सम्पत्ति विवरण

मन्त्री र प्रधानमन्त्रीको सम्पत्ति विवरण आएपछि त्यसबारे चर्चा चल्न थालेको छ । अझ सम्पत्तिभन्दा पनि चर्चा नै बढी आयो कि जस्तो लाग्छ । किनभने यसपटक सम्पत्तिको विवरण जो आयो, त्यो वास्तवमै चर्चालायक थियो । चर्चालायक भएकैले चर्चा पनि भएको होला ।

कारणचाहिँ के भने यसपटकको सम्पत्ति विवरणमा मन्त्रीभन्दा पनि उहाँहरूका श्रीमती बढी धनी देखिए । किनभने श्रीमतीलाई दाइजो नै यति दिइएको थियो कि, त्यसैको बलमा मन्त्रीहरू धनी हुनुभयो । तथापि, कसै–कसैका श्रीमती यस्ता पनि देखिए, जसको माइती अझै पनि गरिबीमा बाँचिरहेका छन् । त्यस्तो गरिब माइतीले त्यति धेरै दाइजो कसरी दियो होला ? यस्तो प्रश्न पनि उठ्न सक्छ । तर, यथार्थ के हो भने माइती खलक पहिले त्यस्तो गरिब थिएन । आफूसँग भएको सम्पूर्ण सम्पत्ति छोरीलाई दाइजो दिएपछि उनीहरू गरिब भएका हुन् । तैपनि कोही बात छैन । ज्वाइँ मन्त्री भइहाल्नुभयो । अब फेरि धनी भइहालिन्छ ।

कोही–कोही मन्त्रीचाहिँ साथीभाइले उपहार ल्याइदिएको सामान मात्रै ग्रहण गर्दागर्दै पनि धनी हुनुभएको रहेछ । कसैले टिभी उपहार पाउनुभएको छ । कसैले गाडी उपहार पाउनुभएको छ । कसैले सुन उपहार पाउनुभएको छ । धन्य, घरैचाहिँ अहिलेसम्म कसैले उपहार पाउनुभएको छैन । अब पाइहाल्यो भने पनि के आश्चर्य ! देश र जनताका लागि राम्रो काम गरेबापत कसैले एकथान घरै उपहारमा टक्र्याइदियो भने नाइँ कसरी भन्ने ? आखिर उपहार भनेको राम्रै कामका लागि पाइने न हो । नराम्रो काममा कसले उपहार दिन्छ र ? कुरो त बुझ्नुभयो होला नि !

टिप्पणीहरू