तिहारलगत्तै किसानलाई धान भित्र्याउने चटारो

तिहारलगत्तै किसानलाई धान भित्र्याउने चटारो

-शंकर श्रेष्ठ

धादिङका किसानलाई अहिले मंसिरे धान भित्र्याउने चटारो छ । तिहारमा चेलीमाइती भेटघाटको खुसियालीसँगै किसानहरु वर्षभरीको निम्ति प्रमुख खाद्यान्न धान भित्र्याउन व्यस्त देखिएका हुन् ।

असार र केहीले साउनमा रोपेको धान धमाधम काटिँदैछ । केहीलाई धान काट्ने चटारोले छोपेको छ । केही समयअघिको हावाहुरीसहितको बेमौसमी वर्षाले पाक्नै लागेको धानमा नोक्सानी परेको छ ।यो वर्ष असारमा वर्षा राम्रै भएका कारण समयमा नै धान रोप्न भ्याएका किसान राम्रो उत्पादन हुने आशामा थिए । तर, बेमौसमी वर्षाका कारण सोचेअनुसार धान भित्र्याउन नपाएको किसानहरू बताउँछन् ।

‘काट्ने बेलाको धान ढल्यो । तर, नोक्सानी भने धेरै हुन पाएको छैन,’ नीलकण्ठ नगरपालिका–८ का किसान सोम्बर तामाङले भने, ‘बेमौसमी वर्षाले ठूलो क्षति पुर्याउँछ कि भन्ने चिन्ता थियो । धन्न हावाले ढालेको धान पनि केही उठ्यो । त्यसैले धेरै क्षति हुन पाएन ।’धादिङमा कुल ११ हजार हेक्टर क्षेत्रफलमा मंसिरे धान खेती हुँदै आएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष केही मात्रामा उत्पादन वृद्धि हुने अनुमान गरिए पनि बेमौसमी वर्षाका कारण अपेक्षा गरिएअनुसार उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्र धादिङका प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभएको छ ।‘गत वर्षभन्दा यो वर्ष असारयता मौसमले साथ दिएकाले उत्पादन राम्रो हुने अनुमान थियो,’ उहाँले भन्नुभयो, ‘काट्ने बेला हुँदा बेमौसमी हावाहुरी र पानी आयो, धान ढल्यो । अनुमान गरिएअनुसारको उत्पादन भित्र्याउन सकिएन ।’

टिप्पणीहरू