सुन छिराउने काइदाको सुराक

नभेटिएको ३३ किलो सुनकै कारण जिन्दगी चम्काउने सपना सजाएका तीन जनाले आफूलाई यस धर्तीमा टिकाइराख्न सकेनन् र दर्जनौं होनहारले हिरासतको हावा खाइरहेका छन् ।

सफलता मिलेको खण्डमा केही दिनमै कसैलाई करोडपति बनाउने र असफलता व्यहोर्नासाथ मृत्युसमेत व्यहोर्नुपर्ने तथा पक्राउ परे जीवन नै जेलमा सड्नसक्ने सुन भिœयाउने अन्तर्राष्ट्रिय विमानस्थलका गोप्य बाटाबारे जान्ने हो ? जनआस्थाले विमानस्थलबाटै वर्षौंदेखि सुटुक्क सुन भिœयाउने आधा दर्जनभन्दा बढी बाटा र तरिकाको खोजतलास गरेको छ । अन्तर्राष्ट्रिय उडानबाट नेपाल आएकामध्ये सुटुक्क सुन भिœयाउने धन्दामा लागेका यात्रुले सबभन्दा पहिलो बाटो रोज्ने गरेका छन्, आगमन र बहिर्गमनबीचको ट्रान्जिट प्वाइन्ट । आगमन र बहिर्गमन कक्षबीच एउटा बाटो छ जसबाट दुवै कक्षमा ओहोर दोहोर गर्न सकिन्छ । सुन लिएर आउने यात्रु यताउता गर्दै सुटुक्क बहिर्गमन कक्षमा छिर्छ सुनसहित । सुन भएको झोला सम्हाल्न पहिले नै बनाइएको योजनाबमोजिम बहिर्गमन कक्षमा कोही तयार भएर बसिसकेको हुन्छ । स्वदेश भित्रिएको यात्रु बहिर्गमन कक्षमा पुगेर जाँच र परीक्षण नगरी बाहि¥याउनुपर्ने सामान भएको झोला अर्कोलाई बुझाएर फेरि आगमन कक्षमा आउँछ । ऊ अरू सामान्य यात्रुझैं पासपोर्टमा छाप लगाउनुपर्नेलगायत भन्सार जाँच पास भई बाहिरिन्छ । बहिर्गमन कक्षबाट सुन भने बाहिरिइसेको हुन्छ ।

हङकङ, बंैकक वा दुबईतिरबाट सुन ओसार्ने समूहका यात्रुले अपनाउने अर्को बाटो भनेको अलिक घुमाउरो छ । उनीहरू सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लन्छन् र त्यहीँबाट नबाहिरिइकन सोझै दिल्ली वा पटना जाने जहाज चढ्छन् । भारतबाट उनीहरू सामानसहित फेरि नेपाल नै फर्कन्छन् र बहुमूल्य सामान जहाजमै छाड्छन् । यी सबै योजना र व्यवस्थापन पहिले नै मिलाइसकिएको हुन्छ । त्यसपछि जहाज केही समयका लागि ह्यांगरमा लगी राखिन्छ । त्यति नै बेला सुन जहाजबाट निकालेर सुटुक्क बाहिर ल्याइन्छ ।
अर्को तरिका भनेको ३३ किलो सुन भिœयाउन गोरे र श्याम खत्रीहरूले प्रयोग गरिएको शैलीसँग पनि मिल्छ । जहाजबाट ओर्लियो । पूर्वयोजनाबमोजिम सुन भएको झोलासहित यात्रु नै वा अरू सुरक्षाकर्मी खुरुखुरु आगमन कक्षसँगै सटेको विमानस्थलमा कानुन कार्यान्वयन गर्न खटाइएको एसएसपीको कार्यकक्षमा छि¥यो । अनि यो सुन प्रहरी आफैंले नै गाडीमा राखेर बाहिर पु¥याइदिन्छ, खेल खत्तम !

तेस्रो बाटो भनेको भन्सारका कर्मचारी र प्रहरी समेतको मिलेमतोमा वैधानिक बाटोबाटै सुन भिœयाउने हो । सुन भिœयाउने योजनाबमोजिम बाहिरबाट सुन ल्याउने उडान र मानिस त मिलेमतोमा रहेका कर्मचारी र प्रहरी हाकिमलाई पूर्वजानकारी हुने नै भयो । त्यतिबेला प्रहरी कमाण्डरले सेटिङमा नपरेका डिएसपीसम्मलाई अनेक बहानामा अन्तै काम लगाएर खटाइदिन्छ । कमाण्डरले नै भनेपछि ऊ अन्तै जाने भइहाल्यो । त्यति नै बेला भन्सारका कर्मचारी अनुपस्थित भइदिन्छन् वा सुनवाला झोला भन्सार जाँचबिनै कर्मचारी नभएका बेला बाहिरिएपछि फेरि कर्मचारी आएर जाँचको नाटक गर्ने गर्छन् । त्यसैले पनि होला विमानस्थलजस्तो संवेदनशील स्थानका कार्यालय भन्सारमा होस् वा अध्यागमनमा जहिल्यै पनि दरबन्दीका आधा कर्मचारी पनि पठाइएका हुँदैनन् । तर, यही तरिका अपनाएर बाहिरिएको ३४ केजी सुन अपराध अनुसन्धानमा भएका बेला नवराज सिलवालले समातिदिएपछि यो बाटो बन्द भयो ।

सुन भिœयाउने अर्को उपाय हो हजाइजहाजबाट झर्नासाथ नै सुन भएको झोला वा पोको पूर्वयोजनाबमोजिम सुटुक्क लोडरलाई दिनु । जहाजबाट झरेर आउँदा नै दक्षिणतर्फ एउटा आइरन गेट छ । त्यहाँ आएपछि मिलेमतोमा रहेका सुराकीले खुसुक्क लोडरलाई तोकिएको मानिसको झोला वा पोका समाउन लगाउँछ । लोडरले पनि बाटामै हिँड्दाहिँड्दै झोला वा पोका खुसुक्क लिन्छ र अर्को बाटो तताउँछ ।
सुन तस्करीको अर्को तर विश्वव्यापी तरिका भनेको कूटनीतिक व्यक्तित्व र रातो पासपोर्टको दुरूपयोग हो । रातो पासपोर्ट भएको मानिसलाई भन्सारमा जाँच गरिँदैन । यस प्रावधानकै फाइदा उठाएर सुटुक्क सुन यताउता गरिन्छ । नेपालमा पनि केही वर्षअघि केही विदेशी कूटनीतिज्ञ यसैगरी समातिएका थिए । सुन तस्करीका यी परम्परागत बाटा र तरिकालाई समेत छक्याएर गोरेले भने अर्कै शैलीबाट सुन तस्करी गरिरहे । उनको सञ्जाल यति बलियो र परिपक्व थियो कि राज्यले यसको भेउ पनि पाएको थिएन, जसलाई अवैध गतिविधि रोक्न राज्यले खटायो ऊ आफैं यसमा संलग्न भयो । टनका टन सुन तस्करीको यो गिरोह र यसले मच्चाएका काण्ड उनीहरूबीचकै अविश्वास र पोलापोलको कारण मात्र सार्वजनिक भएको हो ।

टिप्पणीहरू