जेलमै भटाभट जान थाल्यो ज्यान

तपाईं सोच्न पनि सक्नुहुन्न कि, चाल्र्स शोभराज भनेजस्तो नेपालमै त्यस्ता अपराधी छन्, जो रहरले मान्छे मार्छन् र मानव हत्यामा कीर्तिमान खडा गर्ने शौख राख्छन् । प्रहरी नियन्त्रणपूर्व त त्यस्ता हर्कत गरे–गरे, कारागारभित्र पनि एकपछि अर्को कीर्तिमान खडा गर्न अनेक प्रपञ्च रचिँदैछ । भन्नुस् त, राज्यले विभिन्न कसुरमा सजायँ दिनका लागि सुरक्षित स्थलको रुपमा खडा गरेका कारगारभित्रै हत्याराहरु कीर्तिमानका लागि अहोरात्र खटिन्छन् भने सुखले बाँच्न कहाँ जाने ?

यस्तो कहालिलाग्दो घटना उदांगो भएको छ, ललितपुरस्थित नख्खु कारागारबाट । गत वैशाख २२ गते त्यहाँका कैदी भक्तबहादुर सुनारको शंकास्पद मृत्यु भयो । शुरुमा त्यहीँका चौकीदार बुद्ध गुरुङले भक्तबहादुरको हत्या गरेको हल्ला चल्यो । तर, अनुसन्धानका क्रममा एउटा बहुलठ्ठी (साइको) सिरियल किलरले उधुम मच्चाएका तथ्यहरु खुलासा भएका छन् ।

बर्दियामा बालिकाको बलात्कारपछि हत्या अभियोग लागेर पहिला डिल्लीबजारस्थित सदरखोरमा कैद ठेकिएका थिए, भक्तबहादुर सुनार । केही निर्दोष मानिसको बिनाकारण हत्या गरी फरार रहेका नेपालगञ्जका अभिषेक सिंह पनि त्यहीँ थिए । भक्तबहादुर डिल्लीबजार पुगेपछि दुईबीचको सम्बन्ध राम्रो भयो । ३५ वर्षीय अभिषेककी कान्छी पत्नी ५१ वर्षीया सोनी राजभण्डारी । भेट्न गएपिच्छे १०–२० हजार दिन्थिन् । भेटिएको केही दिनमै अभिषेकले भक्तबहादुरलाई आफ्नो भान्से बनाए । केही समयमा दुबैले त्यहाँबाट सरुवा मागे, नख्खु सरे । अभिषेकचाहिँ पहिला नेपाली सेनाको तल्लो दर्जामा भर्ना भई सैनिक तालिम लिएका । तालिम चल्दाचल्दै भागेर भारत गए ।

त्यहाँ तन्त्रमन्त्र र औषधीसम्बन्धी काम सिके । फर्किएर काठमाडौंमा झारफुकको काम गरे । सशस्त्र द्वन्द्वकालमा गाउँमा बाबुको हत्या भयो (सम्भवतः माओवादीबाट) । यसपछि हत्याको बदला लिन्छु भन्दै विभिन्न मान्छेलाई औषधीको समिश्रणबाट अचेत बनाउने र प्राण लिने काम थाले ।  यसरी यिनले निरञ्जन पाण्डे, सार्कीमान तामाङ, जगतमान तामाङ र नरबहादुर गोतामेको हत्या गरेको रेकर्ड प्रहरीसँग छ । यही हत्या अभियोगमा १३ वर्षको खोजीपछि प्रहरीले उनलाई ‘सिरियल किलर’ का रुपमा पक्राउ ग¥यो, चार वर्षअघि । तर, प्रहरीले समातेपछि भने, ‘मैले अहिलेसम्म १२ जनालाई मारिसकेँ, तिमीहरुसँग चारजनाको मात्र रेकर्डमात्र छ । सक्छौ भने अरुको पनि खोज ।’ अभिषेक र भक्तबहादुर आफैँले सरुवा मागेर नख्खु कारागार गएका हुन् । त्यहाँ पनि अभिषेक मालिक र भक्तबहादुर भान्सेका रुपमा रहे । नख्खु गएपछि औषधी परीक्षण गर्ने नाममा अभिषेकले नरेशकुमार मौली, रामकृष्ण अधिकारी, तुलाराम राई र बमबहादुर अधिकारीलाई ‘बिरामी’ पारिसकेका छन् । पछिल्लो समय आफ्नै भान्से भक्तबहादुरलाई विभिन्न औषधीको समिश्रणबाट वैशाख २० गते अचेत बनाए । कारण केही थिएन, हत्याको कीर्तिमान राख्नुबाहेक । २० गते भक्तबहादुर अचेत भएपछि वीर अस्पताल पु¥याइयो । त्यहाँ आइसियु नपाएपछि २१ गते बिहानै पाटन अस्पतालमा भर्ना भए । तर, २२ गते दिउँसो २ बजे मृत्यु भयो । भक्तबहादुर अस्पतालमा मरेको खबर सुन्नासाथ अभिषेकले उनका दाइलाई भेट्न बोलाए । यो हत्या चौकीदार बुद्ध गुरुङले गराएको भनी जाहेरी दिन अह्राए ।

यति अह्राएपछि केही नगद दिए, नेपालगञ्जमा दुई कठ्ठा जग्गा एक महिनाभित्र पास गरिदिने आश्वासन पनि दिए । ‘भक्तबहादुरले लेखेको भनी’ एउटा नक्कली चिठी खडा गरे । भक्तबहादुरका दाइले भाइको ज्यान नफर्किने भएपछि अभिषेककै कुरा मान्न उचित ठाने, त्यहीअनुसार जाहेरी दिए, प्रहरीमा । त्यस्तो जाहेरी गृहमन्त्रीलाई पनि पेश गरे । विषय वास्तवमा गम्भीर नै थियो । कारागारभित्र कैदी मारिएको छ । परिवारले चौकीदारलाई आरोप लगाएको छ । यसपछि मन्त्रालयबाट छानबिन टोली बन्यो । अभिषेकको योजनामा बाहिर पेपरबाजी पनि भइसकेको थियो, चौकीदार गुरुङले नै भक्तबहादुरलाई मारेको भनेर । तर, अनुसन्धान चल्दै जाँदा खुल्यो, अभिषेकले भक्तबहादुरलाई २० गते बिहान खुवाएको औषधीको असरले उनी अचेत भएका रहेछन् । तर, पोष्टमार्टम रिपोर्टमा ‘अनडिटर्मेन्ट’ अर्थात्, यकिन हुन नसकेको चिज सेवन गरेको निश्कर्ष आएको छ । अहिले यो घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले गरिरहेको छ । त्यहाँका प्रहरी भन्छन्, ‘उनी औषधीको मिश्रणबाट मान्छे मार्नमा माहिर छन् । कुनै कारणले होइन, रहरले मान्छे मार्छन् !’

अहिले प्रहरी अभिषेककी कान्छी पत्नी भनिने सोनी राजभण्डारीको खोजीमा छ । उनले यो घटना हुनु केही दिनअघि अभिषेकलाई तीन–चार लाख रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको छ । अभिषेकले कारागारभित्र कुन–कुन औषधी, को–कोमार्फत भिœयाए भन्ने कुराको अनुसन्धानका लागि पनि सोनीको खोजी गर्नुपर्ने प्रहरी बताउँछ ।

टिप्पणीहरू