सिंहदरबारमा ठाडै सोधिएपछि…

गाई मारेर गधा पोस्नेहरूको बिगबिगी छ । नेपाल टेलिकम डुबाएर एनसेल पोस्ने कामिनी राजभण्डारीजस्तै नेपाली सिनेमा क्षेत्र डुबाउने र हिन्दी चलचित्रको पक्षपोषणमा लाग्ने अर्की महिला मन्त्रीको निशानामा परेकी छन् । कामिनीलाई झैं तिनलाई स्पष्टीकरणचाहिँ सोधिएको छैन तर मन्त्रीले हकारेर पठाएका छन् । यसरी गाली भेट्ने अरू कोही नभएर विकास बोर्डका अध्यक्ष निकिता पौडेल हुन् ।

एक जना निर्माताले जनआस्थालाई सुनाएअनुसार एक टोली सञ्चार राज्यमन्त्री गोकुल बास्कोटालाई भेट्न पुगेको थियो । ज्ञापनपत्र बुझेसँगै बास्कोटाले आफू सदैव चलचित्र निर्माताहरूकै पक्षमा रहेको तर विकास बोर्डको अध्यक्ष नै निर्माता तथा नेपाली चलचित्रको हितमा नरहेको सुनाए । केही दिनअघि मात्र सञ्चारराज्यमन्त्री गोकुल बास्कोटालाई भेट्न पुगेकी रहिछन् निकिता । मन्त्रीले चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि आफूसँग भएका योजना ल्याउन निर्देशन दिए । उनले योजना ल्याइन् पनि ।

नेपाली चलचित्रको उत्थान र प्रवद्र्धनका लागि हलमा कम्तीमा तीन महिना (९० दिन) नेपाली चलचित्र चलाउने प्रस्ताव पढेपछि खरा स्वभावका बास्कोटाले प्रस्तावना पत्रबाट कि नेपाली चलचित्रको श्रीवृद्धि हटाउनु कि ९० दिन हटाउनू भन्ने निर्देशन दिँदै हकारेको बताइन्छ । मन्त्री भेटेर निस्किएका निर्माताहरूले बोर्डका अध्यक्षलाई सिंहदरबारबाटै तथानाम गाली गरेको एक जनाले सुनाए । मन्त्री भेट्न निर्माता संघका अध्यक्ष आकाश अधिकारी, केशव भट्टराई, भुवन केसी, सुशील पोखरेल, रोज रानालगायत पुगेका थिए । मन्त्रीले हकारेको कुरा बाहिर आएपछि उनले सामाजिक सञ्जालमार्फत आकाश अधिकारी र केशव भट्टराईप्रति घुमाउरो ढंगबाट रोष प्रकट गरेकी थिइन् ।

टिप्पणीहरू