कैलालीको ग्याङ फाइटमा एकको मृत्यु,अवस्था तनावग्रस्त

कैलालीको ग्याङ फाइटमा एकको मृत्यु,अवस्था तनावग्रस्त

कैलालीमा चक्कु प्रहार गरेर एक युवाको हत्या गरिएको छ । गए राति साढे १० बजे टीकापुर नगरपालिका–१ स्थित सिध्दार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा युवकको मृत्यु भएको हो ।

झडपमा ज्यान गुमाउनेमा लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवाल रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पहिलेको रिसइबीलाई लिएर दुई समूहबीच झडप भएको हो । लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले भने दुबै समूहले हप्ता असुली गर्दै आएको र सोही विवादमा झडप भएको बताउनुभएको छ ।

“लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले भने दुबै समूहले हप्ता असुली गर्दै आएको र सोही विवादमा झडप भएको बताउनुभएको छ ।”

मेयर बजगाईंका अनुसार हालसम्म चक्कु प्रहार गर्ने समूहका तीन र मृतक युवकसँगै गएका एक युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । दुबै समूहका युवाहरु विभिन्न कसुरमा यसअघि पनि प्रहरी फन्दामा पर्दै आएका हुन् ।

युवकको हत्या भएको भन्दै स्थानीयले बिहानदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीय र पीडिततका आफन्तले लम्कीचुहा नगरपालिकामा पर्ने राजमार्ग अवरुद्ध पारेका हुन् ।

अवस्था तनावग्रस्त रहेको बताउँदै मेयरले प्रहरी र स्थानीय निकायले समन्वय गरेको बताउनुभयो । घटनाको यथार्थ र रहस्य भने अझै नखुलेको उहाँको बुझाइ छ ।

टिप्पणीहरू