बाग्मतीका मुख्यमन्त्रीले अहिले विश्वासको मत लिने

बाग्मतीका मुख्यमन्त्रीले अहिले विश्वासको मत लिने

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । गत कात्तिक ११ गते संविधानको धारा १६८,उपधारा २ बमोजिम गठवन्धन सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले विश्वासको मत लिन लाग्नुभएको हो । संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ । बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ । विश्वासको मतसम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । प्रदेशसभा सचिवालयका अनुसार आजै सम्पूर्ण प्रक्रिया टुंग्याएर मत विभाजनमा लैजाने गरी तयारी थालिएको छ ।

एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि चारदलीय गठवन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतासमेत रहनुभएका पाण्डे मुख्यमन्त्री नियुक्त हुनुभएको हो । उहाँलाई माओवादी केन्द्र,नेपाली काँग्रेस र जसपाको समर्थन रहेको छ ।

१०९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक हुन्छ । मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ जना सांसद रहेकाले उहाँले विश्वासको मत पाउने निश्चित छ । उहाँलाई माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ सांसदले यसअघि नै समर्थन दिइसकेका छन् ।

पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएका मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता: दिने बताउनुभएको थियो । सोहीअनुसार कम्तिमा एक सातामा मन्त्रिपरिषद विस्तार गरिने बताइएको छ । पाण्डेले आफू मुख्यमन्त्री नियुक्त भएकै दिन सत्ता साझेदार माओवादी केन्द्र,कांग्रेस र समाजवादीबाट एक-एक जना समेटेर मन्त्रिपरिषद गठन गर्नुभएको थियो ।

टिप्पणीहरू