सुन काण्ड र लोकमानको साइनो

अन्दाज गरौँ लोकमानले त्यतिबेर सुनकाण्डमा मुछिएको प्रमाणित भइसकेका बर्दीधारीहरुलाई नजोगाएको भए आज यति ठूलो काण्ड घट्थ्यो–घट्दैनथ्यो ? यति धेरै जनधनको क्षति हुन्थ्यो–हुन्थेन ? र, यति ठूलो फौज (नेपाल प्रहरी) ले यस्तो साह्रो बद्नाम हुनुपथ्र्यो पर्थेन अनि तस्करीले यति डरलाग्दोसँग संस्थागत रुप लिन पाउँथ्यो कि पाउँथेन ?

तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले अहिलेकै सुनकाण्डमा संलग्न व्यक्तिहरूलाई संरक्षण गरेको, उक्साएको प्रमाणहरु यथेष्ट भेटिएका छन् । सिसिटिभीका फुटेज, साक्षी प्रमाणहरु र उनको नाम लिँदै तस्करीको काम थालौं भन्नेहरुको नाम–नामेसी लहरो तान्दा पहरो गर्जिने शैलीमा जुटेको हो । कथाको शुरुवात हुन्छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएका एसपी विकासराज खनालबाट । राति फ्लाई दुबईको जहाजबाट उत्रिएका यात्रु कालो ज्याकेटमा छन् । उनलाई कुनामा लगेर भेट्छन्, प्लास्टिकको झोलाबाट झिकेर २० सेकेण्डभित्र आफ्नो ज्याकेटको भित्री गोजीमा सुन हाल्छन्, बाहिर निस्किएर रातो प्लेटको स्यान्त्रो कारमा चढ्छन् र गौशालातिर लाग्छन् । उनलाई यसरी सिसिटिभीबाट निगरानी गर्ने असई हुन्, ध्रुव गिरी । उनले डिआइजी विजयलाल कायस्थलाई यसबारे रिपोर्ट गरेलगत्तै विजयलालले पनि तत्कालीन महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई इतिवृत्तान्त सुनाउँछन् । विजयलाल त्यतिबेला एमपिए (जनप्रशासनमा स्नातकोत्तर) को जाँच दिन बिदामा बसेका भए पनि विषयको गम्भीरतालाई महसुस गर्दै छानबिनको काममा जुट्छन् । उपेन्द्रकान्तले केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र हेडक्वार्टरमै रहेको उजुरी शाखालाई यसबारे सत्य, तथ्य बुझ्ने जिम्मेवारी दिन्छन् । दोषी ठहर भइसकेका एसपी खनाललाई त्यहाँबाट झिकेर पोखरास्थित क्षेत्रीय प्रहरी कार्यालय पठाउँछन् । कारवाही यत्तिमै टुंगिन्छ । लोकमानको संरक्षणप्राप्त उनलाई थप कारबाही गरिन्न ।

यी सबै कामको प्रपञ्च मिलाउनेचाहिँ एसएसपी श्याम खत्री हुन् । उनको संलग्नताबारे किटानी हुँदा न त्यतिबेलाका गृहमन्त्री शक्तिबहादुर बस्नेतले कारवाही गर्न दिए, न त्यसपछिका विमलेन्द्र निधीले नै । उनले त पछिल्लो सरुवामा खत्रीलाई एयरपोर्टमै यथावत राख्न लिखित निर्देशनै दिएका थिए । सिआइबी प्रमुख नवराज सिलवालले पनि फाइल थन्क्याइदिए । बरु भन्सारमा समेत पुगेर किन सामान चेक गर्छाै भनी कर्मचारी थर्काउने श्याम खत्री र उनका मतियार विकास खनालमाथि अनुशासनको कारवाही गराउन पटक–पटक आइजी गुहार्ने डिआइजी कायस्थलाई उल्टै ०७२ साल माघ २१ गते राति हठात् सरुवा गराइयो । सरुवामात्र गराइएन, भोलिपल्ट बिहानै बालुवाटारस्थित शिवपुरी स्कुलसँगैको सिमाना मार्गस्थित उनको घरमा रातो घरको आदेशानुसार डोजर नै लगाइयो । तेह्रपन्ने फर्म भराइयो, २९ वटा ‘ठूला माछा’ को नाममा अकूत सम्पत्ति आर्जनसम्बन्धी अभियोगमा निलम्बनसमेत गरियो ।

अर्को पनि घटना छ, लोकमानसम्बन्धी । विदेश जाँदा उनका पिए, ड्राइभरदेखि बडीगार्डसम्म सबै प्लेनसम्मै पुग्थे । विजयलालले एकदिन चाइनाबाट फर्कंदा ‘हुल बाँधेर तिमीहरु किन जानुप¥यो ? एयरपोर्टका जिएम वीरेन्द्र श्रेष्ठले आपत्ति जनाइसके । हामी आफैं गएर प्रमुख आयुक्तज्यूलाई ल्याइहाल्छौं नि !’ भनेपछि लोकमानलाई गाडीमै इन्स्पेक्टर दानबहादुर थापाले कुरा लगाएछन् । त्यही कारण पनि उनलाई तेह्रपन्ने भराउनेदेखि घरको पर्दासम्म नापेर दुःख दिने काम भयो ।

पोहोर समातिएर अदालतबाट छुटेका श्याम खत्रीले हेडक्वार्टर हाजिर भएपछि पनि उपत्यका केरकारका सई गजेन्द्र रावललाई बेला–बेला बोलाउँथे । चाहिएका मानिसको लोकेशन ट्रेस गर्नेलगायत कल डिटेल संकलन र गोप्य कुरा गर्ने माध्यमको खोजीजस्ता काम अह्राउँथे । भन्सारको एक्सरेमा बस्ने कर्मचारी श्रीनारायण यादवसँग पनि उनको बढी हिमचिम देखिन्थ्यो । श्याम भारतको देहरादून पढेका । अहिले पनि उनको लोकेशन त्यतै देखिन्छ । सेटिङ पनि कस्तो भने, श्याम एयरपोर्टमा सुनको लाइन मिलाउने, अख्तियारमा उनका व्याची एसएसपी योगेश्वर रोमखामी लोकमानका विश्वासिला ।

त्यसअघि क्षेत्रपाटी, जहाँ तस्करीका अर्का नाइके, राप्रपा नेता र मनाङ होटलका साहु  भुजुङ गुरुङको कनेक्सन छ, त्यहाँ लाङसिसा नामक गेष्ट हाउस चलाउने विनोद पन्तले तत्कालिन सचिव माधव रेग्मी, उपत्यकाका एआइजी नवराज ढकाललगायतको खानपिन भेला गराउँथे । त्यस्तो भेला दुईचोटि भयो र लोकमानसिंह कार्कीको पनि उपस्थिति थियो । त्यहाँ बोलाइएका विजयलाल कायस्थलाई विनोदले भने, ‘अब सुनको लाइन खोलौँ…!’ विजयले ठाडै अस्वीकार गर्दा उनले थपे, ‘तपाईं किन डराउनुहुन्छ ? मैले प्रमुख आयुक्तज्यूसँग कुरा मिलाइसकेँ !’ त्यसरी गरेको अफर नमानेपछि र श्याम खत्रीलाई पनि कारवाही गर्नुपर्छ भनेर अड्डी कसिरहेपछि लोकमानको पावर भिड्यो । श्याम खत्रीहरु अकण्टक एयरपोर्टमा टिकिरहे । कर्तव्यपरायणताको लडाइँमा विजयको पराजय भयो । उनी रातारात लखेटिए ।

आफ्नो हाकिम विकास खनाल नै पथभ्रष्ट भएको सिसिटिभीको सिडी डिआइजीलाई बुझायो भनेर श्याम खत्रीले असई ध्रुव गिरीलाई यति धेरै मानसिक यातना दिए कि, ज्यान बचाउनकै लागि उनले जागिर छाडे, देश पनि छाडे । अहिले साउदी अरबमा छन् । त्यसपछि विकास खनालको नेतृत्वमा एयरपोर्टको कुन–कुन ठाउँमा अँध्यारो छ, कहाँ–कहाँ सिसिटिभीको निगरानी पुग्दैन भनेर कार्यदल बनाइयो । उनकै प्रतिवेदनअनुसार यसरी एयरपोर्ट तस्करहरुको वैधानिक कब्जामा गयो । उनै विकासले तस्करीमा संलग्न हुन नमान्ने सई सञ्जय यादव र इन्स्पेक्टर (हालः कमलपोखरीका डिएसपी) सुकदेव खनाललाई पनि बसिखान दिएनन् । न श्याममाथि कारवाही भयो, न विकासमाथि थप छानबिन गरियो ! उल्टै उनीहरुबाट निर्दोषहरु प्रताडित हुने † लोकमानको अघिपछि दौडने भूपू एसएसपी गोवद्र्धन श्रेष्ठले यसअघि विजयलाल कायस्थलाई फोन गरेर भन्न थालेका थिए, ‘तपाईं एक्लैले एयरपोर्ट चलाउँछु भन्ठान्नुभा’छ ? प्रमुख आयुक्तज्यूको दर्शन गर्नुपर्दैन ?’

विचार गर्नुस् त, प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने त्यतिबेलाका लोकमान ! उनले सोचिसक्दा कुनै पनि कर्मचारी सकिने त्राही–त्राही चलेको बेला ! यसपछि निरिहतापूर्वक विजयलाललाई टंगालमा लाइन लगाइयो, लोकमानसँग भेट्न । विजयलाल पुग्दा अघिल्लो लाइनमा उत्तम कार्की, पुष्कर कार्की र केशव अधिकारीहरु थिए । लोकमानले विभिन्न नाकामा रहेका सुरक्षाकर्मीहरुको यसरी हुर्मत लिने, गलत काम गर्नेलाई संरक्षण गर्ने, कारवाही गर्न नदिने, दलालहरु उचालेर सुनको लाइन खोल्न अह्राउने काम गरे । गोवद्र्धनले ‘प्रमुख आयुक्तज्यूको लाइन चलाउनुपर्दैन ?’ भन्ने गरेको बकपत्र कसले गर्ने ? तत्कालीन सहसचिव श्रीधर सापकोटाले प्रमुख आयुक्तज्यूलाई बर्दीधारीको सलाम खाने शौख छ क्या, कुरा बुझ्नोस् न भनेर दिएको सल्लाहको अर्थ कसले बुझ्ने ? यसबारे सुनकाण्डको छानवीन गर्न गठित गृहका सहसचिव ईश्वर पौडेल नेतृत्वको आयोगलाई सबै जानकारी छ । प्रहरीहरुले नै तस्करी गरेको भिडियो फुटेज छ र सम्बन्धित अधिकारीले दिएको बयान पनि छ । के यिनैलाई आधार बनाएर लोकमानलाई तान्ने हिम्मत छ यो सरकारसँग ? लोकमान अख्तियारमा रहुञ्जेल कोही दोषीमाथि कारवाहीको ‘क’ पनि हुन पाएन । जब, उनी बहिगर्मित भए, अनिमात्र श्याम खत्री समातिए । त्यसबेला हेडक्वार्टरको उजुरी छानबिन शाखाबाट एसएसपी दीपक थापा (हाल मध्यक्षेत्रका डिआइजी) र इन्स्पेक्टर पर्शुराम मल्लले पनि यसबारे अनुसन्धान गरेका थिए । यिनै–यिनै कुरा पत्ता लगाएका थिए । तर, छानवीन गरेरमात्र के गर्नु, कारवाही गर्ने आँट कसैमा नभएपछि !

यसरी अख्तियारको आडमा श्याम र विकासको संरक्षण भइरहँदा तस्करी नियन्त्रण गर्न खोज्ने डिआइजी विजयलाल कायस्थ एयरपोर्टबाट धपाइएपछि त्यहाँ पठाइए, अर्का डिआइजी गोविन्दप्रसाद निरौला । उनी अहिले जेलमा छन्, सुनकाण्ड लागेर । अर्थात्, गोविन्द निरौला लोकमानका खास मानिस हुन् । मोरङ, सौंठा (हालको रतुवामाई) का उनले जागिर नै लोकमानका बाबु भूपालमानको बलमा खाएका थिए ।
यही विषय त्यतिबेलै सप्रमाण हेडक्वार्टरमा पुगेको थियो । आइजिपीले कारवाही गर्ने बचन पनि दिएका हुन् । लोकमानको त्रासले यो कुरा सम्भव भएन । तर, अहिले गठित ईश्वर पौडेलको आयोग शायद लोकमानको भूतसँग नतर्सिएला । के त्यो आयोगले लोकमानलाई तान्ने हिम्मत राख्छ ? अनि प्रचण्डे, केपी, शेरे, सुशीललाई जेल हाल्छु र म प्रधानमन्त्री हुन्छु भनी डुक्रँदै समानान्तर सत्ता चलाउने लोकमानलाई यस प्रकरणमा अँठ्याउने हिम्मत यो सरकारसँग छ ? हेर्दै जाऔँ…!

टिप्पणीहरू