फेसबुकले पार्ला है रातारात फन्दामा

फेसबुकबाट खोजिने साथी अब कस्ता पनि निस्किने भए भने, भेटिएको भोलिपल्टै पति वा पत्नीको दावी ! पर्सिपल्ट अड्डा–अदालतको खोजी !

व्यापारमा बर्बादी, त्यसमाथि पत्नीवियोगले विक्षिप्त बनेका एकजना मारवाडीलाई ‘किन चिन्ता गर्नुहुन्छ ?’ भनेकी महिलाले अहिले यति धेरै समस्यामा डुबाइदिएका छन् कि, मारवाडी मरौँ कि बाँचौँको अवस्थामा पुगिसके । अपराध महाशाखामा महिलाविरुद्ध मुद्दा छ, तर महिलाचाहिँ कांग्रेस नेता गगन थापाको फोन गराउँदै ‘फरार’ छिन् ।

झापा, दमक– ११ का ५१ वर्षीय सुवाष अग्रवाल इलाम चुलाचुली– ७ की ३२ वर्षीया अम्बिका बाँस्कोटाको फन्दामा परेका छन् । पत्नी वियोगपछि व्यापारिक काममा डुबेका सुवाष र चेलिबेटी बेचबिखन मुद्दामा जेल परेर छुटेकी अम्बिकाबीचको भेट फेसबुकले गरायो, काठमाडौंमा । कतैबाट अम्बिकाले सुनेकी रहिछन्, सुवाषको दुःख । फेसबुकमा भेटिँदा दुःख–सुख बाँडेर गफ गरौँ भन्ने प्रस्ताव मानेबापत अहिले सुवाष नक्कली पति बनेका छन् । ‘होइन, होइन’ भन्दै उजुरबाजुर गरी हिँडेका छन् । अम्बिकाविरुद्ध इलाका प्रहरी कार्यालय, बिर्तामोडमा चेलिबेटी बेचबिखनसम्बन्धी अर्को मुद्दा छ । अम्बिका चाबहिल, सरस्वतीनगरमा बस्ने गरेकी थिइन् । त्यहाँ बस्दा पूर्वतिरकै एक युवतीलाई झापा, पशुपतिनगरतिर लिएर घुम्न गइन् । तर, पशुपतिनगरस्थित भारतीय नाकामा पुग्दामात्र युवतीले चाल पाइन्, आफू भारतीय दलालको फन्दामा पर्न लागेको । भागेर बिर्तामोड पुगिन् र उजुर गरिन् ।

उजुर परेका दिनदेखि बेपत्ता अम्बिकालाई काठमाडौंबाट अपराध महाशाखाले खोज्दा सम्पर्कमा आएकी छैनन् । उनी गत निर्वाचनमा काठमाडौं, क्षेत्र नं.– ४ का कांग्रेस सांसद गगन थापाकी मुख्य प्रचारक थिइन् । पहिला नेपाली युवतीलाई वैदेशिक रोजगारीका लागि खाडी मुलुक पठाउने काम गर्थिन् । त्यसरी पठाइएका अधिकांश युवती चरम यौन शोषणमा परी उद्धारकर्तामार्फत स्वदेश फर्किए । र, पीडितहरुले दिएको मुद्दामा दोषी करार भई केही वर्ष जेल बसेर निस्किएकी हुन् । उनीसँग बालबच्चा साथमै छन्, तर पतिसँग सम्बन्ध छैन । यसअघि पनि केही केटासँग यस्तो लफडा चलेको प्रहरीले जनाएको छ । अहिले लफडामा पारिएका सुवाषसँग अम्बिकाको भेट चैत २२ गते भएको थियो । काम विशेषले केही दिनका लागि काठमाडौंमा रहेका सुवाष त्यसदिन अम्बिकाकी छोरी र सानीआमासँग जावलाखेलस्थित चिडियाघर, नारायणस्थान र पशुपतिनाथ घुम्न गएका थिए । त्यही घुमघामको मौकामा ठाउँ–ठाउँमा फोटो खिचे ।

साँझ परेपछि आ–आफ्नो बासस्थानतर्फ लागे । घुमघामका क्रममा फेसबुक आइडीमात्र हैन, पासवर्ड पनि आदान–प्रदान भयो । शुरुमा अम्बिकाले सुवाषको वालमा सँगै घुमेका र अन्य अर्थ लाग्ने फोटा हालिन् । सुवाषले तत्कालै ती फोटो डिलिट गरे, पासवर्ड पनि फेरे । तर, भोलिपल्ट अर्को फेसबुक आइडी बन्यो र २२ गतेको घुमघामका फोटोहरु हालियो । परिचयमा लेखियो, ‘म्यारिड टु अम्बिका बाँस्कोटा अग्रवाल ।’ अर्थात्, ‘अम्बिका सुवाषकी पत्नी हो’ भन्ने प्रचार गर्न अम्बिकाले नै उक्त फेसबुक अकाउण्ट बनाएको दाबी छ । त्यसका लागि मन्दिर अगाडि उभिएका फोटोहरु हालिएको छ । यो घटनापछि सुवाष मारवाडी समुदायबाट बहिस्कृत छन् । घरमा प्रवेश निषेध छ । मिल्ने साथीहरुले बोल्न छाडेका छन् । बालबच्चाले पनि दुत्कार्न थालेका छन् । अहिले प्रहरीमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ विपरितको काम गरेको भन्दै जाहेरी परेको छ ।

टिप्पणीहरू