सबैभन्दा ठूलो गाउँ,अपराध शून्य ठाउँ

सबैभन्दा ठूलो गाउँ,अपराध शून्य ठाउँ

हुम्लाको नाम्खा गाउँपालिका तीन वर्षदेखि कुनै पनि किसिमका आपराधिक घटना नभएपछि सुरक्षित स्थल भएको छ । नाम्खा–६ स्थित प्रहरी चौकी लिमीमा यसवीच कुनै पनि उजुरी परेको छैन ।

उजुरी शून्य हुँदा प्रहरीले चौकीको सुरक्षा र सामान्य गस्तीको काम मात्र गरिरहेको बताइएको छ । गाउँमा झैझगडा,अपराध,चोरीलगायत कुनै पनि उजुरी नपरेपछि प्रहरीले चौकी सुरक्षाको काम मात्र गरिरहेको हो ।

चौकीमा यो वर्षसमेत हालसम्म एउटै उजुरी परेको छैन । गाउँका सामान्य विवाद गाउँमै मिल्ने भएकाले पनि प्रहरी कार्यालयमा उजुरी नै नपर्ने वडाध्यक्ष पाल्जोर तामाङले बताए । लिमीका स्थानीयको असल व्यवहारकै कारण गाउँमा आपराधिक घटना नभएको उनको दाबी छ ।

गत जेठमा जिल्ला प्रहरी कार्यालयबाट आएका चौकी इञ्चार्ज कृष्णजंग शाहले पनि तीनवटै गाउँबाट अहिलेसम्म कुनै उजुरी नआएको जानकारी दिए । यो वर्ष प्रहरी चौकीले लुकीछिपी जडीबुटी संकलन गर्न आएका लिमी बाहिरका व्यक्तिलाई भने पक्राउ गरेको थियो ।

भारी हिमपातका कारण अत्यधिक चिसो हुने भएपछि स्थानीय अधिकांश हरेक वर्ष कात्तिकदेखि चैतसम्म बेंसीतिर बसाइ सर्छन् । चिसोका कारण लिमी प्रहरी चौकीका प्रहरीहरूलाई पनि कात्तिकदेखि जेठसम्म जिल्ला कार्यालयमा बोलाउने गरिएको छ ।

यो वर्ष छिट्टै हिउँ पर्न थालेकाले लिमी चौकीमा कार्यरत प्रहरीलाई सदरमुकाम बोलाउने तयारी गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी हेरम्भ शर्माको भनाइ छ ।

नाम्खा नेपालको सबैभन्दा ठूलो गाउँपालिका हो । यसको क्षेत्रफल २ हजार ४ सय १९ दशमलव ६४ वर्ग किलोमिटर छ ।

टिप्पणीहरू