चाडबाड नसकिँदै पशुपतिमा धर्ना

चाडबाड नसकिँदै पशुपतिमा धर्ना

पशुपति क्षेत्र विकास कोषको कार्यालयमा आजदेखि कर्मचारीले धर्ना कार्यक्रम राखेका छन् । गत साउन महिनामा निश्कासित कर्मचारीको पुनः नियुक्तिको माग राखी धर्ना कार्यक्रम गर्न लागिएको कर्मचारीहरुले बताएका छन् । उनीहरुले बिहान १० बजेदेखि कोषको कार्यालय,वनकालीमा धर्ना दिन लागेका हुन् ।

उता, नेपाल बार एसोसियसनले आज पनि पाखुरामा कालोपट्टी बाँध्ने कार्यक्रम राखेको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको राजीनामा माग गर्दै उनीहरुले सर्वोच्चका अन्य न्यायाधीशलाई इजलासमा नबस्न आग्रह गरेका छन् ।

कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर सर्वोच्च अदालतको प्राङ्गणमा साढे १० बजेदेखि बिरोध गर्न लागेका हुन् । यस्तो कार्यक्रम हिजो र तिहारअघि पनि गरिएको थियो ।

जनता स्वतन्त्र आयोग महाअभियान (सामाजिक अभियन्ता तारा बराल, मनिष मानव) ले नेपालको न्याय प्रणाली र नेपाली राष्ट्रियता जोगाउन भन्दै माइतीघर मण्डलामा प्रदर्शनको आयोजना गर्न लागेका छन् । उनीहरुले बिहान साढे १० बजे प्रदर्शन कार्यक्रम राखेका हुन् ।

आजै नेकपा (विप्लव) निकट जनवर्गीय संगठनहरूले नेपालको सुस्ता क्षेत्रमा भारतले गरेको हस्तक्षेपविरुद्ध बिरोध प्रदर्शन कार्यक्रम राखेका छन् । कार्यक्रम दिउँसो २ बजे माइतीघर मण्डलामा हुनेछ ।

नेपाली काँग्रेसको मुख्यालय, सानेपामा जारी रिले अनसन तथा धर्ना कार्यक्रम आज पनि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुँदैछ । क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध हुँदै आएको उक्त बिरोध कार्यक्रमले १ सय दिन नाघेको छ ।

यता सीके राउत नेतृत्वको जनमत पार्टीले कात्तिक १८ गतेदेखि अध्यक्ष डा. सीके राउतको जीवनीमा आधारित भिडियो प्रदर्शन गर्दै आएको छ । कार्यक्रम आगामी शुक्रबारसम्म हुने बताइएको छ । साथै जनमतले भोलिको छठको लागि छठघाटमा सरसफाई कार्यक्रम राखेको छ ।

राष्ट्रवादी नागरिक समाजले राजतन्त्र पुनर्बहालीका लागि नागरिकसभा गर्ने भएको छ । सभा मध्यान्ह १२ बजे बसन्तपुर डबलीमा हुनेछ ।

टिप्पणीहरू