैंकले बदमासी गर्दै आएको शंकालाई पुष्टि गर्ने बलियो आधार हुन पुगेको छ,’ एक जना विदेशी विनिमय विज्ञले जनआस्थासँगको कुराकानीमा बताएका छन् । अगष्ट १२ तारिखका दिनको विनिमयदरबमोजिम २१ हजार ५ सय ७९ डलरको निम्ति विद्यार्थी वाङदीले २५ लाख ७५ हजार ७ सय ८९ रूपैयाँ मात्र बैंकलाई तिर्नुपथ्र्यो ।

तर, १ अमेरिकी डलर बराबर १ रूपैयाँ ९३ पैसा महँगो नक्कली विनिमयदर निर्धारण गरेर ३८ हजार बढी रकम असुलेको देखिन आएको छ । बैंकले पछिल्लो समयदेखि सर्वसाधारणलाई यसरी नै बढी रकम लिँदै आएको पनि अर्को स्रोतको दाबी छ । केन्द्रीय बैंकले बैंकिङ कारोबारको स्वीकृति दिएको कुनै पनि वाणिज्य बैंकले नक्कली विनिमयदर कायम गर्नु भनेको विदेशी मुद्राको अपचलन नै हो । साथै, उक्त कार्य अक्षम्य वित्तीय अपराधसमेत भएको नेपाल राष्ट्र बैंकका एक जना पूर्वगभर्नरले बताए ।

यी सबै कार्य आफूहरूले वैधानिक तवरले गर्दै आएको एनएमबीका अधिकारीहरूले केही पहिलेसम्म बताएका थिए । उसले प्रारम्भमा त्यस्तो कार्यको लागि राष्ट्र बैंकबाट स्वीकृतिसमेत प्राप्त गरेको दाबी गरेको थियो । तर, जनआस्थाले पटक–पटक गरेको आग्रहमा उसले त्यस्तो कुनै पनि लिखित स्वीकृति हालसम्म प्रस्तुत गर्न सकेको छैन । जनआस्थाको सम्पर्कमा आएका बैंकका एक जना कर्मचारीले केही महिनाअघि डेपुटी गभर्नर बमबहादुर मिश्रसँगको छलफलमा उक्त विषयमा मौखिक स्वीकृति लिइएको बताएका छन् ।

मिश्रसँग एनएमबी बैंकका अधिकारीहरूले त्यस्तो गम्भीर विषयमा गरेको भनिएको छलफलबारे केन्द्रीय बैंकका अन्य अधिकारीहरूले अनभिज्ञता प्रकट गरे । उनीहरूका अनुसार दुई जना डेपुटीमध्ये मिश्रको जिम्मेवारीअन्तर्गत बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग नै पर्दैन । उनी हालसम्म कायममुकायम गभर्नर समेत बनेका छैनन् । डेपुटी बन्नुअघि उनी विदेशी विनिमय व्यवस्थापन विभागको प्रमुख थिए । त्यसैले मिश्रसँग एनएमबीका उच्च अधिकारीहरूले गरेको भनिएको छलफल पनि विवादमा तानिएको छ । मिश्रले भने एनएमबी बैंकका कसैसँग पनि आफूले त्यसबारे छलफल नगरेको बताए ।

यसबीच एनएमबीका एक जना अधिकारीले जनआस्थासँगको कुराकानीमा आफूहरूले पहिलेदेखि गर्दै आएको त्यस्तो गल्ति कुकुर तिहारको दिनदेखि सच्चाएको बताएका छन् । उनको उक्त भनाइले उल्टै यसअघिका त्यस्तो कार्य गैरकानुनी र ठगीको मनोवृत्तिबाट उद्दत रहेको समेत पुष्टि भएको छ । सीईओ सुनिल केसीले पनि जनआस्थासँगको कुराकानीमा दोहोरो विनिमयदर कायम गरिएको विषयलाई नकार्न सकेनन् । भने, ‘गल्ति भएको रहेछ भने सच्चाउन तयार छौं ।’

राष्ट्र बैंकका एक जना अधिकारी भन्छन्, ‘कुनै पनि बैंकले सार्वजनिक गरेको विनिमयदरभन्दा फरक दरमा कारोबार गरेमा विदेशी मुद्रा नियमित गर्ने ऐन २०१९ बमोजिम स्वतः कारबाही हुन्छ ।’ उनी भन्छन्, ‘एनएमबीले त्यसरी नक्कली विनिमयदरको आधारमा डलर कारोबार गरेको हो भने नेपाल राष्ट्र बैंक ऐन २०५८ र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ को समेत विपरित हुन आएको छ । त्यो भनेको ऐनको दफा १०० स्वतः आकर्षित हुने हो ।’

यस्तो अवस्थामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष र सञ्चालकहरूलाई सम्बन्धित तीन वटै ऐनबमोजिम हदैसम्मको कारबाही गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । त्यसैगरी, बैंकलाई तत्काल विदेशी विनिमय कारोबारमा रोक लगाउँदै केन्द्रीय बैंकले छानबिन गर्नुपर्ने अवस्था पनि सिर्जना भएको छ ।

यसबारे केन्द्रीय बैंकका उच्च अधिकारीहरूले भने हालसम्म मुख खोलेका छैनन् । नाम नबताउने शर्तमा एक जनाले भने, ‘समाचारमा प्रमाणसहित विवरण आयो भने कारबाहीको निम्ति हामी पछि हट्दैनौं ।’ अर्कोतर्फ यसबीचमा ठगिएका सबै ग्राहकलाई ठगिएको रकम फिर्ता गराउनुपर्ने हुन्छ । उनीहरूलाई ठगिएको रकममा नियमानुसारको ब्याजसहित उक्त बैंकबाट फिर्ता गराउनुपर्ने दायित्वसमेत अहिले केन्द्रीय बैंक सामुन्ने आइपरेको छ । एनएमबीको गलत कार्य र कारोबारबारे गहिरो छानबिन गरेर उचित कारबाही गर्नुपर्ने दायित्व त झन् छँदै छ ।

को हुन् सीईओ सुनिल केसी ?

बैंकका सीईओ सुनिल केसी यसअघि स्टाण्डर्ड चार्टर्ड बैंकका कर्मचारी हुन् । उनी लामो समयसम्म त्यहाँको विदेशी मुद्रासम्बन्धी कारोबार हेर्थे । त्यहाँबाट एकाएक एनएमबी बैंकमा डेपुटी सीईओ बनेर छिरेका हुन् । पछि त्यहिँको सीईओ बने ।

राष्ट्र बैंकका हालका केही उच्चअधिकारीसँग स्टाण्डर्ड चार्टर्ड बैंकमा छँदादेखि नै राम्रो सम्बन्ध रहेका केसी विदेशी विनिमय र त्यसको कारोबारमा राम्रैसँग खेलोफड्को गर्नसक्ने व्यक्तिको रूपमा परिचित छन् । स्टाण्डर्ड चार्टर्डका एक जना कर्मचारीले भने, ‘उनी त्यतिबेलै आफूलाई विदेशी मुद्रा कारोबारमा सबै किसिमले अब्बल ठान्थे ।’

टिप्पणीहरू