तिहारको रंगोलीमा पनि बैंकहरुको ब्याजदर विज्ञापन

तिहारको रंगोलीमा पनि बैंकहरुको ब्याजदर विज्ञापन

तिहार अस्तिबाट सकिएको छ । लक्ष्मीपूजा व्यक्तिको घरमा मात्र होइन विभिन्न संघ संस्थाको कार्यालयमा पनि आ–आफ्नै तरिकाले मनाउने गरिन्छ । बैंक तथा वित्तीय संस्थाहरुमा लक्ष्मीपूजाको दिन विशेष पूजाआजा गर्ने चलन छ ।

तर,केही बैंकले भने पूजा गर्नलाई बनाइएको रंगोलीमासमेत विज्ञापन गरेका छन् । सामाजिक सञ्जालमा फेला परेका तस्बिरहरुमा केही बैंकका शाखा कार्यालयले रंगोलीमा ब्याजदर लेखेर विज्ञापन गरेको देखिन्छ ।

यसरी विज्ञापन गर्ने बैंकहरुमा ग्लोबल आइएमइ र सिभिल हुन् । ग्लोबलको इटहरी शाखाले रंगोलीमा ब्याजदर लेखेको छ । उसले बचततर्फ ४ दशमलव ५ प्रतिशत तथा मुद्दतीको ९ दशमलव ३६ प्रतिशत ब्याज दिने भनेको छ ।

उता सिभिल बैंकको रंगोलीमा पनि ब्याजदर लेखिएको छ । सिभिलले बचतमा ७ तथा मुद्दतीमा ९ दशमलव ३६ प्रतिशत ब्याज दिने रंगोलीमै लेखेको छ ।

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ दशैं अघिदेखि सिभिल सहकारीको अरबौं निक्षेप घोटाला गरेवापत प्रहरी हिरासतमा छन् । उनीसँगै सहकारीका कर्मचारी र वर्तमान तथा पूर्वपदाधिकारी गरी ११ जनालाई केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी) ले पक्रेर थुनामा राखेको छ ।

लक्ष्मीपूजाको दिनदेखि बन्द रहेका बैंक तथा सरकारी कार्यालयहरु हिजो देखि खुलेका छन् ।

टिप्पणीहरू