अचम्म त कति हो कति आजकल

सेनामा प्रहरीमा जस्तो फौजको कमाण्डर बन्न अनेकन लफडा चल्दैन । न अदालतमा मुद्दा चल्छ, न मन्त्री–प्रधानमन्त्रीका कुरा बाझिएरै केही बिग्रन्छ । तर, कहिलेकाँही नहुने भनिएका यस्ता कुरा सेनाकै हकमा हुने बाटोचाहिँ रहिरहन्छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले भदौ २४ को दिन पदावधिका कारण अवकाश पाउँदैछन् । उनले साउन २४ गते, अर्थात् एक महिनाअघिबाटै बिदा बस्नुपर्छ र हुनेवाला प्रधानसेनापतिलाई कायममुकायम मुकर्रर गर्नुपर्छ । अहिलेसम्म रोलक्रममा पूर्णचन्द्र थापा छन् । तर, सरकारले बेलैमा निर्णय गरिदिएन भने पूर्णचन्द्रले २५ गतेदेखि घरमै थन्किनुपर्ने खतरा पनि उत्तिकै छ । अर्थात्, उनी उमेरको ५८ वर्षे हद लागेर घर जानुपर्ने दिन हो त्यो । त्यसैले सेनामा पहिलो होइन, दोस्रो बन्नुपर्ने व्यक्तिले सरकारसँग निकटस्थ सम्बन्धमा रहनु जरुरी देखिनेरहेछ । यदि सरकारले एकै दिनमात्र अड्काइदियो भने पूर्णचन्द्र हिस्स पर्ने र हेमन्त कुँवरको पालो आउने अवस्था रहन्छ । ५८ वर्ष हुँदै कोही मान्छे प्रधानसेनापति बन्ने मौका पायो भने उसले उमेर ६१ हुँदासम्म पदावधिको तीनवर्षे जागिर खाने भयो । तर, सरकारले निर्णय लिन ढिलाई गर्दा हारगुहार गर्ने ठाउँ कतै रहँदैन । राजेन्द्र क्षत्रीचाहिँ कलिलै उमेरमा प्रधानसेनापति भए । ६१ वर्ष पुग्न अझै दुई वर्ष बाँकी छ । त्यसैले एकहुल चाकडीबाजहरू अहिले शशिभवनतिर सुस्केरा हाल्न थालेका छन्, ‘हजुरजस्तो शालिन, दक्ष चिफ सा’बको निरन्तरता भइदिए कस्तो हुन्थ्यो’ भन्दै धूप–अक्षता बोकेर । तर, नेपाली सेनामा यस्तो परम्परा आजसम्म बसेको छैन । सम्भाररथी, जो संस्थाको ज्यान–प्राण मानिन्छ, यसले भित्रका सबै खरिद–बिक्री सम्हालेको हुन्छ । त्यहाँ दीपक भारतीको म्याद थपिदिन्छु भनी रक्षा मन्त्रालयमा कागज पठाइएको छ । तर, क्याबिनेटबाट निर्णय गर्न हच्किएको स्थिति छ । किनभने, सर्टिफिकेट र नागरिकतामध्ये जुनबाट पहिले उमेरहद गुज्रिन्छ, त्यसअनुसार अवकाश पाउने प्रावधान छ । यसअनुसार दीपक भारती घर गइसक्नुपर्ने हो । तर, नियम–कानुन सच्याएर म्याद थपाउने खेल शुरु भएको थियो । एउटै प्रयोजनका केही नियममा कसैलाई काखा, कसैलाई पाखा गरिएका उदाहरण पनि छन् ।

एउटा उदाहरण हो, महासेनानी सुरेन्द्र सिजापतिको । उनी बेलायतमा एनडिसी कोर्ष गरिरहेका थिए । फर्काएर घर फर्काइयो । प्रेम शाही क्यानाडामा त्यही तालिम गरिरहेका छन् । उनको पनि नियति त्यही हो, अर्थात् तालिम छाडेर घर जानुपर्ने अवस्था आउँदैछ । सोचौँ त, विदेशीसामु नेपाली सेनाको योभन्दा ठूलो बेइज्जत के होला ? एउटा सैनिक अधिकारीलाई दक्ष बनाउने नाममा सरकारी कोषबाट लाखौँ खर्च हुने । तालिमबाट दिक्षीत भइसक्दा कोटा खेर फालेर हाकिमलाई घर पठाउनुपर्ने † दीपक भारतीसँगै म्याद थपाउन खोजिएका सूर्य खनालले पनि घर जानुपर्ने अवस्था आएको छ । भारतीको काम उपरथी गौरव तण्डुलले सम्हाल्न थालेका छन् । हुनेवाला प्रधानसेनापति पूर्णचन्द्रका बहिनीज्वाइँ हुन्, अवकाशप्राप्त उपरथी पूर्ण सिलवाल । उनी पहिला सम्भाररथीमा बसेका थिए । अहिले केन्द्रीय स्टोरमा सिपाहीका कम्ब्याट ड्रेस, लत्ता–कपडा, बुट सब रित्तो छ । उनैले अहिले सिलवाल थरका अर्का व्यापारीसँग मिलेर सेनालाई सैन्य सामग्री सप्लाई गर्ने कम्पनी दर्ता गरेको चर्चा छ । हुनेवाला प्रधानसेनापति पूर्णचन्द्रकी छोरीसँग विवाह गरेका प्रहरीका पूर्र्वएआइजी मदन खड्काका छोरा पनि ससुरा चिफ हुने भन्दै ब¥याकबुरुक्क गर्न थालिसकेका छन् । थापाखलकका साढु भाइ पर्ने पूर्वमेजर महेश केसी पनि ‘केही राम्रो काम गर्न’ भनी अमेरिकाबाट फर्किने तयारीमा छन् ।

यसबीच लोकमानसिंह कार्कीका सम्धी तथा शुभ पद्मश्री इन्टरप्राइजेजका सञ्चालक रोहिणी थपलियाले सेनाका लागि इटलीबाट दुई अगुस्ता हेलिकोप्टर ल्याउने क्रममा त्यसको निरीक्षणमा जाने टोलीका यात्रा रद्द गराएर ३६ लाख रुपैयाँ चोखै बचाएका छन् । सेनाबाट स्वीकृत बजेटभन्दा दुई मिलियन बढी, अर्थात् १६ मिलियन डलरको लागतमा अगुस्ता हेलिकोप्टर नेपाल ल्याइँदै छ । रोहिणीको कम्पनीलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाएर सो खरिद प्रक्रिया अगाडि बढेको थियो । त्यसो गर्दा खरिद प्रतिस्पर्धामा भाग लिएका बेल, सिक्रस्की र एयरबस हेलिकोप्टर्सजस्ता कम्पनीहरू पछाडि हटेका थिए ।

उता, उपरथी भुवन अधिकारीले सबैलाई चक्मा दिएका छन्, हुनै नसक्ने गरी जागिर बचाएर । उमेरको हदले साथ नदिँदा पनि दुई वर्ष बढी जागिर खाएका उनका लागि सैनिक नेतृत्व र हुनेवाला प्रधानसेनापति पनि दाहिने परेका कारण लेखाबाट एकैचोटि प्राविधिकतर्फ सेवा परिवर्तन भएको छ । ५८ वर्षे लागेर घर जाने भएपछि रातारात प्राविधिकमा सारिएका हुन् । यो काम कुनै पनि नियमले मिल्ने होइन । तर, नियम मिचेरै उनको सेवा परिवर्तन भएको छ ।

टिप्पणीहरू