सर्वोच्चको विवाद,बन्दीहरुलाई सन्ताप

सर्वोच्चको विवाद,बन्दीहरुलाई सन्ताप

प्रधानन्यायाधीश चोलेन्द्रसमशे राणाले आफूसहितको इजलास तोकेपछि सर्वोच्च अदालतको गत्यावरोध अझै लम्बिने देखिएको छ ।

राजीनामा मागेर न्यायाधीशहरुले अघोषित आन्दोलन थालेपछि दबाबमा पर्नुभएका प्रधानन्यायाधीश राणाले सहमतिका लागि एक कदम पछि हटेको सन्देश दिँदै तिहारअगाडि दुई दिन आफूलाई इजलासबाट बाहेक गर्नुभएको थियो । इजलास बहिस्कार हुँदा बन्दी प्रत्यक्षीकरणका मुद्दासमेत प्रभावित हुन थालेपछि न्यायाधीशहरु इजलासमा बस्न तयार भएका थिए । तर,उनीहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दामात्रै पेशी तोकिनुपर्ने र प्रधानन्यायाधीश राणाले आफूलाई इजलासबाट बाहेक गर्नुपर्ने शर्त राखेका थिए ।

न्यायाधीशहरुको मागबमोजिम दुई दिन सोहीअनुसार इजलास तोक्नुभएका राणाले आज भने आफूसहितको संयुक्त इजलास राख्नुभएको हो । बन्दी प्रत्यक्षीकरणको एउटा निवेदनमा उहाँले आफूसहित न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोक्नुभएको छ । त्यसबाहेक आज बन्दी प्रत्यक्षीकरण मुद्दाका लागि ६ वटा इजलास तोकिएको छ । जसमध्ये तीनवटा एकल र तीनवटा संयुक्त छन् ।

प्रधानन्यायाधीशको कामकारवाहीमाथि प्रश्न उठाउँदै दुई सातादेखि न्यायाधीशहरु इजलास बहिस्कार गरिरहेका छन् । प्रधानन्यायाधीशको राजीनामालाई न्यायाधीशहरुले अनिवार्य शर्त बनाएका छन् ।

कुनै पनि हालतमा राजीनामा नदिने अडानमा रहनुभएका प्रधानन्यायाधीशले आफू इजलास छोड्न तयार भएपछि न्यायालय विवादले क्रमश: समाधानको बाटो लिने अपेक्षा गरिएको थियो। तर, सहमति विपरित प्रधानन्यायाधीश राणाले आफूलाई इजलासमा सामेल गराएपछि जारी विवाद थप लम्बिने देखिएको हो।

यता,प्रधानन्यायाधीश राणा र न्यायाधीश चुडालको संयुक्त इजलासमा बसेपनि अन्य इजलास शुरु भएको छैन । आज इजलास तोकिएका सहितका न्यायाधीशहरु छुट्टै छलफलमा जुटेका छन् । एक न्यायाधीशका अनुसार आज इजलास बस्ने सम्भावना छैन ।

प्रधानन्यायाधीश राणाले पूर्वसहमति बिपरित इजलास तोकेर विश्वासको वातावरण बिगारेको न्यायाधीशहरुको गुनासो छ । राणाले बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै पेशी तोक्ने र आफू इजलासमा सहभागी नहुने यसअघिको सहमति तोडेको न्यायाधीशहरुको आरोप छ ।

टिप्पणीहरू