गाँजा ओसार्नेहरु मोटरसाइकल छाडेर कुलेलम

गाँजा ओसार्नेहरु मोटरसाइकल छाडेर कुलेलम

पर्सा,बारा र सर्लाहीमा प्रहरीले झण्डै १३ किलो गाँजासहित तीन जनालाई समातेको छ । पर्साको जगरनाथपुर गाउँपालिका–४ जगरनाथपुरबाट करिब १ किलो,बाराको कलैया उपमहानगरपालिका–१२ शीतलपुरबाट करिब १ किलो ९ ग्राम तथा सर्लाहीको हरिवन नगरपालिका–२ बाट १० किलो गाँजासहित तीन जना पक्राउ परेका हुन् ।

पर्साबाट गाँजासहित छिपहरमाई गाउँपालिका–२ टिउकीका ६० वर्षीय रामचन्द्र महत, कलैयाबाट २१ वर्षीय चाँदकिशोर राम र ३२ वर्षीय प्रभुराम हिजो बेलुकी प्रहरीको फन्दामा परेका थिए । सर्लाहीबाट भने गाँजा बरामद भएको छ,गाँजा बोक्ने सबै फरार छन् ।

प्रहरीका अनुसार सिन्धुलीको क्यामनचुलीबाट हरिवन चिसापानीतर्फ जाँदै गरेको बा.७३ प ६०४७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरु इलाका प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडेर फरार भएका थिए ।

यस्तै,महतलाई भारततर्फ जाँदै गरेको ना.६३ प १७५५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाँजासहित पक्राउ गरेको हो । चाँदकिशोर राम र प्रभुरामलाई बा.२५ प १९९५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा गाँजासहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

सर्लाहीमा प्रहरीलाई देख्नासाथ गाँजासहितको मोटरसाइकल छाड्नेको भने खोजी कार्य भइरहेको छ ।

टिप्पणीहरू