मन्त्री हुनासाथ माथापच्ची

मन्त्री बन्दाबन्दै मोहम्मद इस्तियाक राइन झन्झटमा परेका छन्, १७ लाखको उजुरीले ।  यसरी बहाली हुँदाहुँदै शहरी विकास मन्त्रीलाई रिंगाउने उजुरी हो,  हाल संघीय संसद् सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अनियमितता ।

संघीय संसद्को बैठक बस्ने वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा त्यहँँका हाकिमको अनियमितताको पराकाष्ठा नाघेको उजुरी मन्त्रालयमा परेसँगै हालै मात्र चार सदस्यीय छानबिन समिति बनेको छ । यसरी राज्यको सम्पत्तिमा तर मार्ने व्यक्ति हुन् पुरुषोत्तम अमात्य । उनी पूर्वप्रम सुशील कोइरालाको आशीर्वादमा त्यहाँ पुगेका हुन् । गत वर्ष निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा करारमा ६ कर्मचारी भर्ती गरिएको र  करारमा भर्ती गर्ने नाममा उनीहरूबाट १७ लाख रुपैयाँ घुस मागिएको विषयले अहिले चर्चा पाउन थालेको छ । यसरी त्यहाँ करारमा नियुक्त पाएका कर्मचारी हुन् मनिता श्रेष्ठ, मनमाया गुभाजु, नारायण श्रेष्ठ, मनोज कार्की, वसन्त शर्मालगायतबाट १७ लाख असुली गरिएको स्रोतको भनाइ छ । यही बीचमा निर्वाचन आचारसंहिता लागेको र ती कर्मचारी निकाल्न खोजिएपछि उनले १७ लाख घुस लिएको प्रकरण बाहिरिएको थियो । उनीविरुद्ध दर्जन बढी उजुरी परेसँगै यो प्रकरणबारे अनुसन्धान गर्ने भन्दै  सहरी विकास मन्त्रालयले चार सदस्यीय समिति नै बनाएको बुझिएको छ  ।

मन्त्रालयका सहसचिव नवराज प्याकुरेलको संयोजकत्वमा गठित समितिका सदस्यमा उपसचिव हरिप्रसाद शर्मा, लेखा अधिकृत निराजन शर्मा र नासु युवराज गिरी छन् ।

केन्द्रका प्रमुख मन्त्रीभन्दा पनि बढी सुविधाभोगी भएको कर्मचारी बताँउछन् । उनले केन्द्रमा तीन÷तीन वटा सवारीसाधनसमेत दुरुपयोग गरिरहेको त्यहाँका कर्मचारीले बताउने गरेका छन् । बा.२ झ २२७४ नम्बरको कार, बा.२ञ २२७४, बा.२ब ९८ मोटरसाइकल प्रयोग गर्दै आएका छन । यस्तै, उनले केन्द्र परिसरमा रहेका रुद्राक्ष, पीपललगायत रूख काटेर दुरुपयोग गर्दै आएका छन् । आफ्ना कर्तुत लुकाउन उनले अधिकृतलाई हातमा लिएका छन् । केन्द्र स्रोतका अनुसार यसका लागि त्यहाँका लेखा अधिकृत विष्णु शर्माका भाइ वसन्तलाई करारमा नियुक्त गरिएको छ । शर्मा नेपाल राष्ट्रिय कर्मचारी महासंघका निजामतीतर्फका पूर्वकोषाध्यक्ष हुन् । अमात्यको ज्यादतीले सीमा नाघेपछि त्यहाँका प्रशासकीय अधिकृत शशि खनालले केही अगाडि राजीनामा लेखेको बताइन्छ । यिनीहरूलाई बचाउन सहरी विकास सचिव दीपेन्द्रनाथ शर्मा सक्रिय छन् । उनी त्रिपाल काण्डवाला सचिव हुन् । 

टिप्पणीहरू