भाइटीकाको दिन सातको मृत्यु, सातै घाइते,मोटरसाइकलले धेरै मार्यो

भाइटीकाको दिन सातको मृत्यु, सातै घाइते,मोटरसाइकलले धेरै मार्यो

भाइटीकाको दिन हिजो प्रदेश नम्बर १ को उदयपुर,मोरङ र झापा जिल्लामा भएका सवारी दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने ७ घाइते भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट मुख्यचोकमा भएको दुर्घटनामा परेर एक जना बृध्दले ज्यान गुमाएका छन् भने २ जना सामान्य घाइते भएका छन् । स १ ह १६२० नम्बरको अटो र पिपलचोकबाट पूर्वतर्फ जाँदै गरेको को १९ प ९६४६ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा त्रियुगा नगरपालिका ११ का ८५ बर्षीय कुलप्रसाद भण्डारीले ज्यान गुमाएका हुन् । बृध्द भण्डारी मोटरसाइकल पछाडि सवार थिए । उनको न्युरो बिराटनगरमा उपचारको क्रममा गए राती साढे ९ बजे मृत्यु भएको हो । सो दुर्घटनाबाट घाइते हुनेमा मोटरसाइकल चालक सप्तरी कन्चनपुर नगरपालिका १२ का ५२ बर्षीय कमलप्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका ७ का ४२ बर्षीय नरबहादुर कार्की रहेका छन् । दुवैजनाको उदयपुर अस्पतालमा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी हिजो बेलुका ६ बजे मोरङको केराबारी गाँउपालिका ९ बेलचौरीमा स्कोर्पियो र मोटरसाइकल ठक्कर खाँदा तीन जनाले ज्यान गुमाएका छन् । सो दुर्घटनाबाट मृत्यु हुनेमा मोटरसाइकल चालक लेटाङ नगरपालिका २ का ३० बर्षीय कमल कार्की र पछाडि बस्ने पथरी शनिश्चरे नगरपालिकाका ५५ बर्षीय तिलकबहादुर सुवेदीको घट्नास्थलमै मृत्यु भएको हो भने पछाडि सवार अर्का व्यक्ति लेटाङ नगरपालिका २ की ४५ बर्षीया सीता कार्कीको घोपा धरानमा उपचारको क्रममा हिजो राती ८ बजेतिर ज्यान गएको हो ।

दुर्घटनाको समय ४० प १७२७ नम्बरको मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको थियो भने विपरित दिशाबाट आउँदै गरेको बा.१० च.४३०० नम्बरको स्कोर्पियोसँग एकापसमा ठक्कर खाएको थियो । प्रहरीले स्कोर्पियो चालक लेटाङ नगरपालिका २ का ४७ बर्षीय पुष्पबहादुर मगरलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी हिजो बेलुका पौने ६ बजे भएको साइकल दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा मोरङ रंगेली नगरपालिका ६ पटियापाडाका ३० वर्षीय शत्रुघन साह रहेका छन् । सो दुर्घटना रंगेलीको टकुवा-पिपल चौक भित्री सडक खण्डमा भएको थियो । उनी सवार साइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका थिए । घाइते साहलाई उपचारको लागि रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी हिजो साँझ झापामा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउने मेची नगरपालिका १० का १६ वर्षीय मनिष कार्की छन् । उनको उपचारको क्रममा हिजो राती ९ बजेतिर अस्पतालमै मृत्यु भएको हो । दुर्घटनामा उनका पिता ४२ वर्षीय डिल्ली कार्की पनि घाइते भएका छन् जसको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने पल्सर मोटरसाइकल चालक हल्दिवारी २ का २१ वर्षीय पिजेश लामा भने सवारीसहित भागेका छन् । प्रहरीले उनको खोजतलास गरिरहेको छ ।

सो दुर्घटना बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टि इस्टेट अगाडि भएको थियो । दुर्घटनाको बेला मृतक कार्की प्र १-०१-०१४ प ६००७ नम्बरको स्कुटीमा सवार थिए भने पूर्व-पश्चिम राजमार्गमा नम्बर नखुलेको रातो रंगको २२० सिसि पल्सर मोटरसाइकलमा लामा सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यस्तै हिजो राती साढे ११ बजे झापा मेचीनगर नगरपालिका १३ तेलीबारीमा दुई मोटरसाइकल एकापसमा जुध्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ८ का १८ बर्षीय अभिषेक श्रेष्ठ हुन् । उनको उपचारको क्रममा बिएण्डसी अस्पतालमा राती साढे १२ बजेतिर मृत्यु भएको हो । पूर्व-पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको प्रदेश-१-०४-०१४प.३३४५ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको प्रदेश १-०४-००१ प ३९९५ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर लाग्दा श्रेष्ठले ज्यान गुमाउनु परेको हो । सो दुर्घटनामा अन्य ३ जना घाईते भएका छन् । घाइते हुनेहरुमा ३३४५ नम्बरको मोटरसाइकल चालक झापा मेचीनगर नगरपालिका ८ का २१ बर्षीय अनिष गिरी, ३९९५ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ बर्षीय निकेश शिवाकोटी र पछाडि सवार झापा मेचीनगर नगरपालिका ८ का २१ बर्षीय प्रबिण मेचे रहेका छन् । अन्य ३ घाइतेको सोही अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू