सेनापति पर्सि आफ्नै प्लेनमा नयाँ दिल्ली जाने

सेनापति पर्सि आफ्नै प्लेनमा नयाँ दिल्ली जाने

प्रधानसेनापति प्रभुराम शर्माले पर्सि कात्तिक २३ गतेदेखि भारतको औपचारिक भ्रमण गर्न लाग्नुभएको छ । उहाँले सेनाको इन्डोनेशिया निर्मित आफ्नै कासा जहाज प्रयोग गर्नु हुनेछ । टोली पर्सि बिहान सबेरै नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

सेनापति शर्माले सम्भवत:पर्सि बुधवार उताका राष्ट्रपति रामनाथ कोविन्दको हातबाट भारतीय सेनाको मानार्थ सेनापतिको उपाधी ग्रहण गर्ने कार्यक्रम छ । दुई देशवीच यस्तो मित्रता लामो समयदेखि चल्दै आएको हो । ०७२ को नाकावन्दी खोल्नमा पनि दुई देशका सेनाको महत्वपूर्ण भूमिका थियो ।

टोलीमा सबै जना गरेर बढीमा १५ जना हुनेछन् । तीमध्ये अधिकांश सेनापतिको सचिवालयका टीम मेम्बर हुन् । टीममा अपरेशन विभाग प्रमुख (डिजिएमओ) निर्मल थापालाई पनि सहभागी गराइएको छ ।

प्रधान सेनापतिका सैनिक सहायक चोक ढकालसहित एक जना फुल कर्णेल र अर्का लेफ्टिनेण्ट कर्णेल पनि टोलीमा छन् । जसमा प्रसे सुनिल सुवेदी र प्रचण्डको एडीसी बसिसकेका मसे पवन खत्री हुन् । सेनापति र डिजिएमओको दम्पत्ति नै जाने भएकोले सहजिकरणका लागि महिला क्याप्टेनलाई पनि नयाँ दिल्ली जाने टोलीमा राखिएको छ ।

फोटोग्राफर र सहयोगीहरुलाई समेत समेट्दा टोली बढिमा १५ जनाको बन्न पुगेको हो ।

भोलि बिहान जंगी अड्डामा भारत भ्रमणमा जाने टोलीको बिदाइ कार्यक्रम राखिएको छ । कात्तिक २२ गते सेनाको श्रीमती संघ स्थापना दिवस पनि हो । स्वर्गीय रानी ऐश्वर्यको जन्मदिनको अवसरमा पहिलादेखि नै संघको वार्षिकोत्सव मनाउने गरिएको छ ।

श्रीमतीसहित विदेश भ्रमणमा निस्क्न लागेको टोलीलाई भोलिको कार्यक्रममा नै बिदाइ गर्न लागिएको हो । पहिले सबै जना विमानस्थलमा गएर बिदाई गर्ने चलन थियो । केही समयदेखि जंगी अड्डामा नै बिदाई गर्ने चलन बसालिएको बताइन्छ । प्रधान सेनापतिलाई बिदाइ सलामीसमेत भोलि नै दिइने छ ।

२३ गते गएर कात्तिक २६ गते शुक्रवार काठमाडौं फर्कने सेनापतिको टोली नयाँ दिल्लीको होटल क्राउन प्लाजामा बस्ने बुझिएको छ ।

टिप्पणीहरू