सत्ता गठवन्धनको बैठकमा नबोलाएकोमा नारायणकाजी असन्तुष्ट,शीर्ष नेता हावी भएको दावी

सत्ता गठवन्धनको बैठकमा नबोलाएकोमा नारायणकाजी असन्तुष्ट,शीर्ष नेता हावी भएको दावी

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अघिल्लो सरकारले गरेका नियुक्तिहरु एकमुष्ट उल्ट्याउने वर्तमान सरकारको निर्णयप्रति विमति जनाउनु भएको छ । सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय बेठीक भएको भन्दै उहाँले पाँचदलीय गठवन्धनको बैठकमै आफूले कुरा उठाएको समेत खुलासा गर्नुभएको छ ।

समाजिक सञ्जाल फेसबुकमा आज लामो स्टाटस लेख्दै नेता श्रेष्ठले राजदूत नियुक्तिबारे आफ्नो धारणा पनि सार्वजनिक गर्नुभएको छ । अघिल्ला सरकारले नियुक्त गरेका राजदूतलाई एकमुष्ठरुपमा फिर्ता बोलाउने निर्णयले गलत परम्परा स्थापित हुने उहाँको भनाइ छ । उहाँले त्यस्तो अवस्थामा राजदूतहरुले राम्रोसंग काम गर्न नसक्ने अवस्था आउनेतर्फ ध्यान दिनुपर्नेमा पनि जोड दिनुभएको छ ।

गठवन्धन बैठकमा आफूले राखेको असन्तुष्टिबारे उहाँले भन्नुभएको छ, ‘संविधान,कानून र लोकतान्त्रिक मूल्य मान्यता विपरित नियुक्त गरिएका,असक्षम र व्यवहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टि भएका राजदूतहरुलाई मात्र फिर्ता बोलाउनु पर्दछ,सबैलाई एकमुष्टरुपमा होइन । यसो गर्दा हरेक सरकारले अघिल्लो सरकारले गरेका राजदूतहरु फिर्ता बोलाउने परम्परा बन्छ । त्यस स्थितिमा हामीले पठाएको कुनै देशको राजदूतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ ।’

शीर्ष नेताहरु आफ्नो भनाइसँग सहमत भएपनि निर्णय भैसकेकाले थप छलफल नगर्न भनेको पनि नेता श्रेष्ठको दावी छ । ‘शीर्षस्थ नेताहरुले यो कुरा ठीकै भएपनि निर्णय भैसकेकाले अव छलफल नगरौं भन्नुभयो र त्यो कुरा सकियो’, उहाँको भनाइ छ ।

नेता श्रेष्ठले राजदूत नियुक्तिलाई राजनीतिक भागबण्डामा मात्रै सीमित बनाइन नहुनेमा समेत जोड दिनुभएको छ । राजनीतिक भागबण्डाले कुनै पनि पार्टीमा नलागेका देशभक्त,स्वच्छ,योग्य र प्रतिभावान व्यक्तिहरुलाई राष्ट्रसेवाको अवसरबाट बन्चित गर्ने भएकाले राजदूत नियुक्तिका लागि साझा सूची बनाउन उहाँले सुझाव दिनुभएको छ ।

राजदूत नियुक्तिमा मात्र होइन,पाँच दलीय गठवन्धनप्रति पनि श्रेष्ठको असन्तुष्टि आएको छ । सत्ता गठवन्धनलाई उहाँले शीर्ष नेताहरुको गठवन्धनको संज्ञा दिनुभएको छ । सामान्य बेला अमूर्त राम्रा कुरा गर्ने तर लागू गर्दा स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेको भन्दै उहाँले यस्तो परम्परा तोड्न साहस गर्नुपर्नेमा जोड दिनुभएको छ ।

‘प्रतिगमनविरोधी संघर्षको समयमा गठवन्धनको सबै बैठकहरुमा उपस्थित भई छलफल गर्ने अवसर प्राप्त थियो । अनिवार्य जस्तै थियो सहभागिता’, नेता श्रेष्ठ भन्नुहुन्छ, ‘संघर्षको सफलतापछि पार्टीहरुको गठबन्धन शीर्षस्थ नेताहरुको गठबन्धन जस्तो बनेपछि भने एकाध बैठकहरुमा मात्र आमन्त्रणअनुसार भाग लिएको छु ।

टिप्पणीहरू