महानिरीक्षकले प्रहरी कर्मचारीलाई भन्नुभयो ‘आफ्नो परिवारको पनि ख्याल गर्नु’

महानिरीक्षकले प्रहरी कर्मचारीलाई भन्नुभयो ‘आफ्नो परिवारको पनि ख्याल गर्नु’

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा नाकामा हुने गैरकानुनी काम, लागूऔषधको अवैध कारोबारलगायतका अपराध निर्मूल पार्न विशेष कार्ययोजना तर्जुमा गर्नुपर्ने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आज प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रहरीले गरेका हरेक गतिबिधि संगठनसँग जोडिने भएका कार्यसम्पादन गर्दा इमान्दार र पारदर्शी हुन उहाँले आफ्ना कर्मचारीलाई निर्देशन दिनुभयो । प्रहरी जीवन सार्वजनिक जीवन भएकाले आफ्नो आचरण र व्यवहारमा सुधार ल्याउन, नम्र भाषा प्रयोग गर्न र खुसी साथ विना भेदभाव नागरिकको सेवामा खटिन महानिरीक्षक क्षेत्रीले आग्रह गर्नुभयो ।

उहाँले अपराध नियन्त्रण तथा सफल अनुसन्धान, तस्करी तथा सीमा अपराध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण लगायत जनसरोकारका कार्य सञ्चालनका क्रममा स्थानीय प्रशासन, सरकारी वकिलको कार्यालय, अन्य सुरक्षा निकायहरु, स्थानीय तहलगायत सरोकारवाला निकायहरुसँग समन्वय गरेर काम गर्नुपर्ने पनि बताउनुभयो ।

आन्तरिक मनोबल उच्च राख्न प्रहरी नियमावलीमा भएका व्यवस्था लागू गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक क्षेत्रीले आफ्ना परिवारलाई पनि महत्व दिन कर्मचारीहरुलाई भन्नुभयो । सो क्रममा उहाँले जिल्ला प्रहरी कार्यालय सर्लाही परिसरको निरीक्षणसमेत गर्नुभएको थियो ।

टिप्पणीहरू