टिभी खोल्न नसकेकोमा ओलीलाई पीर

टिभी खोल्न नसकेकोमा ओलीलाई पीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मिडिया सञ्चालकहरुमाथि खनिनुभएको छ । एमालेविरुद्ध मिडिया प्रयोग भैरहेको भन्दै उहाँले आफ्ना कार्यकर्तालाई प्रतिवाद गर्न आग्रह पनि गर्नुभयो ।

आफूहरुसँग मिडिया नभएका कारण भ्रमपूर्ण समाचार आइरहेको भन्दै उहाँले सामाजिक सञ्जाल र गीत संगीतमार्फत त्यस्ता भ्रम चिर्न कार्यकर्तालाई भन्नुभएको हो । अहिले आवाज सुनेरै टेलिभिजन कसले चलाएको भन्ने थाहा पाइने भन्दै ओलीले आफूसंग पैसा नभएकाले टिभी खोल्न नसकेको पनि बताउनुभयो ।

‘टेलिभिजन खोल्नुस्, त्यसको आवाज सुन्नुस् । त्यसको आवाजले नै भन्छ कसले चलाएको ? कसका लागि चलाएको ? कसका विरुद्ध चलाएको ?”

राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘हामी टेलिभिजन खोल्न सक्दैनौँ किनकि हामीसँग करोडौँ छैन ।’ ओलीले पार्टीको महाधिवेशनका लागि खर्च गर्न धौधौ परिरहेका बेला टिभी संचालन गर्न करोडौँ खर्च गर्ने अवस्था नभएको बताउनुभएको हो ।

ओलीले आफूहरुसँग टेलिभिजन लगायत अन्य सञ्जाल धेरै नभएकाले गीत संगीतका माध्यमबाट जनचेतना फैलाउनुपर्नेमा पनि जोड दिनुभयो । ‘आकर्षक गीत र अरु माध्यमबाट चेतना फैलाउन सक्दछौँ । र, त्यो चाहिँ अत्यन्त प्रभावकारी हुन सक्छ । हामीसँग धेरै सञ्जाल छैन । हामी टेलिभिजन खोल्न सक्दैनौँ किनकि हामीसँग करोडौँ छैन । महिनैपिच्छे कति करोड खर्च हुन्छ । कहाँबाट गर्ने ? हामी त्यो गर्न सक्दैनौँ’, ओलीको भनाइ छ ।

ओलीले एमालेविरुद्ध नियोजित ढंगले टेलिभिजन चलाइएको आरोप पनि लगाउनुभयो । भन्नुभयो, ‘टेलिभिजन खोल्नुस्, त्यसको आवाज सुन्नुस् । त्यसको आवाजले नै भन्छ कसले चलाएको ? कसका लागि चलाएको ? कसका विरुद्ध चलाएको ? जनता अल्मलाउन र झुट फैलाउन चलाएको छ । मैले नाम नलिऊँ त्यस्ता थुप्रै छन् ।’

टिप्पणीहरू