गाउँ गाउँबाट दर्दनाक गुनासा

हामी गर्छौं नि, स्वाबलम्बनको कुरा ! हिजो द्वन्द्व र संक्रमणकालमा वाइसिएल र युथफोर्स भएर कम्युनिष्ट पार्टीका युवाहरू आपसमा लड्थे । तर, देश अहिले पनि भूकम्पको क्षतिले थिल्थिलिएको अवस्था छ । देशमा पर्याप्त युवा जनशक्ति नहुँदा हुनुपर्ने रफ्तारमा पुनःनिर्माणको काम भइरहेको छैन ।

दोलखा र सिन्धुपाल्चोकमा अढाई वर्षदेखि बेलामा पैसा नजाँदा काम अगाडि बढ्न सकेको थिएन । तर, अहिले धमाधम पैसा गएको छ । युद्धस्तरमा काम गर्ने अवस्था बनेको छ । तर, पैसा भएर के गर्नु, काम गर्ने जनशक्तिको अभाव छ । सरकारी अस्पतालमा भर्ना र उपचार गर्न गएका मानिसको ताँती हेरौँ, कामदारको संख्या बढी र ती पनि सबैजसो भारतीय मूलका छन् । उनीहरूले भारतको विभिन्न भागबाट नेपाल छिरी निर्माण मजदुरका रुपमा काम पाए, गरे । तर, आफ्नो गाउँ–ठाउँको जस्तो हावापानी नमिल्दा बिरामी परे । नेपालीलाई सुखी र सम्पन्न हुनुपर्ने । देश गरिब, तर देशवासी धनी देखिनुपर्ने । केही छिसिक्क भयो भने निजी अस्पताल गयो या एम्बुलेन्स चढ्यो, काठमाडौं दौडियो । सरकारी अस्पताल त टेक्नै नहुनेजस्तो । यसरी भारतीय कामदार नेपालमा आकर्षित हुनुको कारण हो, राम्रो ज्याला ।

भारतमा तिनै कामदारले दिनभरको ज्याला मुस्किलले पाँच सय पाउँछन् । नेपाल छिरेपछि ज्यामीले कम्तिमा हजार, मिस्त्रीले १५ सय रुपैयाँ दैनिक कमाउँछन् । ओभरटाइम गरे अर्को पाँच सय थपिन्छ । ढलान गरेको दिन ठेकेदारले खुवाउने खसीको मासु, सिलप्याक रक्सीको हिसाब छँदैछ । त्यति पैसाका निम्ति नेपाली युवाहरू ५० डिग्रीको तातो खाएर साउदी, कतार, मलेसियातिर भौँतारिएका छन् । भारतीय कामदारले नेपाल छिरेर कमाउने पैसा र नेपाली युवाले खाडीमा कमाउने मासिक बेतन उत्ति हो । प्लम्बरको अभाव छ । काम जानेका नेपाली प्लम्बर सबै विदेशिए । त्यसमा पनि भारतीय कामदारको बोलवाला छ । जोगीदेखि ज्यामीसम्म भारतीय । निर्माण क्षेत्रमा नेपाली कामदार हुँदै नभएका हैनन्, छन् । तर, कस्ता भने काममा गएपछि शुरुमै ट्रेड युनियन खोल्ने । कामभन्दा बैठक बढी बस्ने । फल मासु दिए ह्याकुला पुगेन भनेर झगडा गर्ने । भारतीय कामदारलाई सय रुपैयाँ बढी दियो भने मालिक वा ठेकेदारलाई विदेशीको दलाल भनेर गाली गर्ने । ‘निस्केर जा’ भन्यो भने हड्ताल गरेर काम ठप्प पार्ने । अनि, सबैको गोजी–गोजीमा पासपोर्ट हुने । म्यानपावरले कति बेला बोलाउँछ र त्यो नेपालीले काम छाडेर हिँड्छ भन्ने कुराको पत्तो नहुने † अब युवा संघ र वाइसिएलले स्वदेशका युवालाई स्वदेशमै श्रम र सीप खर्च गर्न प्रेरित गर्लान् कि ? सुखी र समृद्ध नेपाल भनिएको छ । त्यो बनाउनका लागि पनि युवा जनशक्ति स्वदेशमा हुनैपर्ने होइन र !

टिप्पणीहरू