विधि ठोस, तजबिजी नहोस्

जनताले निकै ठूलो आशा राखेको सरकारले ल्याएको बजेटसम्बन्धमा विभिन्न कोणबाट चर्चा परिचर्चा चलिरहेको छ । अनौठो यो छ कि यसको आलोचनामा विपक्षीभन्दा पनि सत्तापक्षकै स्वर चर्को छ । आरोप–प्रत्यारोपको एउटा शृंखला अझै सकिएको छैन भने बजेट बनाउनेहरुले नै भन्न थालेका छन्, ‘कर्मचारीकै हैसियतमा बसेर कर्मकाण्डी र परम्परागत किसिमको बजेट बनाउनु थियो भने हामी नै छँदै थियौं नि ! अर्को कर्मचारीलाई मन्त्री बनाएर किन नियुक्त गर्नुप¥यो ? यदि राजनीतिक एजेण्डाअनुसार योजना अघि सार्न र निर्णय गर्न नसक्ने हो भने राजनीतिक पदको लोभ किन गर्नुप¥यो ?’ उनीहरू मन्त्रीतिर औंला तेस्र्याउँदै खुल्लै रूपमा भन्छन्, न नयाँ काम गर्ने आँट छ न निर्णय क्षमता नै देखिन्छ । न त पार्टीको चुनावी घोषणपत्रसँग मेल खाने खालकै बजेट आयो ।’

के पनि प्रश्न गर्न थालिएको छ भने ५ लाखलाई रोजगारी दिने भनिएको छ तर यति धेरै रोजगारी कसरी सिर्जना हुन्छ ? जलविद्युत् परियोजनाको निर्माण, उद्योग–पर्यटनको विकास गर्ने मोडालिटी के हो ? स्थानीय तहलाई कर्मचारी चाहिएको छ । त्यो आवश्यकता पूर्ति गर्ने विधि के हो ? कृषिमा गत वर्ष ५ अर्ब छुट्याइएकोमा यसपटक चार अर्ब विनियोजन गरिएको छ । यसरी कसरी कृषिले रोजगारी सिर्जना गर्न सक्छ ? फेरि कृषिमा पैसा खन्याएर मात्र रोजगारी बढ्छ भन्ने हो भने गत वर्ष पर्याप्त रोजगारी बढेको पनि देखिएन । यति लगानी गर्दा त्यसले यति संख्यामा रोजगारी सिर्जना गर्छ भन्ने कुनै सिद्धान्त पक्कै पनि होला ।

अर्थशास्त्र पढेका ‘अर्थमन्त्री’लाई यति कुरा थाहा हुनुपर्ने हो । तथ्यांक विभागले भन्छ, हरेक वर्ष नेपालमा ५ लाख जना काम गर्न सक्ने उमेर समूहमा प्रवेश गर्छन् । यदि, बर्सेनि ५ लाख रोजगारी सिर्जना गर्ने हो भने यसबाट त देशमा बेरोजगार कोही नै नरहने देखियो । तर, के त्यस्तो अवस्थाको कल्पना मात्र गरेर हुन्छ ? त्यसलाई साकार पार्ने कार्यक्रम बजेटमा हुनु पर्दैन ? यता, बजेटमा मात्र होइन एकीकरणपछिको पार्टीमा पनि समस्या देखेपछि पूर्वमाओवादी नेताहरुले भन्न थालेका छन्– हाम्रो पार्टीमा मात्र त्यस्तो बेहाल होला भन्ने लागेको थियो, एमालेभित्र पनि विधिविधान झन् लथालिंग रहेछ । बाहिरबाट त निकै व्यवस्थित देखिन्थ्यो तर तजबिजी त्यता पनि हाबी देखियो । त्यो सबै कुरालाई हेरिरहेका वाम समर्थकचाहिँ कामना गरिरहेका छन्, एकीकृत पार्टी पनि बजेटझैं भद्रगोल नबनोस् । कम्तीमा एउटा गर्वलाग्दो वाम पार्टीका रूपमा देख्न पाइयोस् ।

टिप्पणीहरू