ठेकेदारहरू ठाउँको ठाउँ

बोलकबोलबाट सरकारी निर्माणको ठेक्का लिने तर काम टार्ने राजधानीका करिब ३ सय ठेकेदारको नामावली प्रहरीको हातमा पुगेको छ । सार्वजनिक सडक निर्माणको ठेक्का लिएर वर्षाैंसम्म लापरवाही गर्ने र राजधानीवासीलाई हिलो र धुलोमा रंगाउने ती ठेकेदारका खोजीमा काठमाडौं प्रहरीले अभियान सुरु गर्न लागेको हो । जनआस्थालाई प्राप्त जम्मा २ सय ९९ जना ठेकेदारको सूचीमा डिभिजन सडक कार्यालय काठमाडांै १ ले ठेक्का दिएका २ सय ८० र २ का १९ जना छन् । यी सबै ठेकेदारको खोजी प्रहरीले तीव्र पारेको छ । प्रहरीले शुरुमा उनीहरूलाई फोन गरी सभ्य भाषामा बोलाएर किन काम नगरेको भनी सोधपुछ गर्नेछ । लापरवाही गर्ने मानिसको रूपमा प्रहरीसमक्ष बयान दिन पुगेका ठेकेदारहरू यति समयसम्म काम पूरा गर्छु भनी प्रतिबद्धता जाहेर गरे, त्यतिञ्जेलको लागि उम्कन पनि सक्नेछन् । प्रहरीले ठेकेदार र सो ठेक्का हेर्नेगरी सडकले साइड इञ्चार्जका नाममा खटाएका इञ्जिनियरसँग पनि बयान लिनेछ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार महानगरीय प्रहरीलाई कारवाहीका लागि उपलब्ध गराएको नामावलीसहितको पत्रमा सम्झौताबमोजिम समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरूलाई कारबाही गरी जानकारी दिन भनिएको छ । यसैगरी, जिप्रकाले डिभिजन सडक कार्यालय काठमाडौं–१ र २ लाई पनि पत्र पठाएर लापरवाही गर्ने ठेकेदारलाई प्रचलित सार्वजनिक खरिद ऐन र नियमअनुसार कारबाही गरी के–कति कारणले ढिलाइ भएको हो जानकारी दिनुहुन भनी पत्राचार गरेको छ । कसुर र लापरवाही हेरी प्रहरीले ठेकेदार बदमास नै ठहरिए सार्वजनिक अपराधको कसुरअन्तर्गत हिरासतमा लिई मुद्दा चलाउन सक्नेछ ।

टिप्पणीहरू