अर्काथरी विदेशीलाई पनि हटाउने आदेश

सानो देशलाई विदेशीले कसरी हेप्छन् अनि नेपाल कतिसम्म सामरिक र रणनीतिक महŒवको भूमि रहेछ, एकपटक छिरेपछि विदेशीहरू कसरी अनेक भेषमा यतै रमाउन खोज्दा रहेछन् भन्ने कुराको विस्तारै रहस्य खुल्न थालेको छ ।

सरकारले बाढी र जल उत्पन्न प्रकोप नियन्त्रण तथा अनुगमनको नाममा कार्यालय खडा गरी एक दशकदेखि अर्कै काम गर्दै आएको विराटनगरस्थित भारतीय क्याम्प बन्द गराउन सफलता हात पारेसँगै यही प्रकृतिको अर्को एउटा कदम चाल्न लागेको सुइँको पाइएको छ । ठूला र तीव्र आर्थिक समृद्धिमा अघि बढेका दुई छिमेकीबीच अवस्थित नेपालको खास महŒव के रहेछ भन्ने कुरा विराटनगरस्थित फिल्ड अफिस हटाउन १० वर्षसम्म एकोहोरो कराइरहनु परेबाटै स्पष्ट हुन्छ । यो त सिमाना जोडिएको देशसँगको कुरा भयो । नेपाल सरकारले सात समुद्रपारिबाट अवैधानिक रूपमा विदेशीले राखेको कार्यालय पनि बन्द गर्ने आदेश दिनै लागेको छ ।  ०६३ साल मंसिरमा सात दल र माओवादीबीच सम्पन्न विस्तृत शान्ति–सम्झौतापछि नेपाल सरकारको पहलमा राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव नं. १७४० बमोजिम माघ ९ गतेदेखि शान्ति प्रक्रियालाई सघाउन अनमिन आयो । ०६७ माघ १ गते त्यसको म्याद थपिएन र अब अनमिनको आवश्यकता छैन, फिर्ता जाऊ भन्ने सन्देश दिइयो । तर, त्यसको भोलिपल्टै नाम फेरेर हालसम्म अनमिनको त्यही टोली नेपाल बसिरहेको रहेछ ।

नेपाल सरकारलाई कुनै जानकारी नै नदिइकन राजनीतिक मामिला विभागको नाममा माघ २ गते नै नयाँ बोर्ड राखेर सो समूह राष्ट्रसंघीय निकायका रूपमा बसिरहेको पाइएको छ । यसले स्पष्ट रूपमा संसारभर के सन्देश प्रवाह गरिरहेको छ भने नेपाल अझैसम्म द्वन्द्वमै छ । तर, अवस्था त्यस्तो होइन, अब हामीलाई हेरिराख्नु पर्दैन भनेर सरकारले राष्ट्रसंघलाई पत्राचार गर्नै लागेको छ । राष्ट्रसंघको पुल्चोकमा एउटा कार्यालय त छ तर त्यहीभित्र राजनीतिक मामिला विभागका रूपमा छुट्टै अफिस राखिएको छ । प्राप्त जानकारीअनुसार सो कार्यालयले नेपाल मात्र  नभई समग्र रूपमा यस क्षेत्रकै गतिविधिको सूक्ष्म निगरानी राख्दै र सूचना संकलन गर्दै आएको छ । तर, यस्तो निकाय नेपालमा सक्रिय छ भन्ने औपचारिक रेकर्ड सरकारसँग छैन । अहिले नेपालमा संयुक्त राष्ट्रसंघीय कार्यालयको नेतृत्व भ्यालेरी जुलियण्डले गर्दै छिन् भने उनको कार्यालयसँगै रहेको राजनीतिक विभागमा ताइवानी मूलकी अमेरिकी नागरिक क्याथरिन सुङले कमाण्ड सम्हालेकी छन् । तर, क्याथरिनको औपचारिक कूटनीतिक अभिलेख केही पनि नेपाल सरकारसँग नरहेको बताइन्छ ।

स्रोतका अनुसार यो संस्थाले मधेसमा पनि कन्सल्यान्ट राखेको छ । २०११ को जनवरीमा औपचारिक रूपमा अनमिन त बिदा भयो तर आफ्नो कोर टिमचाहिँ  अर्कै नाममा राख्यो । उनीहरू यसलाई डिपिए अर्थात् डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स भन्ने गर्छन् । राष्ट्रसंघभित्र यो निकाय यति शक्तिशाली छ कि यसको इञ्चार्ज सहायक महासचिव हुन्छन् । उनले महासचिवलाई विश्वभरको राजनीतिक मामिलासम्बन्धी रिपोर्टिङ गर्छन् । त्यसो त राष्ट्रसंघमा एक प्रकारको अघोषित सिन्डिकेट नै छ । शान्ति स्थापनासँग सम्बन्धित सबै काम हेर्ने निकायको प्रमुखमा फ्रेञ्च नागरिक रहने गर्छन् । विकास निर्माणतर्फको काम चिनियाँको जिम्मामा छ । त्यस्तै, अर्को भिटो पावरप्राप्त राष्ट्र बेलायतले प्रशासनिक काम हेर्छ भने राजनीतिक सूचना आउने निकायको प्रमुखचाहिँ अमेरिकी नागरिक हुने गरेका छन् । रसियाले पनि यो विभाग मागिरहेको छ तर अन्तिममा कसैको केही लाग्दैन । अमेरिकाले यस्तो निकाय छाड्ने कुरा पनि भएन । त्यसमाथि उसले नेपालजस्तो भू–राजनीतिक हिसाबले महŒव बोक्ने देशमा चिनियाँ वा ताइवानीमूलका मान्छे पठाउने गरेको छ । त्यसो गर्दा तिब्बत र ताइवानसँग सीधा सरोकार जोडिने नै भयो । त्यसमाथि तिनले नेपालमा राख्ने परामर्शदाता भने आदित्य अधिकारीजस्ता घोर कम्युनिष्टविरोधी । उनले एमाले–माओवादी गठबन्धन बन्नेबित्तिकै गएको अक्टोबर १७ तारिखमा काठमाडौं पोष्टमा लेखेको एउटा लेखबाटै यो कुरा प्रष्ट हुन्छ । जसमा भनेका छन्, ‘माओवादी र एमाले दुवै सर्वसत्तावादी शासन चलाउने चाहना राख्छन् ।’

अगाडि थप्छन्, ‘अर्कोचोटि पनि एक भएर चुनाव लडे भने उनीहरूको राज्यसत्ता कब्जा गर्ने मनोकांक्षा पूरा हुनेछ ।’ कम्युनिष्टहरूले नागरिक समाजदेखि सञ्चार जगत्सम्मलाई पूर्णतया अपांग बनाएर कार्यकर्ताको मात्र कुरा सुन्ने अवस्था सिर्जना गर्ने ठोकुवा पनि उनले राखेको देखिन्छ । अब सहजै अनुमान लगाउन सकिन्छ कि उनले त्यो कार्यालयलाई दिने सुझाव, सल्लाह र परामर्श कस्तो होला ! त्यसो त यो अवैधानिक कार्यालयले भारतले झैं विराटनगरमा पनि कार्यालय राखेको थियो । यो कार्यालयका अर्का परामर्शदाता हुन् टम बेल । यी बेलायती नागरिकले नेपाली विवाह गरेका छन् । अलजजिराकी रिपोर्टर सविना श्रेष्ठका पति हुन्, उनी नेपाललाई माया गर्ने नै व्यक्ति हुन् । नेपालको पुरातात्विक महŒवका सम्पदाबारे पुस्तक पनि लेखेका छन् । पहिले पनि नेपालमा जननेता मदन भण्डारीको दुर्घटना हुँदा चिनियाँ मूलकी जुलिया चाङ ब्लक अमेरिकी राजदूत थिइन् । यिनीहरूको सम्बन्ध र सम्पर्क कस्तो भने मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीका श्रीमान् र भतिजलाई समेत राष्ट्रसंघीय निकायमा जागिर लगाइएको छ । विभिन्न ठाउँका मान्छेलाई प्रभाव र पहुँचमा लिने अनि सूचना संकलन गर्ने काममा सक्रिय त्यो अफिस बन्द गर्ने आदेश छिट्टै जारी हुन लागेको हो ।

टिप्पणीहरू