तिहारपछि कानुन व्यवसायीहरु झन् उग्र

तिहारपछि कानुन व्यवसायीहरु झन् उग्र

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी पुनः दिएका छन् ।

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको प्राङ्गणमा आज आयोजना गरेको धर्नामा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशले अब पनि राजीनामा नदिए मुलुकभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार रहन आग्रह गरेका छन् ।

बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘हाम्रो अहिलेको माग भनेको प्रधानन्यायाधीशको राजीनामा हो । कुनै पनि हालतमा बार यो मागबाट बाहिरिनेवाला छैन । देशभरका कानुन व्यवसायीहरु आन्दोलित हुनुपर्ने अवस्था आयो भने त्यो परिस्थितिको सामना गर्न प्रधानन्यायाधीश तयार हुनुपर्नेछ ।’

अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न बाध्य हुनुपरेको स्पष्ट पार्नु भयो । उहाँले न्यायपालिकालाई संकटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

बारले भोलि बिहान साढे १० बजे पनि सर्वोच्च अदालतको प्राङ्गणमा धर्ना दिने जनाउँदै त्यसमा सहभागी हुन सबै कानुन व्यवसायीहरुलाई आह्वान समेत गरेको छ ।

टिप्पणीहरू