श्रीमानहरु यौटा लाइनतर्फ सोझिँदै

श्रीमानहरु यौटा लाइनतर्फ सोझिँदै

झण्डै तीन सातादेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिष्कार गरेको घटनाले अर्कै रुप लिन थालेको छ । प्रारम्भमा हौसिएर श्रीमानहरुले आफ्ना प्रधान श्रीमानको राजीनामा माग्दै थालेको आन्दोलनको आगामी निकास प्रष्ट छैन ।

हिजो इजलास बस्नुअघि श्रीमानहरुको बैठकबारे एक जना श्रीमानले भन्नुभयो,‘सर्वोच्चका न्यायाधीशहरु सँधै बेञ्च नबसेर समाधान निस्केला ?’ उता वकिलहरुको समेत प्रतिष्ठाको बिषय र न्यायाधीशहरुबीच पनि सिनियर जुनियरको भिन्नता देखिन थालेकाले श्रीमानहरुले थाल्नुभएको इजलास बहिष्कारको आन्दोलन कता मोडिने हो भन्न सकिने स्थिति छैन ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले राजीनामा नदिने बताइसक्नु भएको छ । त्यस्तो अवस्थामा महाभियोगबाहेक अरु विकल्प देखिँदैन । तर राजनीतिक दलहरु महाभियोगको लागि तत्पर छैनन् । कथमकदाचित राणाको बिरुध्द महाभियोग दर्ता भएको अवस्थामा निमेषभरमा विपक्षी दल एमालेले समेत अन्य चार जना न्यायाधीशविरुध्द त्यस्तै अभियोग दर्ता गर्ने सम्भावना ज्युँको त्युँ देखिएकोमा श्रीमानहरु कन्भिन्स हुनुभएको स्रोतको दाबी छ ।

महाभियोगको अस्त्र देखाउँदै प्रधानन्यायाधीश हटाउँदा भोलिको दिनको अवस्था मूल्याङ्कन गर्न न्यायाधीशहरुले सबैले सबैलाई कानेखुशी गर्न थाल्नुभएको छ ।

सर्वोच्चको उच्च स्रोतले भन्यो, ‘राणालाई केही गरेमा ओलीले अरुलाई पनि क्षणभरमा महाभियोग लगाउँछन् । न्यायाधीशहरु त्यसबारे विज्ञ हुनुहुन्छ । त्यसो भएमा त्यहि दिनबाट न्यायालय सिध्दिने भएकाले उहाँहरु गम्भीर हुनुुभएको छ । अहिले श्रीमानहरुबीच महाभियोग भनेको राजनीतिक हतियार हो । यसलाई अदालतभित्र छिर्न दिन हुँदैन भन्नेमा सहमति जुटेको छ ।’

स्रोतले दोश्रो वरियताका न्यायाधीश दीपक कार्कीप्रति एमाले अध्यक्ष ओली सतप्रतिशत नकारात्मक रहेकोमा पनि सबै न्यायाधीशलाई जानकारी रहेको बताएको छ । कार्कीलाई प्रधानन्यायाधीश बन्न नदिन एमालेले जस्तोसुकै मूल्य चुकाउने संकेतसमेत उहाँहरुले पाउनुभएको बताइन्छ ।

सर्वोच्च अदालत र न्यायालयभित्र रहेको बेथिति र भद्रगोलको अवस्थाबारे सबैजना विज्ञ भए पनि न्यायाधीशहरुबाट त्यस्तो बेथिति रोक्न उपयुक्त मोडल हालसम्म नआएकोबारे हिजो राम्रैसँग चर्चा भएको हो । न्यायाधीशहरु सपना मल्ल प्रधान र अनिल सिन्हाले जे जे भए पनि अदालतमा राजनीतिक हस्तक्षेप चाहिँ हुन दिनुहुँदैन भन्नेमा चनाखो रहन सबैलाई आग्रह गर्नुभएको बुझिएको छ ।

हिजोको बैठकमा मूलतः बेञ्च बहिष्कारबाट समस्या समाधान हुँदैन,एउटा निश्कर्ष निकालौं भन्नेमा जोड दिइएको थियो । एक जना न्यायाधीशको बुझाईमा हिजोको बैठकमा सबैको ‘टोन डाउन’ भएको छ ।

हिजोको बैठकमा सहभागी अर्का एक जना न्यायाधीशले भन्नुभयो, ‘बेञ्च राखेर अघि बढौं भन्नेमा सबैजसो सहमत हुन थालेको संकेत आएको छ । बेञ्चमा नबस्ने वा इजलास बहिष्कार गर्ने मोडालिटीले कसैलाई पनि हित नगर्नेमा उहाँहरु सहमत हुन थाल्नुभएको छ । हिजो सोझै नभने पनि अब एकाध दिनमा बेञ्च राख्ने र एउटा निकास निकाल्ने भन्ने लाइनमा कुरो अघि बढेको छ ।’

हुन पनि तिहार अघिसम्म न्यायाधीशहरुले राजीनामाबाहेक निकासको कुनै पनि विकल्प सुन्न चाहनुभएको थिएन । तर हिजोको छलफलमा विकल्पबारे कुरो हुनुलाई कालो बादलमा देखिएको चाँदीको घेरा भनिएको छ । स्रोत भन्छ, ‘अबको केही दिनभित्र विकल्प ल्याएर समस्या समाधान गर्नेतर्फ श्रीमानहरु मौन समर्थनमा पुग्नुभएको छ ।’

सर्वोच्चका डेढ दर्जन न्यायाधीशहरुमध्ये सबैभन्दा मुखर चाहिँ दुई जना देखिनुभएको उच्चस्रोतको बुझाई छ । उहाँहरुले हिजोसम्म पनि राणाको राजीनामा नभई हुँदैन भन्ने कोणबाट आफ्ना धारणा राख्नुभएको छ ।

न्यायाधीश कुमार चुडाललगायतले ‘रिजनेबल सोलुसन’ भन्न थाल्नुभएको छ । धेरै जना न्यायाधीशले हिजो पनि छुट्टछुट्टै धारणा बनाएर अघि नबढौं,सबै एउटा धारणामा अघि बढौं भन्नुभएको बताइन्छ । हिजोको बैठकमा मूलतः बेञ्च बहिष्कारबाट समस्या समाधान हुँदैन,एउटा निश्कर्ष निकालौं भन्नेमा जोड दिइएको थियो । एक जना न्यायाधीशको बुझाईमा हिजोको बैठकमा सबैको ‘टोन डाउन’ भएको छ ।

सबैले आ–आफ्ना विकल्प राखौं भनेर कुरा राखेपछि अब चाहिँ समाधान निस्कन्छ भन्नेमा न्यायाधीशहरु आशावादी देखिनुभएको हो । उहाँहरुले लगातार बेञ्च बहिष्कार गरेर समस्या समाधान नहुने बरु न्यायालयमा बाँकी रहेको अलि अलि साख पनि भाँडिन सक्नेतर्फ विशेष चासो दिनुभएको छ ।

यता नेपाल बारमा भने चर्को आन्दोलन गर्ने भन्ने धारणा बलियो हुँदै गएको छ । गत फागुन २३ गतेको सर्वोच्चको फैसलाले अहिले बारलाई चर्को आन्दोलनमा उद्यत गराउन सहयोग पुगेको न्यायालयभित्रै अनौपचारिक छलफलमा कुरो उठ्ने गरेको छ ।

त्यसैले महाभियोगको अस्त्र देखाउँदै प्रधानन्यायाधीश हटाउँदा भोलिको दिनको अवस्था मूल्याङ्कन गर्न न्यायाधीशहरुले सबैले सबैलाई कानेखुशी गर्न थाल्नुभएको छ । आफूहरुलाई छुट्याएर राजनीतिक हतियार प्रहार गर्ने प्रवृत्ति बढ्दै गएमा विभिन्न राजनीतिक लेप लागेकालाई छानि छानि राजनीतिक हतियार प्रयोग हुन सक्नेतर्फ सजग हुन भनिएको छ ।

अहिलेको अवस्थालाई थप चर्काउनु भनेको न्यायालयको भद्रगोल अवस्थालाई अझ गञ्जागोल र जटिल बनाउने प्रयासको रुपमा बुझ्नुपर्ने भन्दै श्रीमानहरु द्विपक्षीय छलफलमा जुट्नुलाई सकारात्मक रुपमा लिन थालिएको छ ।

टिप्पणीहरू