नक्कली छोडपत्रवाली श्रीमतीका नाममा इच्छाराजको अरबौँ

नक्कली छोडपत्रवाली श्रीमतीका नाममा इच्छाराजको अरबौँ

सहकारीको अरबौं रुपैयाँ निक्षेप अपचलन गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा समातिएका सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले हिरासतमा ३५ रात बिताएका छन् । उनीसँगै अरु ११ जनाले पनि दशैं र तिहारसमेत त्यहिँ बिताएका हुन् । दशैं अगाडिदेखि उनीहरु सबै खोरमै छन् ।

पक्राउ परेका १२ जनामध्ये १० जना सीआईबीको खोरमा छन् । दुई जना महिला कर्मचारीलाई भने प्रहरीको महाराजगञ्ज वृत्तको हिरासत कक्षमा राखिएको छ । दशैं र तिहारको समयमा पनि उनले प्रहरीलाई अनौपचारिक रुपमा म तिर्छु, मिलाउँछु भनेर वचन दिएको बताइन्छ । उनी र उनको समूहविरुध्द झण्डै पाँच अर्ब रुपैयाँ बराबरको निक्षेप अपचलन गरेको दाबी परेको छ । ११ सयभन्दा बढीले लिखित उजुरी नै दिएका छन् ।

“इच्छाराजलगायतका १० जना पुरुष अभियुक्तहरु एउटा ठूलो हिरासत थुनुवा
कोठामा लाइन लागेर सुत्ने गरेका छन् ।”

उक्त रकम तामाङले सिभिल होम्समा र अन्यले विभिन्न पेशा व्यवसायमा लगाएको देखिन आएको छ । अन्यले पनि जग्गा, घर, क्रसर उद्योगमा लगानी गरेको प्रहरीले प्रमाण फेला पारेको छ । तर सहकारीको पैसा लगेर बनाएको सिभिल होम्सका घर बेचेर आएको पैसो भने उनले कौडी पनि देखाएका छैनन् । प्रहरीको अनुसन्धान टोली त्यहि पत्ता लगाउन लागिपरेको बताइन्छ ।

उनले सबैको रकम फिर्ता गर्छु भने पनि व्यवहार मिलाउने खाका दिन सकेका छैनन् । अरुले पनि त्यस्तै भनेका छन् तर यसरी तिर्छौं भनेर कसैले पनि आश्वस्त हुने योजना दिन नसकेको प्रहरीले बताएको छ । हुन तः पक्राउ परेका सबैको बैंक खाता र श्रीसम्पत्ति सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागले रोक्का गरिसकेको छ ।

“हिरासतमा रहेकामध्ये अधिकांशले उच्च रक्तचापको औषधि सेवन गरेको देखिन्छ ।”

तामाङले आफूसँग अपचलन गरिएको अर्बौं रकम नदेखाए पनि डिभोर्स गरेकी श्रीमतीको नाममा भने जग्गा जोडेको भेटिएको छ । उनले सँगै बस्ने तर कागजमा पूर्वपत्नीको दर्जा दिएकी श्रीमतीको नाममा काठमाडौंका ठाउँ ठाउँमा जग्गा जोडेका छन् । जोरपाटी नजिकै एकै ठाउँमा ४५ रोपनी जग्गा लिएको देखिन्छ । उक्त जग्गाको मूल्य झण्डै एक अर्ब रुपैयाँ हुन आउँछ ।

पक्राउ परेका केही सामान्य कर्मचारीबाहेक अन्य कर्मचारी र पदाधिकारीले समेत श्रीमती, आफन्त, ससुरा र सासूको नाममा घर,जग्गा,सेयर किनेको देखिन आएको छ ।

हिरासतमा रहेका कसैलाई पनि मोबाइल,इन्टरनेट चलाउन दिइएको छैन । शुरुमा तामाङलाई प्रहरीको सोह्रखुट्टे वृत्तमा राखिएको थियो । अहिले सीआईबीको हिरासतमा लगिएको छ । अहिलेसम्म उनीहरुलाई आफ्ना कानुन व्यवसायी र परिवारका सदस्यसँग मात्र भेट गर्न दिइएको छ ।

“उनले सँगै बस्ने तर कागजमा पूर्वपत्नीको दर्जा दिएकी श्रीमतीको नाममा
काठमाडौंका ठाउँ ठाउँमा जग्गा जोडेका छन् ।”

यसबीच उनीहरु कोही पनि बिरामी नपरेकाले अस्पताल लानु परेको छैन । तर हिरासतमा रहेकामध्ये अधिकांशले उच्च रक्तचापको औषधि भने सेवन गरेको देखिन्छ ।

सीआईबीको हिरासतमा रहेका इच्छाराजलगायतका १० जना पुरुष अभियुक्तहरु एउटा ठूलो हिरासत थुनुवा कोठामा लाइन लागेर सुत्ने गरेका छन् ।

टिप्पणीहरू