‘बा’ एमालेका नेता अरुलाई तह लगाएर बहिनी बोक्दै

‘बा’ एमालेका नेता अरुलाई तह लगाएर बहिनी बोक्दै

नेकपा एमालेको आसन्न १० औँ महाधिवेशनको प्रतिनिधि छनौटका लागि एमालेभित्र रस्सा–कस्सी सुरु भइसकेको छ। कार्तिक ६ गते वडा र ९ गते पालिकाको अधिवेशन सर्वसम्मत ढंगले सम्पन्न गरी एकताको सन्देश दिन खोजिरहेको एमालेमा २७ गते देशभर एकैदिन हुने महाधिवेशन प्रतिनिधि छनौटमा पनि चुनावमार्फत भन्दा पनि सर्वसम्मत ढंगले प्रतिनिधि छनौट गर्न शीर्ष नेताहरुको जिल्ला–जिल्लामा आन्तरिक सर्कुलर छ। तर सर्वसम्मत गर्ने बहानामा नेताहरुले आफ्ना नातेदार र नजिकका मान्छेहरु छनौट गर्न खोजेको कतिपयको आरोपसमेत छ।

एमाले लुम्बिनी प्रदेश सचिवालयको सोमवार बुटवलमा सम्पन्न बैठकको एउटा दृश्य-जसले कामकाजी, भूगोलमा खटिएका नेताभन्दा सरकारी जागिरे वा गोजीकै मान्छे पहिलो नम्बरमा पार्न खोजिरहेको पुष्टि भएको छ।

केन्द्रीय सर्कुलरअनुसार एमालेको लुम्बिनीसहितका ७ वटै प्रदेशले २ जना महिलासहित ५ जना प्रतिनिधि छनौट गरी पठाउने अधिकार पाएको छ ।

एमाले लुम्बिनी प्रदेश सचिवालय बैठकले पनि ५ जना प्रतिनिधि सर्वसम्मत छानेर पठाउनुपर्ने थियो। तर बैठकले छान्दा धेरै आकांक्षीहरु देखिने र त्यसमा आफ्नो ईच्छापूर्ति नहुने भएपछि ईन्चार्ज शंकर पोखरेलले ५ जना प्रतिनिधि छान्ने अधिकार प्रदेश अध्यक्ष लीला गिरीलाई दिएका छन्। एमालेका एक केन्द्रीय सदस्यका अनुसार लीला गिरीले शंकर पोखरेलको आदेशमा ५ जना प्रतिनिधि खोजीबाटै छान्ने छन्।

पूर्वमुख्यमन्त्री पोखरेलको ठाडो आदेशअनुसार अध्यक्ष गिरीले उनकै बहिनी दाङकी मेनका पोखरेलसहित ५ को नाम प्रतिनिधिका लागि छनौट गर्न लागेको नाम नबताउने शर्तमा बाँकेका एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार शंकर पोखरेलकी बहिनी एमालेको सक्रिय राजनीतिमा छैनन् ।

एमाले दाङका एक सदस्यका अनुसार दाङबाट प्रतिनिधि बन्ने संकेत नभएपछि पोखरेलकै आदेशमा प्रदेशबाट पार्न खोजिएको हो । नेकपाताका बहिनी ज्वाइँलाई पार्टी जिल्ला अध्यक्ष बनाएर विवादित बनेका पोखरेल पुनः भूगोलमा खटिएका नेतालाई लात हान्दै बहिनी बोक्ने कर्ममा लागेका छन् ।

एमाले केन्द्रीय सदस्य तथा प्रदेशस्तरका नेताहरु नेता पोखरेलको बहिनी मेनकालाई प्रतिनिधि बनाउने आदेशप्रति असन्तुष्ट बनेका छन्। उनीहरुले पार्टी काममा खटिएका नेतालाई पाखा लगाउन थालिएकोप्रति आपत्ति जनाएका छन्।

टिप्पणीहरू