देश टाट पल्टिएकोमा दुखेसो

यो वर्षका निम्ति भर्खरै जारी भएको बजेट १३ खर्ब तर काँग्रेस सभापति शेरबहादुर देउवाले जातेजाते भ्याइदिएका रहेछन् कुल बजेटको आधीभन्दा बढी अर्थात् आठ खर्ब । यसबारे आइतबारको क्याबिनेट बैठकमा भएको एउटा रिपोर्टिङ यस्तो छ,– देउवाले बिनाशीर्षक, बिनाबजेट बाँडेको रकमहरूको कारण नयाँ कार्यक्रम ल्याउनै सकिएन । हुन पनि कुनै शीर्षक, अध्ययन, अनुसन्धानबिनै बजेट खर्च गर्ने हजारौं बाटा उनले खनेर हिँडेका रहेछन् । यहाँसम्म कि यस वर्षको बजेटसमेत ढाक्ने गरी रकमान्तर र रकम निकासाको ग्यारेन्टी गरेर बल्ल कुर्सी छाडेका रहेछन् । आर्थिक रूपले मुलुक भयावह अवस्थामा रहेको देखेपछि बाह्य ऋण लिएर भए पनि धान्नुपर्ने अवस्था आइपरेको निश्कर्षमा मन्त्रिमण्डल पुगेको स्रोत बताउँछ । राजश्व र आन्तरिक आयले मात्र नियमित खर्च धान्न गाह्रो पर्ने र अघिल्लो सरकारले खनेको खाल्डो र पारेको प्वाल टाल्दाटाल्दै विकास निर्माणमा लगानी गर्न नपाइने स्थिति देखिएको छ । नेपाली सेनाका उपरथी काजीबहादुर खत्रीलाई रेकी नियन्त्रणका लागि सेन्ट्रल अफ्रिकन मुलुकमा पठाउने निर्णय पनि सो बैठकले गरेको छ । त्यसैगरी, वनसचिव डा. विश्वनाथ ओलीलाई फ्रान्स, पर्यटन सचिव कृष्ण देवकोटालाई जापान, पर्यटनमन्त्रीलाई क्यानाडा, परराष्ट्र सचिवलाई युरोपियन युनियनको बैठक, खानेपानी सचिवलाई ताजकिस्तान भ्रमणमा जान अनुमति दिइएको छ ।

टिप्पणीहरू