आन्दोलन गरी न्याय पाइन्न ? दोषी समातिन्न ?

आन्दोलन गरी न्याय पाइन्न ? दोषी समातिन्न ?

एक महिलालाई बेपत्ता पारेर करोडौं मूल्यको जग्गा हडपेको आरोपमा प्रहरीले ६ जनालाई समातेको छ । बाँके प्रहरीले नेपालगन्जकी निर्मला कुर्मीलाई अपहरण गरी हत्या गरेको आरोपमा उनीहरुलाई आज पक्राउ गरिएको हो ।

बाँकेका डीएसपी मधुसुदन न्यौपानेका अनुसार निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा रमेश थापा,पार्वती बिष्ट,कृष्णमुरारी सिंह,उर्मिला कनोजिया,अमरलाल कुर्मी र धीरेन्द्र सिंह पक्राउ परेका हुन् । अर्का आरोपित कुँवर बब्बन सिंहलाई भने ८० वर्ष भएकाले अदालतले उमेर हदम्यादका कारण साधारण तारेखमा छोडेको छ ।

अभियुक्तमध्ये पूर्वसांसद बादशाह कुर्मीले भदौमा आफैं जिल्ला प्रहरी कार्यालयमा आएर बयान दिएकाले हाजिरी जमानतमा छाडिएको थियो । अदालतले सात दिनको म्याद थप गरेकाले पक्राउ गरिएका ६ जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको डीएसपी न्यौपाने बताए ।

तारेखमा छुटेका दुई जनामाथि पनि मुद्दा परेकाले अनुसन्धान थालिएको उनको भनाइ छ । निर्मलाको भारतमा विवाह भएकाले उनको विवाह र मृत्यु दर्ताका प्रमाणपत्रमाथि समेत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबी घटनामा छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाएको लामो समयपछि आरोपित पक्राउ परेका हुन् । निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले किर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो ।

टिप्पणीहरू