सुन समातेर अब के स्वाद

३३ किलो सुनकाण्डले भयानक रुप लिएपछि फेरि सुन समातिएका वा भारु, नक्कली नोट र हतियार बरामद गरिएको समाचार आउन छाडेका छन् । कारण ३३ किलो सुन होइन, प्रहरी मनोबल घटेर पनि हैन । कारण हो, सरकार नै ।

त्यसो त अनुसन्धानक्रममा प्रहरीबाट प्रयोग गरिएका भाषा र शैलीमाथि प्रश्न उठाउँदै केही सुरक्षाकर्मी पनि पुर्पक्षको लागि थुनामा पठाइएका छन् । तर, सुन समातिने सिलसिला रोकिनुको कारण हो सुराकी भत्तामा कटौती । अघिल्लो सरकारले गरेको यस्तो कामले गर्दा आजकल सुराकीहरु नै दोहोरो भूमिका खेल्न र जताबाट पैसा बढी आउँछ, त्यतैतिर लाग्न थालेका छन् । पुरानो व्यवस्थाअनुसार, सुराक दिने व्यक्तिलाई प्रहरीको सिफारिसमा बरामद सुनको बजार मूल्यका आधारमा २५ प्रतिशत रकम दिने गरिन्थ्यो भने त्यस्तो काममा खटिएर मुद्दा पेश गर्ने प्रहरीलाई प्रतिवेदक बनाएर १० प्रतिशत उपलब्ध गराउने व्यवस्था थियो ।

देशमा तस्करीराज चलेका बेला प्रहरीले तस्करसँग मिल्नै पर्दैनथ्यो, भत्ताले नै करोडपति बन्ने अवसर थियो । तर, पोहोरको बजेटमा प्रोत्साहन भत्ताहरु कटौती गरिँदा यो शीर्षक काटिनेमा प¥यो । जसलाई हिजोको बजेट भाषणले पनि छोएन । अर्थात्, अवैध सुन एक ग्रामदेखि हजार क्विन्टल वा जतिसुकै समातिएको किन नहोस्, सुराकीले पाउने पैसा पाँच लाख मात्र हो । पाँच लाख भनेको अहिलेको बजार मूल्यका आधारमा साढे ६ तोला सुन हो । त्यसमा प्रतिवेदकले पाउने रकम कट्टा गरिएको छ । अर्थात्, अवैध रुपमा पैठारी हुँदै गरेको सुन समातेर बुझाउने प्रहरीहरु आजकल सुख्खा छन् । प्रतिवेदक भत्ता नपाइने भएपछि प्रहरीले रिस्क मोलेर यस्ता काम नगर्नु कुनै नौलो कुरा भएन । जस्तो कि, ३३ किलो सुनका कारोबारी चूडामणि उप्रेती (गोरे) को बयानअनुसार एयरपोर्टका एसएसपी श्याम खत्रीले एक किलो सुनको ५० हजारका दरले नगद बुझ्ने गरेका थिए । तर, खत्रीले त्यही सुन बरामद गरेर बुझाएको भए प्रतिवेदक भत्ताबाटै पाँच लाखसम्म कमाउन सक्थे । यो एक किलोको हिसाबमात्रै भयो ।

गोरेकै अनुसार, त्यसबेला एयरपोर्टबाट दैनिक ४० देखि ५० किलोसम्म सुन छिथ्र्यो । ५० केजी सुन एकैचोटि समातेर बुझाउँदा प्रतिवेदक प्रहरीले त्यसबापतको १० प्रतिशत रकमबाट अलिक सस्तो ठाउँमा चार आना जग्गा किन्न सक्छ । सुराकी भत्ता परिमाणका आधारमा नभएर एकमुष्ट पाँच लाख भनिएपछि सुराक दिनेहरु सूचना दिनुको सट्टा बार्गेनिङमा सक्रिय छन् । काठमाडौंको कुनै एक प्रहरी बृत्तका डिएसपीलाई एउटा सुराकीले भाइबर कल गरेर भन्यो, ‘बालाजुको एउटा होटलमा तीन किलो सुन छ । कोठामा साँचो लगाएको छ । सुन ल्याउने मान्छे राति आउँछ ।’

तर, उसले होटलको नाम भनेन । ग¥यो के भने, त्यो भाइबर कलको संवाद ह्याण्डस् फ्री गरेर सुन कारोबारीलाई सुनाइदियो । अनि डिएसपीलाई सोध्यो, ‘सर, मैले यो सुराकी दिएबापत कति पैसा दिनुहुन्छ ?’ डिएसपीले भने, ‘मलाई तिम्रो नागरिकता देऊ, पाँच लाखको ग्यारेण्टी गर्छु ।’ तर, होटलको नाम नभनी सुराकीले फोन राख्यो । भोलिपल्ट डिएसपीले सुराकीलाई भाइबर कलमा सोधे, ‘खै त, तिमीले होटलको नाम भनेनौ नि !’ सुराकीले भन्यो, ‘सर, मलाई कारोबारीले १५ लाख रुपैयाँ दिन्छु भन्यो । त्यो पैसा पाएपछि म बैंकक घुम्न आ’छु !’

यसरी एकातिर सुराकी भाँडिए, अर्कातिर प्रतिवेदक भत्ता नपाएर प्रहरीको मनोबल घटेपछि कहाँबाट समातियोस् सुन ?

टिप्पणीहरू