अब त्यता हुन्छ के !

उपेन्द्र यादवको सत्तारोहणसँगै धेरैको मनमा लागेको छ– ‘प्रदेश २ को मधेसी गठबन्धन अब के हुन्छ ?’ मधेसमा राजपा र फोरमको गठबन्धन अनि केन्द्रमा चाहिँ वामपन्थी र फोरमको सहकार्य ? प्रदेशबाट संघीय संसद्मा ३२ जना, राष्ट्रिय सभामा ५ जना छन्, केन्द्रमा उपेन्द्र राजपाभन्दा एक सिट कम भएर पनि सरकारका २ थान मन्त्रालय पाउन सफल भइसके ।

यसरी एकाएक मधेसी सेताका अनेक हर्कतको चर्को आलोचना गर्ने केपी ओलीको क्याबिनेटमा कट्टर मधेसवादी उपेन्द्रले स्थान पक्का गराएपछि राजपाको स्थिति अब के हुने भन्ने जिज्ञासा बढेको हो । हुन पनि राजपासामु थोरै विकल्प छाड्दै उपेन्द्र यादवले कम्युनिष्ट सरकारसँग सहकार्य थालेपछि प्रादेशिक राजनीति कसरी अघि बढ्छ भन्ने स्वयं मधेसी नेताले नै अनुमान लगाउन नसकेको देखिन्छ । त्यसो त पछिल्लो घटनाक्रमबारे कुनै प्रकारको धारणा निर्माण गर्न नसकिरहेका अवस्थामा उपेन्द्रको नयाँ यात्राबारे औपचारिक प्रतिक्रिया दिन राजपाका छ जनै अध्यक्षहरू मानिरहेका छैनन् ।

धेरैले सोचेजस्तै अब उपेन्द्र र वामपन्थीहरूले संयुक्त सरकार निर्माण प्रक्रिया प्रदेश २ मा अघि बढाउनेमा शंका गर्ने ठाउँ छैन । त्यसै पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला उनको स्वागतमा देखिएका दृश्य र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले देशको सार्वभौमिकतामाथि नै प्रश्न उठ्ने गरी दिएको अभिव्यक्तिले एउटा तरंग उत्पन्न गराइसकेकै छ । उपेन्द्रले राजनीतिमा कुनै पनि पद वा जिम्मेवारी स्थायी नहुने हुँदा मुख्यमन्त्रीको कार्यविधिबारे यसै भन्न नसकिने अभिव्यक्ति दिइसकेका छन् । भारतले पनि त्यति नबोकेको, ओली सरकारमा सामेल हुन बलियो र भरपर्दो प्रस्ताव नआएको, विपक्षी बनेर बसिरहँदा एजेण्डा बलियोसँग उठाउन नसकिएको अवस्थामा अब राजपाले कुनै दुई मन्त्रालयको निम्ति सौदाबाजी गर्छ वा प्रमुख प्रतिपक्षी भएर पनि सो भूमिका सशक्त ढंगले निर्वाह गर्न नसकिरहेको कांग्रेससँग मिलेर ‘अंगुर अमिलो’ भनिरहन्छ, हेर्न बाँकी नै छ ।

टिप्पणीहरू