दाङको ग्याङ्ग फाइटमा एकको मृत्यु,सिकिस्तलाई भारत कुदाइयो

दाङको ग्याङ्ग फाइटमा एकको मृत्यु,सिकिस्तलाई भारत कुदाइयो

दाङको झडपमा एक जनाको ज्यान गएको छ । सो क्रममा एक जना गम्भिर घाइते भएका छन् । गए राति २ बजे साथीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुल्सीपुर नगरपालिका ४ का शंकर डाँगी छन् । साथीहरु मिलेर मादक पदार्थ सेवन गरेको र करिब ६ महिनाअघिको विवादलाई लिएर तीन जना साथीले दुई जनामाथि कुटपिट गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय,दाङका एसपी सुरेश काफ्लेकाअनुसार शुरुमा पाँचै जना मिलेर मापसे गरेका थिए । मापसे गर्नेहरुमा स्थानीय विनय मगर,खिमबहादुर मगर,मृतक शंकर डाँगी र घाइते टोपबहादुर पुन हुन् ।

सँगै रहेका अर्का साथी रेशम थापाले भने मापसे नगरेको बताइएको छ । मृतक डाँगी र घाइते हालै मात्र डाँका मुद्दाअन्तर्गत धरौटीमा छुटेका हुन् । रातिको घटनाबारे प्रहरीले बिहान ४ बजे मात्र खबर पाएको थियो ।

घटनामा संलग्नमध्ये तीन जना फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घाइते भएका पुनलाई कोहलपुरको अस्पताल हुँदै भारतको लखनउ रिफर गरिएको एसपी काफ्लेले बताउनुभएको छ ।

टिप्पणीहरू