कर्णाली करिडोर निर्माण सम्पन्नको भाखा सँधै ‘एक वर्ष’

कर्णाली करिडोर निर्माण सम्पन्नको भाखा सँधै ‘एक वर्ष’

सरकारले आगामी एक वर्षभित्र कर्णालीको हिमाली जिल्ला हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने दाबी गरेको छ । तर त्योअनुसारको कामले गति लिन भने सकेको छैन ।

हुम्लालाई सडक सञ्जालमा जोड्न सरकारले २०७१ सालदेखि कर्णाली करिडोर निर्माण शुरु गरेको हो । तर काममा ढिलाई हुँदा हुम्ला सदरमुकाम सिमकोटमा अहिलेसम्म सडक पुगेको छैन ।

२०७० साल यताका सबैजसो सरकारले एक वर्षभित्र हुम्लामा गाडी पुर्याउने घोषणा गरे पनि खासै काम हुन सकेको छैन । अब १० किलोमिटर सडक बने हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख इन्जिनियर बिसुनदास लामाले जानकारी दिनुभएको छ ।

१० किलोमिटमध्ये ७ किलोमिटरमा चट्टान फुटाउन सरकारले एक महिनाअघि नै नेपाली सेनालाई जिम्मा दिने निर्णय गरिसकेको छ । बाँकी ३ किलोमिटरमा भने ठेकेदारमार्फत् काम हुने लामाको भनाइ छ ।
कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि सिमकोटसम्मको १ सय ७३ किलोमिटरमध्ये १ सय ६३ किलोमिटरको ट्रयाक खुलिसकेको छ ।

खुलालुदेखि सरिसल्लासम्मको १ सय २३ किमिको निर्माण कार्य नेपाली सेनाले गरेको हो । बाँकी ४० किलोमिटरमा सडक डिभिजन कार्यालयमार्फत् ट्रयाक खोलिएको हो ।

अहिलेसम्म कर्णाली करिडोर निर्माणमा १ अर्ब ५ करोड ७७ लाख रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

करिडोरमा भारी हिमपातका कारण मंसिरदेखि चैतसम्म काम गर्न निकै समस्या हुने गरेको छ । अर्कोतर्फ ठाउँ ठाउँमा भेटिने कडा चट्टानका कारण पनि सडक निर्माणमा समस्या उत्पन्न भएको निर्माण पक्षको भनाइ छ ।

सरकारले भारतको रुपैडियादेखि चीनको हिल्सासम्म सडक सञ्जालले जोड्न कर्णाली करिडोरको अवधारणा अघि सारेको हो ।

टिप्पणीहरू