अदालतको अप्ठ्यारो छिटो सल्टाउन आग्रह

अदालतको अप्ठ्यारो छिटो सल्टाउन आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले न्यायालयमा देखिएको विवाद थप लम्ब्याउन नहुने बताउनुभएको छ । सरकारले सर्वोच्च अदालतमा देखिएको अहिलेको विवादलाई गम्भीर र संवेदनशील घटनाका रुपमा हेरेको उहाँको भनाइ छ ।

गृहमन्त्री बालकृष्ण खाँणले सरकारले न्यायालयभित्र देखिएको विवाद छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको पनि सुनाउनुभयो । आज जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले न्यायपालिका,कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको हिसावले पनि स्वतन्त्र ढंगले चल्ने गरेको स्पष्ट पार्नुभयो ।

‘न्यायपालिका,कार्यपालिका र व्यवस्थापिका ३ वटा अंगहरु स्वतन्त्र छन् । र,शक्ति सन्तुलनको हिसावले पनि ती अंगहरु स्वतन्त्र ढंगले नै चल्दछन्,” उहाँले भन्नुभयो, ‘न्यायपालिकामा जुन खालको विवाद देखिएको छ । त्यो संवेदनशील र गम्भीर छ । त्यो विवाद छिटोभन्दा छिटो सुल्टियोस् भन्ने हाम्रो चाहना छ ।

गृहमन्त्री खाँणले सरकारले नागरिकता विधेयक पनि अबिलम्ब पास गर्न चाहेको बताउनुभयो । नागरिकतालगायतका महत्वपूर्ण विधेयकहरु पास गर्न सदन चल्नुपर्ने भन्दै उहाँले प्रमुख प्रतिपक्ष एमालेलाई अवरुद्ध सदन सुचारु गराउन पनि आग्रह गर्नुभयो ।

‘नागरिकता ऐन हामी छिटोभन्दा छिटो पास गर्न चाहन्छौं । किनकि नागरिकताको समस्यालाई हामीले संवेदनशील रुपमा लिएका छौं । म मूल प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई तपाईँहरुमार्फत् आग्रह गर्न चाहन्छु–सदनलाई व्यवस्थित रुपमा चलाऔं । सरकारका कमिकमजोरीहरुलाई पनि सुधार्दै जाऔं । कतिपय महत्वपूर्ण विधेयकहरु छन्, नागरिकतालगायतका ती विधेयकहरुलाई पास गरौं । यही नै हाम्रो आग्रह छ’, गृहमन्त्रीको भनाइ छ ।

टिप्पणीहरू